इटहरी । केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि आन्तरिक एवम् वाह्य पर्यटकहरूको पहाडीक्षेत्रमा भीड लाग्न थालेको छ ।
धनकुटाको भेडेटार हुँदै नमस्ते झर्नामा मानिसहरूको भीड लागेको छ । तराईका जिल्लाहरूमा दैनिक ४२ डिग्रीसम्मको तापक्रम भएपछि शीतल ताप्न पर्यटकहरू नमस्ते झर्नासम्म पुग्ने गरेका हुन् ।
विशेषगरी सुनसरी, मोरङ, झापा, सप्तरी, सिरहा, धनुषा, रौतहट, महोत्तरी, सर्लाही हुँदै भारतका विभिन्न राज्यहरूबाट पनि झर्ना अवलोकन गर्न आउनेहरूको सङ्ख्या बढेको होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले बताए ।
अहिले गर्मी छल्नकै लागि दैनिक ३ हजारसम्म आन्तरिक तथा वाह्य पर्यटकहरू पुग्ने गरेको सिम्सुवा नमस्ते झरना संरक्षण समितिका सल्लाहकार अग्नि लिम्बू बताउँछन् । पर्यटकहरूको लागि भेडेटारपछिको अर्को मुख्य गन्तव्य नै नमस्ते झर्ना बन्ने गरेको सल्लाहकार लिम्बू बताउँछन् ।
विगतमा आन्तरिक पर्यटकमात्र आउने गरेको नमस्ते झरनामा पछिल्लो समय नेपालको छिमेकी मुलुक भारत, बङ्गलादेशलगायतका देशबाट पनि पर्यटकहरू आउने गरेको उनले बताए ।
प्राकृतिकरूपले अति नै सुन्दर र रमणीय रहेको यस झरनामा पछिल्लो समय पूर्वाधारको रूपमा पदमार्ग निर्माण भएपछि पर्यटकको अवागमनमा वृद्धि भएको स्थानीयहरूले बताएका छन् । यहाँ विशेषगरी युवावस्थाका पर्यटकको आगमन बढ्दो रहेको स्थानीय बताउँछन् ।