धरान । कारमा गाँजा कारोबार गरेको अभियोगमा सुनसरी प्रहरीले एकजना फरार चालकलाई पक्राउ गरेको छ ।
करिब दुई महिनाअघि बा.७ च ९२६३ नम्बरको कारको डिकीबाट सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीबाट प्रहरीले १ सय १६ केजी गाँजा बरामद गरेको थियो । सो समयमा कार चालक फरार थिए ।
प्रहरीले गत वैशाख ६ गते प्रहरीले गाँजा बरामद गरेको थियो । प्रहरीलाई देख्नेबित्तिकै चालकले कार रोकेर फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । तत्कालीन समयमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले कारलाई पिछा गर्दै गएको थियो ।
कार छाडेर फरार रहेका चालक मोरङ बूढीगङ्गा गाउँपालिका–४ का २८ वर्षीय चिन भन्ने नसुरुद्दीन मियाँलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी गरिएका उनलाई पक्राउपछि ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।