विराटनगर । पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कोशी प्रदेशको लज्जास्पद प्रदर्शनले प्रदेशको खेलकुद क्षेत्रको वास्तविक अवस्था उजागर भएको छ । ३६ स्वर्णसहित च्याम्पियन बनेको बागमतीको विजयी यात्राको छायाँमा कोशी प्रदेश शून्य स्वर्णमा खुम्चिएर सातौं स्थानमा झरेको हो ।
यसअघिको १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ८ स्वर्ण पदक, ९ रजत र ९ कास्य पदकसहित २६ वटा पदक जितेर चौथो स्थानमा रहेको थियो । त्यसबेला १ करोड २ लाख रुपैयाँ बजेट खर्च भएको तत्कालीन सदस्य–सचिव हंसराज वाग्लेले बताए । अहिले यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि २ करोड बजेट खर्च हुने प्रदेश खेलकुद विकास बोर्डले जनाएको छ । त्यसको लागि प्रदेश सरकारसँग माग गरिएको प्रदेश खेलकुद विकास बोर्डका कार्यालय प्रमुख कालीदास भट्टराईले जानकारी दिए । केही दिनअगाडि बसेको मन्त्रिपरिषद्को बैठकले पनि बोर्डले माग गरेको बजेट स्वीकृत गरेको बुझिएको छ ।
बोर्डले खेलकुद क्षेत्रमा करोडौं रुपैयाँ खर्च गर्ने तर उपलब्धि शून्य भएपछि अहिले प्रदेश खेलकुद विकास बोर्डको नेतृत्व तहमा बसेकाहरूले खेलकुदमा रणनीतिक योजना बनाउन नसकी पार्टीको भर्तीकेन्द्र बनाएर कोशी प्रदेशको खेलकुद क्षेत्र तहसनहस बनाएको भन्दै आलोचना सुरु भएको छ । बोर्डले योग्यताका आधारमा नभएर राजनीतिक नियुक्ति गरेको कारण यो दुर्दशा आएको उनीहरूको आरोप छ ।
बागमती प्रदेशले ३६ स्वर्ण, ७ रजत र ११ काँस्य पदकासाथ ७ वटै प्रदेशमा टिम च्याम्पियन बन्यो । गत संस्करणको च्याम्पियन सुदूरपश्चिम प्रदेश १४ स्वर्ण, २० रजत र १८ काँस्यसहित दोस्रो स्थानमा रह्यो भने लुम्बिनीले ५ स्वर्ण, १३ रजत र १५ काँस्य जित्दै तेस्रो स्थान हासिल ग¥यो । गण्डकीले पनि ४ स्वर्ण, ११ रजत र १७ काँस्य हात पारेको थियो । कर्णाली प्रदेश ४ स्वर्ण, ६ रजत र १९ काँस्यमा समेटिँदा मधेस प्रदेश ३ स्वर्ण, २ रजत र १० काँस्यका साथ छैटौँ स्थानमा पुग्यो । स्वर्ण पदकविहीन बनेको कोशी प्रदेशले ७ रजत र ८ काँस्य पदक मात्र हात परेर लज्जास्पद स्थितिमा पुग्यो ।
छनौट चरणदेखि नै विवादमा रहेको कोशी प्रदेश खेलकुद विकास बोर्ड राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नतिजाले थप आलोचित बनेको छ । बोर्डले समयमै जिल्लाहरूमा बजेट नपठाउँनाले तीन जिल्लाबाट खेलाडी छनोट हुन नसक्दा ३ सय २४ खेलाडी प्रतिस्पर्धाबाट बञ्चित भए । जसको असर नतिजामा प¥यो ।
विराटनगरमा भएको छनोट प्रतियोगितामा सुनसरी, सोलुखुम्बु मात्रै नभएर बोर्डका अध्यक्षसमेत रहेका सामाजिक विकास मन्त्री पाँचकर्ण राईकै गृहजिल्ला खोटाङका खेलाडीसमेत प्रतिस्पर्धाबाट बञ्चित भए । यसरी तीन जिल्लामा खेलाडी छनौट हुन नसकेपछि ११ जिल्लाका खेलाडीबीचमा प्रतिस्पर्धा गराइएको व्यवस्थापक र प्रशिक्षकसहित १ सय १५ जना खेलाडी छनौट भएर केन्द्रमा गएका थिए । बोर्डको लापरबाहीले मन्त्रीलाई समेत लज्जित बनाउने गरी प्रतिस्पर्धाको लागि खेलाडी पठाएको थियोे ।
