इटहरी । कोशी प्रदेशमा अपराधका घटना विगत वर्षभन्दा बढेको प्रहरी विवरणले देखाएको छ ।
चालु आर्थिक वर्षको १० महिनाको अवधिमा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा ९ हजारभन्दा बढी अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता भीमबहादुर दाहालका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष अपराधको ग्राफ बढेको हो । आर्थिक वर्ष २०८०÷०८१ मा आठ हजार ६ सय ४५ मुद्दा दर्ता भएका थिए । यो वर्षको सोही अवधिमा नौ हजार ४ सय ६१ पुगेको उनले जानकारी दिए । प्राप्त विवरणअनुसार अघिल्लो वर्षको तुलनामा ८ सय १६ ले बढेको हो ।
विगत वर्षमा सबैभन्दा बढी लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका थिए भने यो वर्ष कोशी प्रदेशमा आत्महत्याका घटना धेरै भएको विवरणमा उल्लेख छ । कोशी प्रदेशको ९ वटा जिल्ला सुनसरी, मोरङ, झापा, इलाम, उदयपुर, सङ्खुवासभा, धनकुटा, भोजपुर र तेह्रथुममा सबैभन्दा बढी आत्महत्याका घटना भए । प्रहरी विवरणअनुसार एक हजार दुई सय ३ वटा आत्महत्यासम्बन्धी मुद्दा दर्ता भए । दोस्रोमा लागूऔषधसम्बन्धी मुद्दा रहेका छन् । जसमा एक हजार एक सय ५ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
यस्तै जबरजस्ती करणीका घटना पनि बढेको विवरण सार्वजनिक भएको छ । अघिल्लो वर्ष तीन सय ४१ वटा जबरजस्ती करणीको मुद्दा दर्ता भएकोमा यो वर्षको १० महिनामा तीन सय ९० वटा मुद्दा दर्ता भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता दाहालले जानकारी दिए । जसमा २२ जना महिला तथा किशोरीहरू आफन्तबाटै जबरजस्तीको करणीको शिकार बनेका छन् ।
सुनसरी, मोरङ, झापा र सङ्खुवासभामा आफन्तबाटै महिला तथा किशोरीमाथि जबरजस्ती करणीको घटना भएको उनले जानकारी दिए । यहाँ जबरजस्ती करणीका तीनसय ९० वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै कोशी प्रदेशमा चालु वर्षको १० महिनामा बैङ्किङ कसूर एक हजार ८९, सार्वजनिक हित र नैतिकताविरुद्ध एक हजार ८, भवितव्य ज्यानसम्बन्धी सात सय ७२, त्यस्तै चोरीका चार सय ३०, सवारी ज्यानका दुई सय ९९, ठगी र आपराधिक विश्वासघातका एक सय ९८, ज्यान मार्ने उद्योगका एक सय ३०, बहुविवाह एक सय ८ र कर्तव्य ज्यानका ९० मुद्दा दर्ता भएका छन् ।
देशको पछिल्लो अवस्था, बेरोजगारीका कारण अपराधका घटनामा वृद्धि भइरहेको प्रवक्ता दाहालले जानकारी दिए । अपराध न्यूनीकरणका निमित्त प्रहरीले विभिन्न अभियान नै चलाए पनि स्थानीयस्तरबाटै सक्रियता बढाउनुपर्ने प्रवक्ता दाहालको भनाइ छ । यो वर्ष प्रहरी लागूऔषध कारोबार निर्मूल पार्ने अभियानमा लागिपरेको प्रवक्ता दाहालले बताए । त्यस्तै आत्महत्या न्यूनीकरणसम्बन्धी सामाजिक सचेतना कार्यक्रमहरू अघि बढाइनुका साथै विद्यालयस्तरबाटै सडक नाटक, सचेतना कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको प्रवक्ता दाहालले बताए ।