धरान । सार्वजनिक जग्गामा पर्खाल लगाएको भनी विवाद भई एउटा पक्षले अर्को पक्षलाई आक्रमण गर्दा चारजना घाइते भएका छन् । 

सुनसरीको हरिनगर गाउँपालिका–१ मरिया खोलानजिकै रहेको जग्गाका विषयमा दुई पक्षबीच विवाद हुँदा चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इनरुवा नगरपालिका–१० का अस्ताख अन्सारीले आफ्नो दुई कठ्ठा ११ धुर क्षेत्रफल रहेको जग्गामा करिब दुई वर्षअघि घेराबारा गरी पर्खाल लगाएका थिए ।

यस विषयमा हरिनगर गाउँपालिका–१ का स्थानीयले सार्वजनिक जग्गामा पर्खाल लगाएको भन्दै विवाद झिकेपछि झडपको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ । यो घटना गत जेठ २७ गतेको हो । जाल्पापुर र भुटाहाका करिब २ सयभन्दा बढी मानिसहरू भेला भई झगडा गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली र सशस्त्र प्रहरी बल ४ नम्बर गणबाट खटिएको टोलीले स्थितिलाई नियन्त्रणमा लिएको थियो । 

स्थितिलाई नियन्त्रणमा लिए पनि केही क्षणपश्चात् आसपास क्षेत्रमा ५०–६० जनाको समूहबीच झगडा हुँदा चारजना घाइते भएका हुन् । घाइते हुनेमा इनरुवा–१० जाल्पापुरका २४ वर्षीय जुगेर मियाँ, सोही ठाउँका १८ वर्षीय सजाद मियाँ, ३८ वर्षीय अख्तर आलम, ३९ वर्षीय नाजामुद्दीन मियाँ रहेका छन् । उनीहरूमध्ये जुगेर मियाँको शरीरका विभिन्न भागमा चोट लागेको थियो । उपचारपश्चात् घर फर्केको प्रहरीले जनाएको छ । सोही घटनालाई लिएर जेठ ३० गते पुनः झडपको स्थिति सिर्जना भएपछि सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीले अनुसन्धानका लागि हरिनगर–१ का ६० वर्षीय जमिल मियाँ र सोही ठाउँका ३० वर्षीय साबुद्दीन मियाँलाई पक्राउ गरेको छ ।