धनकुटा/ जिल्ला प्रशासन कार्यालय धनकुटामा तीनजना दृष्टिविहीन दिदीबहिनीले एकै दिन नेपाली नागरिकता प्रमाण–पत्र प्राप्त गरेका छन् ।
साँगुरीगढी गाउँपालिका वडा नं. १० मा पर्ने दुर्गम आहाले ताप्केका २४ वर्षीया दिलमाया राई, २० वर्षीया सरिमाया राई र १९ वर्षीया पवित्रा राईले नेपाली नागरिकताको प्रमाण–पत्र पाएका हुन् । उनीहरूले नागरिकता पाएसँगै सरकारी जागिर पाउने आशा व्यक्त गरेका छन् ।
नागरिकता प्रमाण–पत्र पाएपछि जागिर खान तथा राज्यले उपलब्ध गराउने अन्य सुविधाका लागि अवसर मिल्ने भएकाले खुशी लागेको दिलमायाले बताइन् ।
हाल स्नातक तह अध्ययन गर्दै गरेकी उनले पढाइको व्यस्तताका कारण अलिक ढिलो नागरिकता बनाउनु परेको बताइन् । तीनैजना दिदीबहिनी तीक्ष्ण, बुद्धि र विवेक भएको प्रतिभाशाली छन् । नेपाली गीत–सङ्गीतप्रति राम्रो दख्खल राख्ने उनीहरू पढाइ लेखाइमा समेत अब्बल रहेका छन् ।
तीन दिदीबहिनीमध्ये दिलमाया र पवित्राले झापाको दमकस्थित सरस्वती माध्यमिक विद्यालय र सरिमायाले बेलबारीको एक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका छन् । हाल पवित्रा कक्षा–११ मा, दिलमाया र सरिमाया स्नातक तहमा अध्ययनरत छन् । आफ्नै प्रयासमा जागिर खाने उनीहरूको सोच छ । राज्यले उच्च शिक्षाका लागि उपयुक्त अवसर दिए अझै सहयोगी हुने सरिमाया बताउँछिन् । ‘भरसक आफै केही गरौं भन्ने आत्मविश्वास छ’ उनले भनिन्, ‘हामीजस्ताले गरिखान राज्यले पनि उचित अवसर दिनुपर्छ ।’
सेतो छडी लिएर आफन्तको साथमा तीनैजना दिदीबहिनी नागरिकता बनाउन सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । एकै घरका तीन दृष्टिविहीन एकैदिन नागरिकता लिन आउनु सम्बद्ध फाँटवाला कर्मचारीका लागि अचम्मको विषय बनेको थियो ।
यस प्रकारले नागरिकता दिइनु असाध्यै दुर्लभ हुने प्रशासकीय अधिकृत रामनारायण श्रेष्ठले बताए । ‘यो त, साह्रै दुर्लभ क्षण हो’ उनले भने, ‘कतिपय दृष्टिविहीन आउने गरेपनि तीनजना एकै घरका चाहिँ पहिलोपटक आएका हुन् ।’
नागरिकता फाँटकी एक महिला कर्मचारीलाई उनको बोलीको भरमा तीनै जनाले आफूहरूलाई पहिले विद्यालयमा पढाउने मिस भन्दै नमस्कार गरे । उनीहरूलाई विद्यालयमा पढाउने पूर्वशिक्षिका सीता सुवेदी नागरिकता फाँटमा खरिदार पदमा कार्यरत छिन् ।
आफूले प्राथमिक तहमा पढाएका तीन दृष्टिविहीनलाई लामो समयपछि देख्दा आफू छक्क परेको सुवेदीले बताइन् । बुबा अडिचन्द्र र आमा चन्द्रमायाका १ छोरा र ८ छोरीमध्ये चार सन्तानबाहेक सबै दृष्टिविहीन छन् ।
आर्थिक अवस्था कमजोर रहेका कारण दृष्टिविहीन सन्तानको भविष्यका लागि यी दम्पती चिन्तित छन् । बाबु अडिचन्द्र छोरीहरूले नागरिकता पाएपछि खुशी भए । केही वर्ष पहिलेदेखि नै नागरिकता बनाउने प्रयास गरे पनि समय नमिल्दा ढिलाइ भएको उनले बताए ।
उनी स्वयम् पनि एउटा आँखाले धमिलो मात्र देख्न सक्छन् । सामान्य खेतीपाती गर्ने राई आफूले नपढे पनि छोरीहरूलाई उच्च शिक्षा पढेर रोजगारी पाएको देख्न चाहेको बताए । जागिरका लागि अत्यावश्यक पर्ने नागरिकता मिलेपछि अब आशावादी भएको उनले प्रतिक्रिया दिए । ‘बल्ल अब जागिरका लागि अवसर मिल्ला भन्ने लागेको छ’ उनले भने, ‘दृष्टिविहीनका लागि राज्यले पनि केही सोचे हुने थियो ।’