विराटनगर । राजस्व छली गरेको आरोपमा पक्राउ परेका न्युट्रास्युटीकल एसोसिएसन मोरङका अध्यक्ष बिपिन झा धरौटीमा रिहा भएका छन् । राजस्व अनुसन्धान कार्यालय इटहरीले झालाई १ करोड ५० लाख रुपैयाँ धरौटी लिएर मङ्गलबार रिहा गरेको हो । 

बिरामीलाई आर्थिक भार पर्ने ‘न्युट्रास्युटीकल’ (खाद्यपूरक सामग्री) र भिटामिनहरू राजस्व छली गरी भारतबाट तस्करी गरी ल्याएको आरोपमा उनी पक्राउ परेका थिए । राजस्व अनुसन्धान कार्यालयले गोप्यरूपमा दुई साता बढी अनुसन्धान गरेपछि उनलाई धरौटीमा छोडेको छ । धरौटीमा छोडेको विषय पनि राजस्व अनुसन्धान कार्यालय इटहरीले बताउन चाहेको छैन । 

राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीका प्रमुख उत्तमकुमार घिमिरेले राजस्व छली गरेको विषयमा अनुसन्धान गरेपछि मङ्गलबार धरौटीमा छोडेको मात्र बताए । ‘अहिले पनि अनुसन्धान भइरहेको छ । हामी यस घटनाको विषयमा प्रतिवेदन सार्वजनिक गर्ने तयारी गर्दै छौं’ उनले भने, ‘विभागले अनुमति दिएपछि घटनाको प्रतिवेदन सार्वजनिक गर्नेछौं । त्यसपछि थप डिटेलमा जानकारी आउनेछ । अहिले यति मात्रै भन्न मिल्छ ।’

पक्राउ परेका झामाथि बिरामीलाई आर्थिक भार पर्ने ‘न्युट्रास्युटीकल’ (खाद्यपूरक सामग्री) मा नयाँ उत्पादन मिति राखेर बजार पठाउने गरेको आरोप लागेको थियो । 

घटनाको सुरुवात २०८१ साल पुस २८ गतेदेखि भएको हो । विराटनगर–६ स्थित बीएफएम पूर्व भूमिमार्गमा रहेको झाको तीन तलाको घरमा प्रदेश प्रहरी कार्यालय विराटनगर, मोरङ प्रहरी र राजस्व अनुसन्धान कार्यालयले संयुक्त छापा मारेको थियो । झाले आफ्नो घरको भूईं र दोस्रो तला गरी तीनवटा कोठालाई गोदाम बनाएर ठूलो परिमाणमा तस्करी भएर आएका खाद्यपूरक सामग्रीहरू भण्डारण गरेका थिए ।

छापाका क्रममा उक्त गोदामबाट १४ भन्दा बढी प्रकारका न्युट्रास्युटीकल र विभिन्न कम्पनीका मल्टी भिटामिनहरू बरामद गरिएको थियो । चकित पार्ने कुरा के थियो भने, बरामद भएका सबै खाद्यपूरक सामग्रीहरूको म्याद सकिसकेको थियो । तर, यी म्याद सकिएका उत्पादनहरूमा नयाँ उत्पादन मिति राखेर बजारमा बिक्री गरिँदै आएको खुलेको थियो ।

यति ठूलो घोटाला पत्ता लागे पनि अनुसन्धानको जिम्मा पाएको राजस्व कार्यालयले मुख्य अभियुक्त झालाई छोडेर उनका कार चालकलाई मात्र पक्राउ गरेको थियो । यसको फाइदा उठाउँदै झा बिरामी परेको बहाना गरेर भारत फरार भए । उनी त्यहाँ तीन–चार महिनासम्म लुकेर बसे ।

घटना सामसुम भएको ठहर गरेपछि झा विराटनगर फर्किए ।  राजस्व अनुसन्धान कार्यालयले निरन्तर अनुसन्धान गर्दै जाँदा झाले राजस्व छली गरेर खाद्यपूरक सामग्री र मल्टी भिटामिनहरू ल्याएको पत्ता लागेपछि उनलाई यही जेठ ८ गते पक्राउ गरी उच्च अदालत विराटनगरबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको थियो । 

