शीतल निवासबाट बाहिरिएपछि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको समयै समय छ । उनी देशका विभिन्न स्थानमा घुमिरहेकी छन् । पारिवारिक भ्रमणभन्दा पनि उनी नेकपा (एमाले) का नेता कार्यकर्तासँग भेटघाट गरिरहेकी छन् । उनले फेरि पनि राजनीतिमा फर्किने सङ्केत गरेकी छन् । त्यसकारण पनि उनको भेटघाटलाई विशेष रुपमा हेरिँदै छ । उनी यही साता चीनसमेत गएकी थिइन् । मित्रराष्ट्र चीनको भ्रमणमा उनलाई उच्च सम्मानका साथ कार्यक्रममा बसाइयो । त्यति मात्रै हैन, उनले त्यहाँ शीर्षस्थ नेता तथा मन्त्रीहरुसँग पनि भेट गरिन् । चीन के चाहन्छ भन्ने विषयमा नेपालीहरु लगभग जानकार छन् । चीनले नेपालमा स्थायित्व होस् भन्ने चाहन्छ । त्यति मात्रै हैन, उसको स्वार्थ भनेको सबै कम्युनिष्ट पार्टीहरु एक होउन् भन्ने चाहन्छ । त्यसका लागि साझा व्यक्तिको खोजी भइरहेको बेलामा पूर्व राष्ट्रपतिले राजनीतिमा आउने सङ्केतले पनि निकै नै काम गरेको देखिन्छ । नेपालको सबैभन्दा उच्च पदस्थ पदमा बसिसकेको त्यसमा पनि दुई दुई पटक शीर्षस्थ पदमा बसेका हिसाबमा राजनीतिमा आउनु हुँदैन भन्ने तर्कहरु पनि देखिएका छन् । कतिपयले पदको गरिमा र ओजलाई कायम गर्नका लागि भनेका छन् । तर, उनको आकाङ्क्षा भने फेरि पनि राजनीतिबाट एउटा शीर्षस्थ पदमा पुग्ने अभिलाषा राखेको देखिन्छ ।
उनी राजनीतिमा आउनुहुन्छ या हुँदैन भन्ने विषयमा व्यक्तिगत विषय हो । तर, सार्वजनिक पद धारण गरेको र देशकै सर्वोच्च पदमा बसेका हिसाबमा आम नागरिकले एउटा अपेक्षा राख्नु चाहिँ स्वभाविकै हो । राष्ट्रपति जस्तो गरिमामय पदमा बसिसकेका हिसाबमा उनी नेपाली राजनीतिमा फर्किनु हुँदैन भन्ने तर्क पनि एक ठाउँमा सही छ । तर, आउनै हुँदैन भन्ने तर्क चाहिँ अतिवादी तर्क हो । यो तर्कको तुक पनि छैन र दम पनि छैन । यो व्यक्तिगत विषय हो । उनलाई राष्ट्रपतिभन्दा राजनीतिबाट फेरि देशको सेवा गर्ने अभिलाषा जागेको हुन सक्छ । त्यो विषयलाई सह्राना गर्नै पर्छ । तर, उनलाई उनकै पार्टी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउनबाट रोकावट लगाइरहेको प्रतीत हुन्छ । ओलीका विभिन्न भाषण तथा भनाइले यसलाई पुष्टि गरिरहेको छ । अध्यक्ष ओलीले ७० वर्षे उमेर हदम्याद, दुई कार्यकाल जस्ता विषयमा व्यापक बहस चलाइरहेका छन् । इच्छाशक्तिको विषयलाई बढी ध्यान दिइरहेका छन् । यदि काम गर्न सक्ने इच्छाशक्ति छ भने उमेरको कुरै भएन भन्ने विषय उठाइरहेका छन् । यो विषयमा चिच्याई चिच्याई बोल्नु भनेको कसैलाई आउनबाट रोक्न खोज्नु नै हो । उमेरका हिसाबमा, राष्ट्र तथा अन्तर्राष्ट्रिय तहमा भएको ओज तथा गरिमा र पहिचानका कारण पनि विद्यादेवी भण्डारीलाई केही फाइदा देखिन्छ । अर्कोतिर जनताको बहुलदीय जनवादको प्रणेता स्व. मदन भण्डारीको श्रीमती भएका हिसाबमा उनको लिगेसीले पनि काम गर्ने देखिन्छ । त्यस्तै शीतल निवासमा हुँदा नेपाली सेनासँगको हिमचिमले पनि केही हदसम्म काम गरेको देखिन्छ । यसकारण पनि उनी यो बेला फेरि नेता कार्यकर्ता भेटेर आसन्न ११ औँ महाधिवेशनको अध्यक्षको दाबेदार हो भन्ने कुरालाई पुष्टि गरिरहेकी छन् ।
नेपाली राजनीति त्यसमा पनि नेकपा (एमाले) भित्रको ओली गुट शक्तिमा आएका बेला अर्को गुटको प्रवेश हुने सम्भावना बढ्दै गएको छ । ओलीले एमालेभित्रको अन्य गुटलाई पूर्ण रुपमा परास्त गरिसकेको अवस्थामा अब नयाँ गुटसँग सामाना गर्नुपर्ने अवस्था आउँदै छ । विद्यादेवी भण्डारीलाई अन्य वामपन्थीहरुले पनि सहयोग गर्ने अवस्था छ । नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र)लगायतका कम्युनिष्ट शक्तिहरुले पनि साझा मान्छे खोजिरहेको अवस्था छ । राजनीति तरल भइरहेको अवस्थामा त्यसको फाइदा लिन खोजिरहेको अवस्था छ । अर्कोतिर वामपन्थी दलहरुप्रतिको जनताको विश्वास उडेर गएको छ । यसलाई जोगाउनका लागि पनि विद्यादेवी भण्डारी एउटा कार्डको रुपमा प्रयोग हुन सक्ने अवस्था प्रवल छ । एमालेभित्रै पनि ओलीप्रति वितृष्णा व्यापक बढ्दै गएको छ । उनको कार्यशैली र हुकुमी शैलीका कारण पनि रूष्ट हुनेको सङ्ख्या बढ्दै गएको छ । यसको पछिल्लो उदाहरणहरु मोरङमा भएको निर्वाचन, युवा सङ्घमा भएको निर्वाचनलाई हेरे पुग्छ । त्यो विद्रोहको झिल्को हो । यसले पनि ओलीलाई अबको ११ औँ महाधिवेशन त्यति सजिलो देखिँदैन । यसमा विद्याले पुनरागमन गर्ने अवस्था सिर्जना भयो भने नेपाली राजनीतिमा फेरि अर्को तरङ्ग पैदा हुनेछ ।