इटहरी । रानी– विराटनगर– इटहरी– धरान निर्माणाधीन ६ लेन सडक योजनाअन्तर्गत इटहरीमा समान मापदण्ड बनाउनुपर्ने भन्दै इटहरीका दुई घरधनीले सडक निर्माणमा अवरोध पु¥याएका छन् ।

इटहरीको विराटनगर लाइनका स्थानीयको अवरोधका कारण ८ महिनादेखि ६ लेन राजमार्गको काम रोकिएको हो । तीन महिनादेखि लगातार समन्वय गरिरहे पनि सहमति जुट्न नसकेको ६ लेन सडक परियोजनाका इन्जिनियर शम्भू मोचीले जानकारी दिए । विराटनगर रोडका घरधनी मेघराज पराजुली र युनिस सुवेदीको अवरोधका कारण काम अघि बढ्न नसकेको इञ्जिनियर मोचीको भनाइ छ । योजनाअन्तर्गत हालसम्म जम्मा ३२.८४ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भएर हस्तान्तरण भइसकेको जनाइएको छ । विराटनगर रोडको नविल बैङ्कदेखि इटहरीको मुख्यचोक सम्मको करिब दुई सय ५० मिटर सडक कालोपत्रे हुन सकेको छैन ।

घरधनी पराजुलीले समान मापदण्ड र मुआब्जाको माग उठाए भने अर्का घरधनी युनिस सुवेदीले सडकको कारण आफू पीडित बनेको र वारि एउटा पारि अर्काे मापदण्ड तोकिएको साथै मुआब्जा नपाएकाले काम अघि बढाउन नदिएको बताए । ‘हामी विकास विरोधी होइनौँ तर पूर्वतिर २ मिटर र पश्चिमतर्फ एक मिटर कायम गरेर निर्माण भएकाले समान मापदण्ड हुनुपर्ने माग गरेको हो’ पराजुलीले भने, ‘दुवैतर्फ २ मिटरको पेटी बनाएर ब्लक राख्न भनेको हो ।’ अर्का घरधनी सुवेदीले मुआब्जा नदिएसम्म सडक विस्तार हुन नदिने बताए । आफ्नोसहित घर भत्किने सबैको मुआब्जा दिनुपर्ने उनको अडान छ ।

दुवै घरधनीहरूसँग पटक–पटक छलफलमा बसे पनि सहमति नजुटेको उपमहानगरका प्रवक्ता दिवस पोख्रेल बताउँछन् । नगर प्रमुख हेमकर्ण पौडेल नेपाल फर्किएलगत्तै सम्बन्धित घरधनीहरूलाई राखेर निष्कर्ष निकालिने उनले बताए । यता निर्माण कम्पनी शुभकामना–बोहरा–युनिक जेभीले अघिल्लो वर्ष २०८१ को माघ महिनाभित्रै आफ्नो क्षेत्रमा पर्ने सबै सडक कालोपत्रे गरिसक्ने योजना भए पनि दुईजना घरधनीको अवरोधले काम सम्पन्न गर्न नसकेको बताएको छ । ठेकेदार राजेश बोहराले अवरुद्ध सडक खुलाउनेबारे गत जेठ १२ गते नै आयोजनाको कार्यालयलाई पत्र पठाइसकेको भए पनि अहिलेसम्म कुनै ठोस निर्देशन नआएको बताए ।

निर्माणाधीन ६ लेन सडक परियोजनाका प्रमुख राजेन्द्रप्रसाद साहले ठेकेदारकै बदमासीले सडक सम्पन्न नभएको बताए । समयमै काम सक्न निर्देशन दिए पनि विभिन्न बहाना बनाएर ठेकेदार कम्पनी कामबाट पन्छिन खोजेको आयोजना प्रमुख साहको आरोप छ । ठेकेदारले समयमै काम सम्पन्न नगर्दा राजमार्ग जस्तो संवेदनशील क्षेत्रलाई स्थानीय व्यवसायीहरूले पार्किङ स्थल बनाइसकेको प्रमुख साह बताउँछन् । इटहरीको मुख्यचोकमै काम अवरुद्ध बनेपछि स्थानीय व्यवसायीले नियम विपरीत खुला राजमार्ग क्षेत्रमा पार्किङस्थल बनाएका छन् । उक्त क्षेत्रमा दैनिक २ सयदेखि ३ सयसम्म साना तथा ठूला सवारी साधनहरू पार्किङ हुँदै आएका छन् ।