विराटनगर । उच्च अदालत विराटनगरको आदेशपछि इन्द्रकुमार योञ्जन तामाङले पुनः मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षको कार्यभार सम्हालेका छन् । 

अदालतले पुनः बहालीको आदेश दिएपछि तामाङ मङ्गलबार जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पुगेर औपचारिक रूपमा कार्यभार ग्रहण गरेका हुन् । तामाङ २०८० चैत २३ गते चार वर्षे कार्यकालका लागि मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएका थिए ।

तर २०८१ भदौ ६ गते प्रदेश खेलकुद विकास बोर्ड कोशीका सदस्य–सचिव पर्शुराम बस्नेत (कृष्ण) ले तामाङलाई पदबाट हटाएका थिए । बस्नेतले आफ्ना निकट राजनीतिक कार्यकर्तालाई नियुक्त गर्न तामाङलाई हटाएको आरोप लाग्दै आएको छ । तामाङलाई हटाएर २०८१ माघ १७ गते सामाजिक विकासमन्त्री तथा बोर्ड अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बोर्ड बैठकले सुरज श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको थियो । श्रेष्ठ नेकपा (एमाले) मोरङका जिल्ला सदस्य तथा बस्नेतसँग निकट सम्बन्ध भएका व्यक्तिका रूपमा चिनिन्छन् ।

पदच्यूत गरेपछि तामाङले उच्च अदालत विराटनगरमा उत्प्रेषणयुक्त परामादेशको माग गर्दै रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र अधिकारी र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले तामाङको पक्षमा आदेश जारी गर्दै पूर्वस्थितिमा बहाल गर्न निर्देशन दिएको हो । अदालतको आदेशलाई आधार बनाएर तामाङले मङ्गलबार अध्यक्षको कार्यभार पुनः सम्हालेका हुन् । यसअघि तामाङले सदस्य–सचिव बस्नेत र बोर्डविरुद्ध अदालतमा अपहेलना मुद्दा पनि दायर गरेका थिए । तर सो मुद्दामा अदालतले दाबी नपुगेको ठहर गर्दै खारेज गरेको छ ।

कार्यभार ग्रहण गरेपछि तामाङले राजनीतिक पूर्वाग्रहका आधारमा आफूलाई पदबाट हटाइएको बताएका छन् । उनले अदालतको आदेशले न्यायको जित भएको भन्दै लोकतन्त्रमा कानूनी राज्यको महसुस भएको बताए । “मलाई कुनै बेला राजनीतिक प्रतिशोधस्वरूप हटाइएको थियो” तामाङले भने, “तर, अदालतले कानूनी प्रक्रियामार्फत् न्याय दिलाइदियो । लोकतान्त्रिक व्यवस्थामा अदालतप्रति जनताको विश्वास झनै मजबुत भएको छ ।” उनले अब जिल्लास्तरको खेलकुद गतिविधिलाई पुनः सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरे ।