मनमोहन प्राविधिक विश्वविद्यालय कोशी प्रदेश सरकारले २०७६ मा स्थापना गरेको हो । एकदमै नयाँ भएकोले पक्कै सुरुका दिनहरू सजिला थिएनन् ।  विश्वविद्यालय स्थापनाका बेलामा संरचना, जनशक्ति, कानूनी प्रक्रिया, तालिम र प्रशासनलाई एकैपटक अघि बढाउनु पर्ने चुनौती थियो । एकातिर कानूनको अभाव थियो भने अर्कोतिर भौतिक संरचना, विज्ञ र दक्ष जनशक्त्तिको अभाव थियो । तर पनि  स्थानीय तह, प्रदेश सरकार, कर्मचारी, शिक्षक र विद्यार्थीको विश्वास जित्नैपर्ने थियो । निरन्तर काम, सबैको साथ सहयोगले यतिबेला देशकै पहिलो प्राविधिक विश्वविद्यालयको संरचना, पाठ्यक्रम र पहिचान स्थापित भइसकेको छ ।

सुरुमा कोशी प्रदेशमा पनि विश्वविद्यालय छ  र भन्ने अवस्था थियो तर एमटियु अहिले देशमा मात्र नभएर भारतमा समेत चिनिन थालिसकेको छ । सत्य के हो भने संसारमा सजिलै उपलब्धि पाइँदैन । कानूनी संरचना, स्थायी जनशक्ति, आवश्यक बजेट, भवन र प्रयोगशालासम्मको व्यवस्था गर्न धेरै सानो टिमसँग पहिले हामीले काम ग¥यौँ । कहिले बजेट अभाव, कहिले संरचनाको अभाव, कहिले नीतिगत तहमा ढिलासुस्ती यी सबैको  सामना ग¥यौँ । प्रदेश सभाबाट ऐन पारित भएर एमिटियु स्थापना भए पनि आन्तरिक कानूनहरु थिएनन्, पाठक्रम थिएन, योजना र रणनीतिहरू केही पनि थिएनन् । दुई वर्ष त हामीलाई आन्तरिक कानूनहरू नियमावली र निर्देशिकाहरू बनाउनै लाग्यो । २०७६ मा स्थापना भएको एमटियुले बल्ल २०७८ देखि स्नातक तहमा पठन–पाठन थाल्यो । गुणस्तरीय पाठक्रम निर्माणमा पनि हामीले धेरै जोखिम मोल्यौँ । तर कालो बादलमा चाँदीको घेरा भने झैं यी कठिनाइहरूबाटै हामीलाई  नयाँ बाटो खोज्ने अवसर प्राप्त भयो । अहिले हामी खुसी छौँ ।   

भारतका विश्वविद्यालयहरूसँगको सहकार्य  

यो सबै हाम्रो टिमवर्क, दूरदृष्टि र पारदर्शिताको प्रतिफल हो । दक्ष जनशक्ति उत्पादन गर्ने, गुणस्तरीय प्राविधिक शिक्षा दिने र दक्षता विकासमा ध्यान दिनु हाम्रो पहिलो प्राथमिकता थियो र छ । यसैले हामीले दिनरात मिहिनेत ग¥यौँ । पहिले देशभित्रका क्याम्पसहरूसँग आपसी सहकार्यका लागि समझदारी ग¥यौँ । त्यसपछि भारत असामको गुहाटी विश्वविद्यालयसँग हाम्रो सहकार्य भयो । भर्खरै पटनाको एमिटी युनिभर्सिटीसँग पनि हामीले मौखिक समझदारी गरिसकेका छौँ र चाँडै लिखित पनि गर्दैछौँ । कलकत्ताको नर्थबङ्गला युनिभर्सिटीसँग पनि हाम्रो सोझो सम्बन्ध स्थापित भैसकेको छ । भारतको दिल्ली र बङ्गलादेशका युनिभर्सिटीसँग पनि हामी जोडिसकेका छौँ । अहिले हामी दक्षिण एशियाका विभिन्न प्राविधिक विश्वविद्यालयहरूसँग साझेदारी, अनलाइन कार्यक्रम सञ्चालन, पाठ्यक्रमको स्तरीयता तथा अनुसन्धान र नवप्रवर्तनका लागि प्रोत्साहन गर्ने सहकार्य गरिरहेका छौँ । यसैले पनि हो एमटियुको नाम चार वर्षभित्रै देशको सिमानाबाहिर पनि जान सफल भयो ।  

