धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले नियमविपरीत तोकआदेशमा भुक्तानी लिन खोजेको विषयले नगर क्षेत्र तनावग्रस्त बनेको छ ।
‘जनश्रमदान’ को नाममा धरान उपमहानगरपालिका–१६ मा निर्माण गरिएको ग्याबिङ पर्खालमा काम गरेबापत ‘डोर हाजिर’ मा रकम भुक्तानी गर्न दबाव दिएपछि दुईदिनदेखि नगर क्षेत्र तनावग्रस्त बनेको हो । सोमबार र मङ्गलबार नगर प्रमुखका समर्थक र उपप्रमुख अइन्द्रविक्रम बेघा निकटस्थ पार्टीका नेताकार्यकर्ताहरूबीच झडपको स्थिति सिर्जना भएपछि तनावग्रस्त भएको छ । नगर प्रमुख साम्पाङले करिब साढे सात लाख रुपैयाँ रकम भुक्तानी गर्नका लागि कर्मचारीलाई दबाव दिएपछि उक्त विषय बाहिरिएको थियो । सर्दु खोलाले कटान गरेपछि उक्त क्षेत्रमा ग्याबिङ पर्खाल लगाउने कार्य गरिएको थियो । जसमा सम्बन्धित वडा समितिलाई पनि जानकारी नदिई, स्थानीयवासीलाई पनि समितिमा नराखी मनमौजी तरिकाले समिति निर्माण गरेर ‘डोर हाजिर’ मा काम लगाइएको नगरमा पेश गरिएको कागजातमा देखिन्छ ।
खासमा कुनै पनि वडामा आयोजना सञ्चालन गर्दा सम्बन्धित वडाको टोलहरूबाट समिति निर्माण गरी काम गर्नुपर्ने प्रावधान छ । “कानूनले जहाँ लगानी गर्छौं, त्यहाँका स्थानीयवासीहरूको उपस्थितिमा, समझदारीमा समिति बनाउनुपर्छ भनेर भन्छ” धरान नगरका प्रवक्ता १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई ‘मनोज’ ले सोमबार सामाजिक सञ्जालमार्फत् प्रत्यक्ष प्रसारण गर्दै भने, “सम्बन्धित वडाध्यक्षलाई जानकारी छैन । वडालाई बाइपास गरिएको छ । कामको अनुगमन छैन ।” स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार काम सम्पन्न भए नभएको अनुगमन गर्ने अधिकार उपप्रमुखलाई तोकेको छ । धरानका उपप्रमुख अइन्द्रविक्रम बेघा हुन् । उनले भिडियो सन्देशमार्फत् भने, “योजना सकेपछि अनुगमन त हुनुपर्छ । के कति काम भएको छ । गैरकानूनी काम त गर्नु भएन न नि ।”
उनले गैरकानूनी तरिकाले गरिएको कामको भुक्तानी दिनका लागि कर्मचारीलाई दबाव दिएको बताए । सोही दबावपश्चात् नै गैरकानूनी कार्यमा भुक्तानी नगर्न कर्मचारीलाई भनिएको उनले बताए । “इनभ्यालिड र भ्यालिड भयो भन्ने म कोही होइन तर सात–आठ लाख रकम निकाल्ने काम गर्नुभएको छ, त्यो चाहिँ गैरकानूनी काम हो । नगरपालिका नियम, कानून र विधि, समन्वयमा चल्छ”–उनले भिडियो सन्देशमा भनेका छन् । सोमबार नगर प्रमुख साम्पाङले आफ्ना समर्थक ल्याई हो–हल्ला र हुलहुज्जत गर्ने काम गरेको आरोप उपप्रमुख तथा उपप्रमुखका समर्थकको छ । यता उपप्रमुखमाथि हुलहुज्जत गरेको भन्दै नेकपा (माओवादी केन्द्र) का नेता कार्यकर्ताहरू पनि उपमहानगरमा पुगेका थिए ।
मङ्गलबार दुवै पक्षबीचमा झडपको स्थिति सिर्जना भएको थियो । जनपद तथा सशस्त्र प्रहरीले घटनालाई मिलाउनका लागि हरसम्भव प्रयास गरेका थिए । झडपको स्थिति सिर्जना हुँदा सामाजिक सञ्जालहरूमा घाइतेसम्म भएको सूचना बाहिरिएका छन् । “स्थिति नियन्त्रणमा लिइएको छ” इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगूले भने, “कोही पनि घाइते भएका छैनन् । त्यस्तो केही छैन ।” भुक्तानीको विषय नै अहिलेको मूल मुद्दाको रूपमा रहेको छ । “विधिप्रक्रिया विपरीत आएकाले भुक्तानी नभएको हो । कर्मचारीले भुक्तानी गरेमा हामी लिगल एक्सनमा जान्छौँ” प्रवक्ता भट्टराईले भने, “विधि र पद्दति मान्नु पर्छ भन्ने कुरा हो । राम्रो कामको समर्थन गर्छौं । नराम्रो कामको आलोचना गर्छौं ।”
नेकपा (माओवादी केन्द्र) का धरान नगर अध्यक्ष उद्धव लिम्बूले नगरका जनप्रतिनिधिहरूमाथि नगर प्रमुखले आसेपासे बोलाएर हातपात गर्ने काम गरेमा त्यसलाई किमार्थ स्वीकार नगर्ने बताए । उनले भने, “हातपात गर्ने प्रयास गर्नुहुन्छ भने त्यसको नतिजा अत्यन्तै नराम्रो हुन्छ । त्यो कार्यलाई हामी किमार्थ स्वीकार्दैनौँ ।” उनले सबै जनताको अभिमत लिएर नगरका जनप्रतिनिधिमा निर्वाचित भएको कुरालाई हेक्का राख्न चेतावनी दिए । उपप्रमुख बेघाले नगर प्रमुख तथा उनका समर्थकले देखाएको हर्कतले आफूलाई दुःखी बनाएको बताए । “श्रमदाताप्रति उच्च सम्मान गर्दछु” उनले भिडियो सन्देशमा भनेका छन्, “नगर प्रमुखले श्रमदाताहरूलाई बोलाएर हुलहुज्जत गर्दै ममाथि साङ्घातिक आक्रमण गर्न बोलाइएको थियो भन्ने मैले बुझेँ । भिडियो हेरे हुन्छ । उहाँकै कार्यकक्षमा कुटाउनका निम्ति बोलाउने ?”
कतिपयले सामाजिक सञ्जालमा श्रमदानको अर्थलाई बुझ्नका लागि पनि आग्रह गरेका छन् । कतिपयले नगर प्रमुखको कार्यशैलीप्रति टिप्पणी गरेका छन् भने कतिपयले उपप्रमुख तथा अन्य जनप्रतिनिधिको कार्यशैलीप्रति टिप्पणी गरेका छन् ।