सोलुखुम्बु जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र थापा मगरले प्रदेश खेलकुद विकास बोर्डले समयमै पत्राचार नगरेको र आवश्यक तयारी गर्न नपाएको कारण छनौट गर्न नसकिएको बताए । बोर्डले समयमै खर्च पठाएर तयारीको लागि समन्वय नगरेको उनको गुनासो छ । सबै जिल्लाको खेलाडी प्रदेश खेलकुद विकास बोर्डले छनोट गरेर पठाउन नसक्दा कोशी प्रदेशको लज्जास्पद नतिजा आएको बताए ।
प्रदेश खेलकुद विकास बोर्डका पूर्व सदस्य–सचिव हंशराज वाग्लेले कार्ययोजना विनै आफू निकट र पार्टीको भर्तीकेन्द्र जस्तो गरेर प्रशिक्षक नियुक्तिले गर्दा प्रदेशले राम्रो नतिजा ल्याउन नसकेको बताए । कोशी प्रदेशले एउटै पनि स्वर्ण पदक हासिल नगर्नु लज्जास्पद भएको उनले बताए ।
अहिले राजनैतिक हस्तक्षेप गरेर खेलकुद विकास बोर्ड नै भर्ती केन्द्र बनाउने काम भएको उनको आरोप छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, उसु र तेक्वान्दो गरी ६ विधामा प्रतिस्पर्धा भएको थियो । तीन दिने प्रतियोगितामा ६ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ काँस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । समावेश ६ वटै खेलको हरेक पदकका लागि कुल १२ लाख नगद पुरस्कार वितरण गरिएको थियो ।
यता प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव पर्शुराम बस्नेतले राखेपले ढिलो निर्णय गरेको र खेलाडीहरूले पर्याप्त मात्रामा प्रशिक्षण लिन नपाउँदा सोचेजस्तो सफलता नपाएको बताए । उनले खेलाडी नपठाउने सुनसरी, सोलुखुम्बु र खोटाङलाई बोर्डले स्पष्टीकरण सोध्ने निर्णय गरेको बताए । प्रदेश खेलकुद विकास बोर्डका कार्यालय प्रमुख कालिप्रसाद भट्टराईले प्रदेशमा छनोट भएलगत्तै केन्द्रमा खेल्नुपर्ने अवस्था र तीन जिल्लाका खेलाडीहरू नआउँदा सोचेजस्तो सफलता नभएको बताए । ‘प्रदेशबाट १ सय ८ जना खेलाडी र ७ जना प्रशिक्षक तथा व्यवस्थापक गरेर १ सय १५ जना केन्द्रमा गएका थिए’ कार्यालय प्रमुख भट्टराईले भने, ‘खेलाडी थाकेका पनि थिए । त्यही भएर पनि होला, सोचेजस्तो परिणाम आएन ।’
सबै जिल्लालाई समेट्न नसक्दा पनि समस्या भएको उनले बताए । ‘सोलुखुम्बुमा एथलेटिक्समा पदक ल्याउने खेलाडी थिए । त्यहाँबाट आउन सकेन । खेलाडीहरूलाई आराम पनि भएन । छनोट भए लगत्तै केन्द्रमा खेल्न गए । क्यालेन्डर अनुसार खेल पनि भएन । खेल हुन्छ कि हुँदैन भन्ने अन्यौल थियो । खेलाडीहरूले राम्रोसँग तयारी नगर्दा पनि यस्तो समस्या भएको हो’–बोर्डका कार्यालय प्रमुख भट्टराईले भने ।