बजेटको सीमितता

प्रदेश सरकारको  बजेट सीमित छ ।  तर सीमितताभित्र पनि काम गर्न सकिन्छ भन्ने प्रमाण हामीले प्रस्तुत गरेका छौं । बजेट अभावलाई हामीले बाधा होइन, प्रगतिको उत्प्रेरकका रूपमा लिइरहेका छौं । यसैले पनि थोरै बजेटमा पनि धेरै भौतिक संरचना निर्माण गर्नेदेखी पाठक्रम बनाउने, नयाँ–नयाँ शैक्षिक कार्यक्रमहरू सञ्चाल गर्ने, विषय विज्ञहरू नियुक्त्त गर्नेलगायतका कामहरू गरिरहेका छौं । तर कोशी सरकारले आफनो विश्वविद्यालयलाई गौरव मानेर मन्त्रालय सरह बजेट उपलब्ध गराएमा पाँच वर्षभित्रै एमटियु दक्षिण एसियामा चिनिएरै छाड्नेछ । कसैले छेकेर रोकेर रोकिनेवाला छैन । 

सञ्चालन खर्चभन्दा परियोजना र साझेदारीमा हामीले बढी जोड दिएका छौँ । अनावश्यक खर्च कटौती, साझेदारी कार्यक्रम, अनलाइन कोर्ष विस्तार र प्रदेश तथा सङ्घसँगको सहकार्यबाट पनि हामीले समाधान खोज्ने गरेका छौँ ।  सीमित स्रोतमा बढी निचोड निकाल्नु नै व्यवस्थापन हो भन्ने बुझेको हाम्रो टिमले यसमा अथक मिहिनेत गरेको छ । म अझै व्यवस्थापकीय अर्थशास्त्रको विज्ञ हुँ । भिसी सर पनि आफै अथक मिहिनेत भएको क्रिएटिभ व्यक्ति हुनुहुन्छ । डिन सर पनि नेपालको इन्जिनियरिङ क्षेत्रको एउटा नमुना नै हुनुहुन्छ । यसैले पनि हामीलाई सीमित बजेटमा महŒवाकाङ्क्षी योजनाहरू अगाडि बढाउन बल पुगेको छ । 

राजनीतिकरणको चर्चा 

विश्वविद्यालय र राजनीति छुट्टिन गाह्रो हुन्छ । तर मलाई के लाग्छ भने यसलाई सन्तुलनमा राख्न सकिन्छ । मेरो अनुभवमा मैले नीतिगत निर्णयबाहेक राजनीतिक दबावको आधारमा निर्णय गरेको छैन । स्वच्छ प्रशासन र पारदर्शी प्रणाली राख्दा राजनीतिक हस्तक्षेप आफै कम हुन्छ । जहाँसम्म हाम्रो एमटियुमा राजनीतिकरण को कुरा छ त्यो सत्य होइन । यहाँ विज्ञ, शिक्षक, कर्मचारी सबै फरक फरक भूगोलको र समावेशिताको हुनुहुन्छ ।  

क्याम्पस प्रमुख हुँदा क्याम्पसभित्रको शैक्षिक, प्रशासनिक र विद्यार्थीसँगको सम्बन्धमा बढी केन्द्रित भइन्छ । तर रजिष्ट्रारमा आएपछि नीति, कानून, बजेट, प्रशासन, अकादमिक कार्यक्रम, कर्मचारी र जनशक्तिको व्यवस्थापनदेखि विश्वविद्यालयको भिजन निर्माणसम्म सबैमा ध्यान दिनुपर्छ । जिम्मेवारीको दायरा फराकिलो हुन्छ, दृष्टिकोण फराकिलो बनाउनु पर्छ । मैले यही फरक पाएँ । 

सहकार्य 

एमटियुमा नेतृत्वको सहकार्य एकदमै  राम्रो छ । सबैका आ–आफ्नै दायरा र जिम्मेवारी छन ।  कहिलेकाहीँ मतभेद आउनु स्वभाविक भए पनि हामीमाझ कहिल्यै त्यस्तो भएन । हामी सबैले संस्थागत हितलाई पहिलो प्राथमिकतामा राखेर काम ग¥यौँ । व्यक्तिगत भन्दा संस्थागत निर्णयलाई प्राथमिकता दिने संस्कृतिले दबाव र प्रभावलाई व्यवस्थापन गर्न सजिलो हुँदोरहेछ । मैले एमटियुमा आएपछि कुलपति र सह–कुलपतिसँग सहकार्य गर्ने अवसर पाएँ । उपकुलपतिसँगको पहिलो कार्यकाल एकदमै सौहाद्र्रपूर्णरूपमा बित्यो र दोस्रोे कार्यकाल पनि उहाँकै नेतृत्वमा भएकोले अझै राम्रो सहकार्य हुनेछ । यसले प्रष्ट हुनुपर्छ, मैले कहिल्यै कुनै दबाव झेल्नुपरेन, मात्र आफ्नो कामको बाहेक । 

