विराटनगर । ठगी र आपराधिक लाभ लिएको मुद्दामा दुई वर्ष कारागार बसेर सफाइ पाएका विराटनगरका मन्टु भनिने सञ्जयप्रसाद रौनियारले निवेदकमाथि दबाव दिएको पाइएको छ । 

कारागारबाट छुटेर आएलगत्तै ठगी र आपराधिक मुद्दामा निवेदन दिने १७ मध्ये १२ जना सर्वसाधारणलाई पुरानै शैलीमा धम्की दिने, पैसा माग्ने र कानूनी कारबाही गर्ने डर देखाउँदै आएको पीडितहरूले बताएका छन् । मन्टुबाट पीडित १२ जना सर्वसाधारणले बिहीबार पत्रकार सम्मेलन गरेर पुरानो पैसा मागेर दुःख दिएको बताए । भनेजति पैसा नदिए प्रहरी प्रशासन लगाएर पक्राउ गरी थुनामा राख्ने धम्की दिँदै आएको उनीहरूको भनाइ छ । मन्टुले हुलाकमार्फत् पत्र पठाई पैसा नदिए प्रहरी प्रशासन लगाएर कानूनी कारबाही गर्ने धम्कीसहितको पत्र पठाएको मोरङ सुनवर्षी नगरपालिका–४ का अमितकुमार यादवले बताए । उनका अनुसार बुबा महावीरले मन्टुसँग ६ वर्षअगाडि एक बिघा एक कठ्ठा १५ धुर जग्गा राजीनामा पास गरेर दुई लाख रुपैयाँ ऋण लिएका थिए । दुई लाखको साँवाब्याज गरेर २० लाख रुपैयाँ तिरेको उनको भनाइ छ । तर, अझै २० लाख रुपैयाँ दिए मात्रै जग्गा फिर्ता हुने भन्दै दबाव दिएको उनले बताए । मन्टुबाट पीडित १७ जनाले मोरङ प्रहरीमा ठगी र आपराधिक लाभ मुद्दामा उजुरी दिएका आधारमा २०७७ मङ्सिर २९ गते उनलाई पक्राउ गरेको थियो ।

मोरङ प्रहरीले अनुसन्धान पूरा गरेपछि  २०७७ माघ १३ गते मन्टुविरुद्ध मुद्दा दायर भयो ।  मोरङ प्रहरीको अनुसन्धानबाट मन्टुले १७ जना सर्वसाधारणलाई ९२ लाख ८८ हजार रुपैयाँ कर्जा दिएर दुई करोड ७० लाख ३१ हजार रुपैयाँ असुली गरेको प्रहरी प्रतिवेदनमा देखिएको थियो । १७ जना पीडितसँग अझै एक करोड ३८ लाख ९८ हजार चार सय रुपैयाँ माग गरेको अभियोग पत्रमा उल्लेख छ । त्यसपछि अदालतमा दायर भएको अभियोग पत्रअनुसार मन्टुले १७ जना सर्वसाधारणलाई विभिन्न मितिमा ‘ठगी’ र आपराधिक लाभ लिएको पुष्टि भएपछि एक करोड ९२ लाख ८५ हजार दुई सय ३६ रुपैयाँ बिगो, दुवै मुद्दामा ७ वर्ष कैदको मागदाबी लिएर मुद्दा दायर भएको थियो । २०७७ माघ २० गते मोरङ अदालतका तत्कालीन न्यायाधीश ईश्वर पराजुलीको इजलासले मन्टुलाई  पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका थिए । पुर्पक्षका लागि थुनामा रहेका बेला बकपत्रमा मन्टुले १७ जना पीडितको जग्गा फिर्ता गरिदिने कबुल गरे । निवेदक र मन्टुबीच जग्गा फिर्ता गरिदिने आन्तरिक छलफलपश्चात् सहमति पत्रमा हस्ताक्षरको अख्तियारी श्रीमती ज्योति रौनियार दिएका थिए । 

वडा कार्यालयमा निवेदन दिने १७ जना र मन्टुको तर्फबाट श्रीमती ज्योतिले जग्गा बिक्री गर्ने सहमति २०७७ चैत ८ गते भयो । मन्टुको नाममा रहेको जग्गा १७ जना निवेदकले पैसा दिएपछि फिर्ता गरिदिने भए । मन्टु त्यसबेला पुर्पक्षको लागि थुनामा रहेकोले उनको श्रीमती रौनियारलाई मालपोत कार्यालय विराटनगरमा पैसा दिएपछि जग्गा आफ्नो नाममा आएको पत्रकार सम्मेलनमा अमितकुमार यादवले बताए । ‘यसरी जग्गा फिर्ता ल्याएपछि अहिले मन्टुले हुलाकमार्फत् २५ लाख ५० हजार रुपैयाँ माग्ने गरेका छन् । नदिए कानूनअनुसार कारबाही गर्ने भन्दै धम्कीपूर्ण पत्र पठाएको छ’ जेठ १४ गते मन्टुले पठाएको पत्र देखाउँदै पत्रकार सम्मेलनमा उनले भने, ‘जेलबाट छुटेपछि फेरि मन्टुको पुरानो मिटरब्याज र असुली धन्दा चलाउन थालेको रहेछ । त्यसबेला मन्टुविरुद्ध उजुरी दिने १७ जनामध्ये ११ जनालाई पत्रचार गरेर पैसा माग्दै रहेछन् । यो गैरकानूनी धन्दाविरुद्ध हामी फेरि पीडितहरू सङ्गठित भएर न्यायको खोजीमा जानेछौँ ।’