अनुसन्धानबाट यो तथ्य पत्ता लागेको छ कि झाले एक दशकदेखि न्युट्रास्युटीकल आयात गर्ने सप्लायर्सको व्यवसाय चलाउँदै आएका थिए । उनले साक्षी मेडिलिङ्कमार्फत् भारतबाट न्युट्रास्युटीकल सस्तोमा ल्याएर यहाँ आफैले खरिद गरेको भन्दा दशगुणा बढी मूल्य तोकेर बजारमा पठाउने गरेको पाइएको छ ।

वैधरूपमा आएको देखाउन थोरै परिमाणमा भन्सार तिरेर ल्याउने र धेरै न्युट्रास्युटीकल भरिया प्रयोग गरेर तस्करी गरेर ल्याउने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन् । एक अनुसन्धान अधिकृतका अनुसार २८ पुसमा झाको घरबाट ठूलो परिमाणमा म्याद सकिएको न्युट्रास्युटीकल बरामद गर्नुको पछाडि एक भरिया पक्राउ गरेपछि पत्ता लागेको बताए । 

झाको आपराधिक गतिविधि यतिमा सीमित थिएन । उनले म्याद सकिएको न्युट्रास्युटीकलको उत्पादन मिति र म्याद सकिएको मिति मेटाउन केमिकल प्रयोग गर्ने गरेको प्रहरीले पत्ता लगाएको छ । केमिकल प्रयोग गरेर पुराना मितिहरू मेटाएपछि नयाँ उत्पादन मिति र मूल्य तोक्ने स्टिकर टाँसेर बजारमा पठाउने गरेको पाइएको छ ।

‘झाको गोदामबाट मूल्य तोक्ने स्टिकर पनि बरामद भएको छ । यसले उनको यो आपराधिक गतिविधि व्यवस्थित र योजनाबद्धरूपमा भएको देखाउँछ’  –अनुसन्धान अधिकृतले भने । 

यस घोटालामा केही चिकित्सकहरूको पनि संलग्नता रहेको पाइएको छ । स्वास्थ्य क्षेत्रका जानकारका अनुसार झाले भारतमा ५० रुपैयाँमा खरिद गर्ने न्युट्रास्युटीकल यहाँ ल्याएर आफैले मूल्य तोकेर पाँच सयसम्ममा बिक्री गर्दछन् । बिक्री गरेको पनि भ्याट बिल प्रयोग नगरेर प्यान बिल दिने गरेका थिए । 

एक फार्मेसी सञ्चालकका अनुसार ‘चिकित्सकलाई धेरै प्रकारका मल्टी भिटामिन लेख्न लगाउने र एउटै पर्चीमा पाँच हजारसम्मका न्युट्रास्युटीकल लेख्ने गरेको पाइएको छ ।’ चिकित्सकले लेखिदिएपछि बिरामीले खरिद गर्छन् । सस्तोमा खरिद गरेको न्युट्रास्युटीकल यहाँ ल्याएपछि महँगोमा बिक्री गरेको पैसाबाट न्युट्रास्युटीकल सप्लायर्सले चिकित्सकलाई पनि हिस्सा दिने गरेका छन् ।

यस घोटालाले बिरामीलाई दोहोरो नोक्सानी पु¥याएको छ । एकातिर सरकारी राजस्वमा चोरी भएको छ भने अर्कोतिर बिरामीहरूको स्वास्थ्यमा खतरा निम्त्याएको छ । म्याद सकिएका खाद्यपूरक सामग्रीले स्वास्थ्यमा असर पु¥याउने चिकित्सकले नै बताएका छन् । झाले विराटनगरसहित पूर्वका विभिन्न सहरहरूमा न्युट्रास्युटीकल सप्लाइ गर्दै आएका थिए । एक पत्ता न्युट्रास्युटीकलमा दश गुणासम्म मुनाफा राखेर बिक्री गर्ने गरेको पाइएको छ । यसरी चाँडै पैसा कमाउने धन्दामा लागेका झाले बरामद गर्न आएको टोलीलाई त्यहाँ भएका न्युट्रास्युटिकल नष्ट गर्ने तयारी गरिएको बताएका थिए ।