मनमोहन पोलिटेक्निक प्राविधिक शिक्षाको सशक्त पाटो हो । यसलाई विश्वविद्यालय अन्तर्गत ल्याउनुको मुख्य कारण व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि हो । जबरजस्तीभन्दा पनि यसले प्रदेश र राष्ट्रलाई दक्ष जनशक्ति उत्पादनमा मद्दत गर्ने गरी अघि बढाइएको छ । पोलिटेक्निक नै एमटियुको जग हो र अझ प्रष्टरूपमा भन्नुपर्दा हाम्रो विश्वविद्यालय ऐनले नै पोलिटेक्निकलाई आङ्गिक शिक्षालय स्वीकार गरिसकेकोले अब कसैले होइन भनेर पनि फरक पर्दैन । किनभने ऐनमा प्रष्टरूपमा पोलिटेक्निक आङ्गिक शिक्षालयका रूपमा रहेको कुरा उल्लेख छ । 

स्थायी जनशक्ति, पर्याप्त बजेट र पर्याप्त भौतिक प्राविधिक अझ मजबुत बनाउन सके एमटियुले अझै तीव्र गतिमा छलाङ मार्न सक्छ । अनुसन्धान र नवप्रवर्तनमा जोड, दक्ष जनशक्तिमा लगानी र प्रविधि उपयोगका कार्यक्रमलाई थप तीव्र बनाउने हो भने एमटियु साँच्चै भ्यागुतो जस्तै उफ्रिन सक्छ । आशा गरौँ, आगामी दिनमा सरकारले बजेटको आकारलाई अझै फराकिलो बनाउँदै लैजानेछ । 

एमटियुमा अध्यापन हुने विषय

एमटियुमा तीन स्कुल छन्,  इन्जिनियरिङ, हेल्थ एण्ड एप्लाइड साइन्स र एप्लाइड साइन्स एण्ड मेडिकल । तीनबटै स्कुल अन्तर्गतका अलग–अलग विषयमा स्नातक र स्नातकोत्तर तहमा पठन–पाठन सुरु भैसकेको छ । इन्जिनियरिङतर्फ सिभिल र इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स अनि एप्लाइडतर्फ कानून र अस्पताल व्यवस्थापन । अनि मेडिकलतर्फ फार्मेसी विषयको पठन–पाठन भैरहेको छ । आङ्गिक शिक्षालयतर्फ डिप्लोमा तहमा पनि आठवटा विषयमा पठन–पाठन भैरहेको छ । हाल विश्वविद्यालयमा उच्च शिक्षातर्फ र डिप्लोमा तर्फ गरी जम्मा ७ सय बढी विद्यार्थी अध्ययनरत छन् । 

एमटियु एकदमै अनुसन्धानमा आधारित विश्वविद्यालय हो । यहाँ पढाइ नै पचास प्रतिशत थ्योरी र पचास प्रतिशत प्राक्टिकल अनिवार्य गरिएको छ । एमटियुको आफ्नै अनुसन्धान केन्द्र छ । यसैले एमटियुले धमाधम एकपछि अर्को अनुसन्धान पनि गरिरहेको छ । भर्खरै आफ्नै देशका रैथाने जडिबुटी प्रयोग गरेर भिक्स र सन्चोजस्तै ओखती उत्पादन गर्न सफल भैसकेको छ । साथै नेपाली जडिबुटी नै प्रयोग गरेर मधुमेह रोगको उपचार गर्ने अनुसन्धानलाई पनि विशेष महŒवका साथ अगाडि बढाइरहेको छ । यसबाहेक एमटियुले थप दसवटा अनुसन्धानहरू पनि गरिरहेको छ र तीमध्ये ब्याक्टेरियोफेजलाई हामीले पहिलो प्राथमिकता दिइरहेका छौँ ।  

एमटियुको भावी रणनीति 

हामीले पहिले दश वर्षे रणनीति तयार गरेका छौँ  । जस अन्तर्गत सन् २०३० सम्म एमटियु दक्षिण एसियामा चिनिएको विश्वविद्यालय हुनेछ । यो अवधिमा एमटियुले १० वटा नयाँ पाठ्यक्रम निर्माण गरेर दुईवटा विषयमा विद्यावारिधि, ५ वटामा स्नातकोत्तर र ५ वटामा स्नातकोत्तर विषय पठन–पाठन गराउन थाल्ने छ । समग्रमा सन् २०३० भित्र एमटियुले  अन्तर्राष्ट्रियस्तरको पूर्ण प्राविधिक विश्वविद्यालयको रूप धारण गरिसक्नेछ ।  

(मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रारसँगको कुराकानीमा आधारित)