धरान । महिला सशक्तीकरण र स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले धरान उपमहानगरपालिका–५ मा जडी, दुवाको माला बनाउने तथा नरिवल र सुपारी सजाउने ६ दिने तालिम सम्पन्न भएको छ ।
महिला एकता मञ्च नेपाल र धरान उपमहानगरपालिका वडा नं. ५ को सहकार्यमा तालिम आयोजना गरिएको हो । तालिममा कुल २५ जना महिलाको सक्रिय सहभागिता रहेको थियो । शनिबार भएको तालिम समापन कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सभाकी सदस्य एशोदा कायस्थ रहेकी थिइन् ।
प्रमुख अतिथि कायस्थले तालिममार्फत् महिलाहरूलाई स्वरोजगारमुखी बनाउँदै आर्थिक रूपमा सक्षम बनाउने प्रयास सह्रानीय रहेको बताइन् । सीपमा आधारित तालिमले महिलालाई आत्मनिर्भर बनाउनुका साथै समाजमा नेतृत्व लिन प्रेरणा दिन्छ’ कायस्थले भनिन्, ‘महिलाहरू आर्थिकरूपमा सबल भए भने मात्र राजनीतिक, सामाजिक, आर्थिक सशक्तीकरण गर्न सकिन्छ । तबमात्र महिलाहरू हरेक क्षेत्रमा अगाडि बढ्न सक्छन् ।’
कार्यक्रमको अध्यक्षता महिला एकता मञ्चकी अध्यक्ष दिया श्रेष्ठले गरेकी थिइन् । समापन कार्यक्रममा ५ नं. वडाका वडाध्यक्ष मनप्रसाद लिम्बू, वडासदस्य तथा वडाका स्वास्थ्य विभाग प्रमुख चन्द्र खनाल, जनता प्रा.वि.की प्रधानाध्यापक रीता पौडेललगायतको सहभागिता रहेको थियो ।
अध्यक्ष दिया श्रेष्ठले तालिमको उद्देश्यबारे प्रकाश पार्दै महिलालाई आर्थिक, सामाजिक र राजनीतिकरूपले सशक्त बनाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताइन् । ‘सीप सिकेर महिलाहरूले आफ्नै गाउँघरमै रोजगारी सिर्जना गर्न सक्छन्, हामीलाई चाहिएको हो निरन्तरता र सहकार्य’–अध्यक्ष श्रेष्ठले भनिन् ।
तालिममा सहभागी महिलाहरूले सुपारी, जडी, दुबो र नरिवललाई आकर्षक ढङ्गले सजाउने, प्याकेजिङ गर्ने र बजारीकरण गर्ने सीप सिकेका थिए । उनीहरूले प्राप्त सीपमार्फत् विभिन्न पूजाआजा, विवाह तथा अन्य सामाजिक कार्यका लागि सामग्री उत्पादन तथा बिक्री गर्न सक्नेछन् ।