पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गत शुक्रबार सम्पन्न भयो । खेलकुदको उर्वर भूमि कोशी प्रदेश त्यो प्रतियोगिताको नतिजाले ओरालो लागेको सङ्केत गरेको छ । त्यो लज्जास्पद प्रदर्शन कुनै संयोग होइन, बरू रणनीतिक कमजोरी, व्यवस्थापकीय असफलता र राजनीतिक हस्तक्षेपको नतिजा हो । शून्य स्वर्ण पदकमा सीमित भई सातौं स्थानमा झरेको कोशी प्रदेशको परिणामले केवल एउटा प्रतियोगिताको हार मात्र होइन, समग्र प्रदेशको खेलकुद क्षेत्रको दुरावस्था उजागर गरेको छ । चौधौं संस्करणमा आठ स्वर्ण पदकसहित चौथो स्थान हासिल गरेको कोशी प्रदेश यसपटक एकपल्ट पनि सर्वोच्च स्थानमा पुग्न सकेन, जब कि यो पटक बजेट दोब्बर गरिएको थियो । एक करोड दुई लाख रूपैयाँबाट अघि बढेको खेलकुद क्षेत्रलाई दुई करोड रूपैयाँको बजेटले उकास्ने आशा गरिएको थियो, तर परिणाम उल्टो देखियो । उपलब्धि होइन, निराशा आयो । बजेट खर्चको प्रभाव पदक तालिकामा होइन, आरोप–प्रत्यारोप र असन्तुष्टिका स्वरमा मात्र देखियो ।
बागमती प्रदेशको ३६ स्वर्णपदकसहितको च्याम्पियन यात्रा र कोशी प्रदेशको शून्य स्वर्णपदकबीचको अन्तरको व्याख्या आर्थिक स्रोतले मात्र गर्न सकिँदैन । यो नेतृत्वको कमजोरी, योजनाको अभाव र निर्णय प्रक्रियामा देखिएको ढिलासुस्तीको फल हो भन्दा फरक पर्दैन । समयमै आवश्यक समन्वय नगरेको, तीन जिल्लाबाट खेलाडी छनोट हुन नदिएको, योग्य प्रशिक्षकको अभाव, प्रतियोगिताअघि खेलाडीलाई पर्याप्त प्रशिक्षण नदिएको आदि जस्ता गम्भीर कमजोरीले कोशीको नतिजा खस्किएको छ । प्रदेश खेलकुद विकास बोर्डलाई राज्यको साधनस्रोत परिचालन गर्ने जिम्मेवारी दिइएको छ । यो नतिजाले बोर्डको नेतृत्व गर्नेहरुको भूमिकामा पनि प्रश्न उब्जिएको छ । सत्य के हो भने कार्ययोजना र उद्देश्य विना भएका गतिविधिहरुले परिणाम दिन सक्दैनन् । परिणामतः खेलकुद क्षेत्र निराशामा फस्दै गएको छ । यसले खेलाडीको मनोबल मात्र होइन, आम नागरिकको खेलकुदप्रतिको भरोसासमेत घटाउँछ ।
अब आवश्यकता छ–कोशी प्रदेशमा खेलकुद क्षेत्रको पुनरावलोकन गर्ने, समावेशी रणनीति बनाउने, खेलाडी केन्द्रित नीति कार्यान्वयन गर्ने। खेलकुद राष्ट्रको गौरवसँग जोडिएको विषय हो, यसलाई राजनीतिक र कागजी खेल बनाउनु दुःखद् मात्र होइन, गैरजिम्मेवार कार्य पनि हो । नेतृत्वमा बस्ने व्यक्तिहरुले गम्भीररुपमा समीक्षा गर्नु गर्दछ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र खेलकुद विकास बोर्डले यो लज्जास्पद नतिजाबाट पाठ नसिक्ने हो भने आगामी दिनमा कोशी प्रदेशले केही ल्याएका रजत र कास्य पदकहरु पनि नगुमाउला भन्न सकिँदैन । खेलकुद विकास बोर्ड, सामाजिक विकास मन्त्रालय र हरेक जिल्लामा भएका खेलकुद विकास सम्बन्धी निकायमा रहेकाहरुले गम्भीर समीक्षा गर्नु पर्दछ । प्रणाली सुधार गरेर खेलकुदलाई साँच्चिकै ‘खेलाडीको सपना’ बन्ने अवसर प्रदान गर्न सक्नु पर्दछ ।