धरान/सेवक अभियान धरानले आफ्नो दुई सय औं पदयात्रालाई ‘एग्रो टुरिजम’ सँग जोडेको छ ।
पहिलो पटक अभियानले पदयात्रा सुरु गर्दा पनि एग्रो टुरिजमलाई आधार बनाएको थियो । सोहीआधारमा दुई सयऔं पदयात्रालाई ‘एग्रो टुरिजम’ सँग जोड्न लागेको अभियानका अध्यक्ष राजीव हलुवाईले मङ्गलबारको पत्रकार सम्मेलनमा बताए । उनले पहिलो पटक पदयात्रा थाल्दा पनि विभिन्न कृषिसँग सम्बन्धित फार्महरूमा पुगेको स्मरण गर्दै ‘एग्रो टुरिजम’लाई प्रवद्र्धन गर्ने लक्ष्य रहेको बताए ।
यस पदयात्रालाई साथ दिनका लागि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, यातायात तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेलगायत सहभागी हुँदै छन् । धरानको सिंहदेवी चोकबाट सुरु हुने पदयात्रा आउँदो शनिबार हुँदै छ । हरेक शनिबार पदयात्रा गर्दै आएको सेवकले ‘स्वास्थ्यका लागि पदयात्रा’ नारालाई अगाडि सारेको छ ।
सिंहदेवी चोकबाट सुरु हुने पदयात्रा धरान-१३ को कृषि उपज बजार स्थलको अवलोकन गर्दै धरान(४ स्थित सोताङ अर्गानिक फार्म हुँदै ९.२ किलोमिटर यात्रा तय गर्ने जनाइएको छ । त्यसका लागि रुट पनि सार्वजनिक गर्दै २ सयऔं पदयात्राको टिसर्ट पनि सार्वजनिक गरिएको सचिव खगेन्द्र कुँवरले जानकारी दिए ।
सेवक अभियानले पहिलो पटक २०७४ साल भदौ ३१ ग्तेबाट पदयात्रा प्रारम्भ गरेको थियो । तत्कालीन नगर प्रमुख स्वर्गीय तारा सुब्बाले पदयात्राको शुभारम्भ गरेका थिए । पदयात्रा कोभिडको समयमा मात्रै स्थगित गरिएको थियो ।