२०७९ जेठ ९ गते मोरङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश कपिलमणि गौतमको इजलासले मन्टुलाई ठगी र आपराधिक लाभ मुद्दाबाट सफाइ दिएको थियो । जेलबाट मन्टु छुटेर आएपछि अहिले प्रहरी प्रशासन आफ्नो पक्षमा रहेको भन्दै धम्की दिने गरेको विराटनगर–८ का गणेश रायले गुनासो गरे । मन्टुले हुलाकमार्फत् पत्राचार गरेर २५ लाख रुपैयाँ दिनुपर्ने भन्दै पत्र पठाएको उनले बताए । गणेशका अनुसार उनका ज्वाइँ महानन्द रायले मन्टुसँग एक कठ्ठा जग्गा र टिनको घरसहित राजीनामा पास गरेर २ लाख ५० हजार रुपैयाँ लिएका थिए । विभिन्न मितिमा मन्टुलाई ज्वाइँले पाँच लाख रुपैयाँ दिएको उनी बताउँछन् । पछि मन्टु जेल गएपछि उनको श्रीमतीलाई २५ लाख रुपैयाँ दिएपछि एक कठ्ठा जग्गा र घर आफ्नो नाममा ल्याएको गणेश रायले बताए । ‘मन्टु जेलबाट छुटेर आएपछि ज्वाइँ महानन्दलाई घरभाडाबापत नौ लाख रुपैयाँ नबुझाएको भन्दै मुद्दा हाले । मोरङ अदालतले ९ लाख रुपैयाँ तिर्नुपर्ने फैसला पनि ग¥यो । तर, अदालतले भनेजति पैसा तिर्न नसकेपछि ज्वाइँ महानन्द राय २०८१ असोज १३ गते जेल गए । उनलाई बिगो बराबरको दुई वर्ष कैद सजाय भयो । जेल बसेको एक महिनापछि ज्वाइँको मृत्यु भयो’ पत्रकार सम्मेलनमा गणेशले भने, ‘मन्टुले अदालतमा मुद्दा दिएपछि ज्वाइँ तनावमा रहनुभएको थियो । मन्टुले दिएको तनावले ज्वाइँको मृत्यु भयो ।’

धनपालथान गाउँपालिका–१ नोचाका गुल्जार मियाँले आफ्नो बाबु इनुस मियाँको नाममा मन्टुले पठाएको पत्र आफूले नलिएको बताए । ‘उनले भनेजति पैसा दिएपछि जग्गा बुबा इनुस मियाँको नाममा आएको छ । अहिले फेरि मन्टुले दुःख दिने नियतले पत्रचार गरेकोले आफूहरूले नबुझेको हो ।’ मन्टुले गरेको पत्राचारमा एकै प्रकारको भाषाशैली प्रयोग गरिएको छ । मन्टुले पत्राचार गरेको मोरङको धनपालथान, जहदा, रङ्गेली, सुनवर्षी विराटनगरका विभिन्न गाउँका बासिन्दा रहेका छन् । उनीहरूले मन्टुसँग वैदेशिक रोजगारीको, घरायसी समस्या वा छोराछोरीलाई पढाउन पैसा आवश्यक पर्दा ऋण लिने गर्थे  । तर मन्टुले गलत तरिकाले आफूहरूलाई ठगी गर्न थालेको उनीहरू बताउँछन् । मन्टुले मिटरब्याजमा ऋण दिएपछि गाउँगाउँमा एजेन्ट परिचालन गर्ने गरेको पीडितहरूले बताएका छन् । पीडितका अनुसार मिटरब्याजमा लगानी गरेको पैसा उठाउन एजेन्ट खटाउने गरेका थिए ।

जग्गाको पैसा मागेको होः मन्टु 

 मन्टु भनिने सञ्जयप्रसाद रौनियारले आफूमाथि लागेको सबै आरोप अस्वीकार गरेका छन् ।

उनले भने, ‘म जेलमा हुँदा जग्गा बिक्री भएको थियो, तर त्यसको पैसा मैले अहिलेसम्म पाएको छैन । मैले चिठी पठाएर धम्की दिएको होइन, आफ्नो पैसा मागेको मात्रै हो ।’ उनको दाबीअनुसार सम्बन्धित व्यक्तिहरूले जग्गा बिक्री गर्दा खातामा पैसा राख्ने भनेका थिए, तर अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन ।

‘यदि पैसा दिइएन भने कानूनी प्रक्रिया अगाडि बढाउँछु’ उनले भने, ‘मैले चिठी पठाएर धम्की दिने गरेको छैन । म कारागारमा रहँदा मैले जग्गा बिक्री गरेको थिएँ । त्यसबेला मेरो खातामा पैसा हालिदिन्छु भनेको थियो । अहिलेसम्म मैले बिक्री गरेको जग्गाको पैसा पाएको छैन । त्यही पैसा माग्न मैले उहाँहरूलाई पत्राचार गरेको हो । धम्की दिएको छैन ।’ आफूले अहिले कसैलाई पनि मिटरब्याजमा पैसा नलगाएको दाबी उनको छ ।