भद्रपुर । झापाको मेचीनगरमा बङ्गुरमा अफ्रिकन स्वाइन फिवर र गाईगोरुमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको छ ।

सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह–सचिव डा. पशुपति ढुङ्गाना, पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा.मुकुल उपाध्याय, केन्द्रीय पशुपन्छी रोग अन्वेषक प्रयोगशालाका पशु चिकित्सक डा. विकेशकुमार राउतलगायतको टोलीले मेचीनगरस्थित प्रभावित क्षेत्रको अवलोकन गरेको छ ।

उनीहरूले शङ्कास्पद लम्पी स्किन रोग देखिएको मेचीनगर–७ र १४ का किसानको घरमा पुगेर गाई, गोरुको अवस्था र उपायका बारेमा जानकारी लिएका थिए ।

त्यस्तै टोलीले मेचीनगर–६ स्थित अफ्रिकन स्वाइन फिवरको सङ्क्रमण देखिएको बबिता बङ्गुर फार्ममा पनि पुगेर निरीक्षणसहित सञ्चालकसँग छलफल गरेका थिए । अफ्रिकन स्वाइन फिवरका कारण फार्मका ८० वटा बङ्गुर मरेका थिए ।

नगरपालिका पशु सेवा शाखाका प्रमुख विक्रम गुरुङका अनुसार मेचीनगर–२, ३, ४, ७, ८, ९, १४ र १५ नम्बर वडाका किसानका १४ वटा गाई र बाच्छीमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ ।

उनका अनुसार उक्त रोगको आधिकारिक पुष्टि भने भइसकेको छैन । परीक्षणका लागि केन्द्रमा पठाइएको छ । करिब ४–५ दिनमा त्यसको रिपोर्ट आउनेछ ।

गाई र बाच्छीको शरीरमा अहिले सामान्य घाउजस्तो देखिएको गुरुङले बताए । किसानलाई घाउमा लगाउने मलहम, पेनकिलर, ज्वरोको औषधि, सरसफाइका लागि फिनेल, पोटासियम परनेटलगायतका औषधि दिइएको उनको भनाइ छ ।

सङ्क्रमित क्षेत्रको पाँचसय मिटर आसपासका किसानका गाई–गोरुहरूमा नगरपालिकाको पशु प्राविधिकको टोली गएर ‘रिङ भ्याक्सिन’ लगाएको छ । अहिलेसम्म १ सय ८० वटा गाई–गोरुमा ‘रिङ भ्याक्सिन’ लगाइएको पशु प्राविधिक छत्र राईले बताए । मन्त्रालयको उच्चस्तरीय टोलीले लम्पी स्किन लक्षण देखिएका गाई–गोरुको उपचार र समुदायसमेतका गाई–गोरुमा मास भ्याक्सिन लगायत सुझाव दिएका छन् ।

हाल मेचीनगरमा २५ सय भ्याक्सिन भण्डारण गरिएको छ । अपुग भए थप भ्याक्सिन उपलब्ध गराउने टोलीले बताएको छ । टोलीलाई नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले उक्त रोग समुदायमा फैलिन नदिन मन्त्रालयले सहयोग गर्नु पर्ने बताएका छन् । नगरप्रमुख बुढाथोकीको अध्यक्षतामा उच्चस्तरीय टोलीको बैठकसमेत बसेको थियो ।

उच्चस्तरीय टोलीमा कोशीको क्षेत्रीय पशुपन्छी रोग अन्वेषक प्रयोगशालाका प्रमुख डा. कमल गिरी, प्राविधिक योगराज अधिकारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरकी प्रमुख शीतल भट्टराई र नगरपालिका पशु सेवा शाखाका प्रविधिकहरू रहेका थिए ।

मेचीनगरमा लम्पी स्किन रोग र अफ्रिकन स्वाइन फिवरको सङ्क्रमण भएको नगरपालिकाले जानकारी गराएपछि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकले स्थलगत निरीक्षण गर्न उच्चस्तरीय टोली खटाएको थियो ।