जगदीश घिमिरे–
बाह्रौँ बलात्कारी भित्र पस्ता उसले हलचल गर्न छोडिसकेकी थिई । बलात्कारीलाई यो ज्यादै मन परयो, किनभने पहिले पहिलेका बलात्कारीहरूले जस्तो उसले बलात्कृतको लात सहनुपर्ने भएन । हुनत ऊ दूध दिने गाईको लात सहन राजी थियो । उसले पहिलेपहिलेका बलात्कारीहरूले जस्तो बलात्कृतका खाँबामा बाँधेका हात–खुट्टा थिच्न, चुल्ठो समाउन, मुखमा उसकै सारी कोच्न अन्य बलात्कारी साथीहरूको सहयोग–सहभागिता लिनु पर्ने भएन । उसँग गरिबगुरुवा र बेसहाराको मदतका लागि अफिसले दिएको लाइट थियो । उसले त्यो बालेर हेर्यो – बलात्कृत नेपालको हिमाल, लेक, बेंसी र हरिया फाँट जस्तो छ । अनुहारमा अनन्त शान्ति छ । त्यो देखेर बलात्कारी मुग्ध भयो । उ आफ्नो कर्तव्यबोधले झन्–झन् प्रेरित हुन लाग्यो । आलिङ्गन, चुम्बनका लागि अग्रसर भयो । उसले एघारौं बलात्कारीको विसर्जन वक्तव्य सम्झ्यो – ठाउँमा आइसकी । बदमासी गर्न छाडिसकी । निर्धक्क भै गए हुन्छ । ।।।।। गजबकी छ । ऊ निर्धक्क भएर पसेको थियो । ऊ निर्धक्क भएर पूर्वक्रियामा संलग्न भयो ।
उसले बर्दी लगाएको थियो । यस अघि उसले बर्दी लगाएर बलात्कार गरेको थिएन । अतः हिचकिचायो । उसले आफैसँग सोध्यो – बर्दी लगाएर बलात्कार गर्नुहुन्छ कि हुन्न र उसलाई थाहा छैन , तालिममा कसैले बताएको होइन , काममा कसैले सिकाएको होइन , कसरी जान्ने , उसले सम्झने प्रयत्न गरयो । बर्दी लगाएर सबै थोक गरेको सम्झ्यो – सबै कुकर्म गरेको सम्झ्यो । उसले आफैँलाई जवाफ दियो – बर्दी लगाएपछि जे गरे पनि हुन्छ, सब फिरी
एक झम्टामा उसले काम सिद्धायो । मुर्दा–शान्त नदीमा पौडेर पारी पुग्यो । बाहिर निस्केर घोषणा गर्यो – ,हलचल गर्दिन ।
प्रतीक्षारत बलात्कारीले क्रुद्ध भएर सोध्यो – मन तातो छ कि छैन तेरी आमाको ।
मन त तातै छू – उसले जवाफ दियो – तेरी आमाको ।
धुक–धुकी बाँकी छ कि छैन अर्को प्रतीक्षारतले सोध्यो ।
धुक–धुकी।।।बाँकी नै होला ।
प्रतीक्षारत बलात्कारीहरू अधीर भैसकेका थिए । अतः पहिले–पहिले जस्तो एक्ला–एक्लै नगएर तँछाड मछाड गर्दै एक बथान भित्र पसे । भन्दै थिए – मन तातो भए भै हाल्छ नि।।।।।
लाग्थ्यो – ऊ विषम परिस्थितिमा जन्मेकी थिई । विषमतर परिस्थितिमा हुर्किएकी थिई । विषमतम परिस्थितिबाट गुज्रदैँ थिई । उसबारे कसैलाई केही थाहा थिएन । उसले एकपटक आफ्नो नाउ–थरसम्म बताएको हो – कुन्नि के अरे । देब्रे पाखुरामा पनि आफ्नो नाउँथर खोपाएकिरहिछ । नाऊँचाहिं बुझिँदैन तर थर प्रस्ट छ – नेपाल ।