विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पियु) अन्तर्गत सञ्चालित इन्जिनियरिङतर्फको छैटौं सेमेस्टरको परीक्षामा आर्थिक चलखेल हुने गरेको पाइएको छ । 

पियु अन्तर्गत विराटनगर–३ मा रहेको पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ इन्जिनियरिङ (पुसोइ) मा भएको परीक्षामा खटिएका निरीक्षकको स्कुटीबाट ८० हजार नगद र दुई थान उत्तरपुस्तिका बरामद भएपछि आर्थिक चलखेल हुने गरेको रहस्य बाहिर आएको हो ।

पुसोइको परीक्षा केन्द्र विराटनगर–२ मा रहेको इस्टर्न इन्जिनियरिङ कलेजमा रहेको छ । पुसोइको परीक्षा केन्द्रमा इस्टर्न इन्जिनियरिङ कलेजका २ सय ५० जना विद्यार्थीहरूले परीक्षा दिँदै आएका छन् । इन्जिनियरिङतर्फको छैटौं सेमेस्टरको ‘इरिगेसन इन्जिनियरिङ’ विषयको परीक्षा सुरु भएको १२ मिनेटपछि परीक्षामा खटिएका निरीक्षक मनिष यादवको स्कुटीको डिक्कीबाट मङ्गलबार दिउँसो १ बजेर १२ मिनेटमा नगद ८० हजार रुपैयाँ र दुई थान उत्तरपुस्तिका बरामद गरेको पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक बालेन्दु हमाल ठकुरीले जानकारी दिए । 

‘पूर्वाञ्चल विश्व विद्यालयको परीक्षा कन्ट्रोलर र डेपुटी कन्ट्रोलरलाई एउटा गोप्य सूचना आयो । त्यसपछि यहाँबाट टोली गयो र परीक्षाको निरीक्षकमा खटिएका कर्मचारीको  स्कुटीको डिक्की खोल्न लगाउँदा प्रहरीसहितको टोलीले २ थान उत्तर पुस्तिका र नगद ८० हजार रुपैयाँ बरामद गरेको छ’–परीक्षा नियन्त्रक ठकुरीले भने ।

परीक्षामा खटिएका निरीक्षकलाई तत्काल हटाएर घटनाको छानबिन गर्नको लागि तीन सदस्यीय समिति गठन गरिएको उनले बताए । ‘हामीले गत वर्षदेखि नै परीक्षामा केही गडबडी नहोस् भनेर निगरानी गर्दै आएका थियौं । गोप्य सूचना आएपछि मैले नै डेपुटी कन्ट्रोलरको टोली पठाएको हो ।’ छानबिन समितिको सदस्यमा आफू पनि रहेकोले केही दिनभित्रमा सत्यतथ्य बाहिर आउने उनले बताए । छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा कारबाहीको प्रक्रिया अगाडि बढ्ने बताइएको छ । सो समितिलाई एक हप्ताभित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । 

यादव पुसोइमा विगत पाँच वर्षदेखि कार्यरत छन् । पियुबाट सम्बन्धन पाएर इन्जिनियरिङ पढाइ हुने दुईवटा कलेज रहेका छन् । जसमध्ये विराटनगरको इस्टर्न इन्जिनियरिङ र पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (पुसुम) रहेको छ । पुसुम विराटनगरको तीनपैनी चोकमा रहेको छ ।

तर, पुसोइ परीक्षा केन्द्रमा इस्टर्न इन्जिनियरिङ कलेजका विद्यार्थी मात्रै सम्मिलित थिए । यसरी परीक्षामा खटिएको निरीक्षकको स्कुटीको डिक्कीबाट नगदसहित उत्तरपुस्तिका बरामद हुनुले परीक्षामा ठूलो चलखेल भएको हुनसक्ने पियु स्रोतले बताएको छ । यसअघि पनि पियुले लिएको परीक्षामा चलखेल हुने गरेको घटना सार्वजनिक हुँदै आएको छ । विश्वविद्यालय स्रोतका अनुसार मनिष यादव परीक्षा केन्द्रबाट उत्तरपुस्तिका बाहिर लैजाने, बाहिर कोहीसँग लेखाएर पुनः साट्ने कार्यमा संलग्न हुन सक्ने आशङ्का गरिएको छ । यसमा परीक्षासँग सम्बद्ध अन्य कर्मचारीहरूको समेत संलग्नता हुनसक्ने सम्भावना छ ।

इन्जिनियरिङततर्फको छैटौं सेमेस्टरको परीक्षा जेठ १८ गतेबाट सुरु भएर यही असारको १९ गतेसम्म चल्ने पूर्वाञ्चाल विश्व विद्यालय परीक्षा व्यवस्थापन कार्यालयका सह–नियन्त्रक  अजयकुमार साहले जानकारी दिए । प्रहरीले गर्नुपर्ने यस घटनाको अनुसन्धान पियुले बनाएको छानबिन समितिले गर्दा परीक्षामा घोटाला गर्नेलाई जोगाउने सम्भावना रहेको स्रोतले बताएको छ । यसअघि पनि यस्ता घटना बाहिर आएका थिए ।  

तर, प्रहरीले उनलाई नियन्त्रणमा नलिई मुचुल्का मात्र उठाएर छाडेको छ ।  प्रत्यक्षदर्शीहरूका अनुसार पुसोइ कलेजमा ज्यालादारीमा कार्यरत यादवले परीक्षाको समयमा नियमित रूपमा स्कुटी लिएर बाहिर जाने र करिब एकदेखि डेढ घण्टापछि फर्किने गरेका थिए । विश्वविद्यालयको परीक्षा कार्यालयबाट उच्च तहमा फोन आएपछि प्रहरीले यादवलाई नियन्त्रणमा नलिई केवल मुचुल्का तयार पारी छाडेको बताइएको छ ।

मोरङका एसपी नारायणप्रसाद चिमोरियाका अनुसार यादवको स्कुटीबाट फेला परेको उत्तरपुस्तिका केही नलेखी खाली भएको बताए ।  ‘अपराध पुष्टि नभएकाले पक्राउ गर्न सकिएन, तर भने मुचुल्का तयार पारिएको छ’–उनले भने । उनका अनुसार घटनाको छानबिन विश्वविद्यालयको परीक्षा कार्यालय आफैले गर्ने बताइएको छ । ‘हामीले कसैलाई परीक्षा दिइरहेका बेलामा रङ्गेहात समातेमा वा झगडा वा हुलदङ्गा भएमा मात्रै पक्राउ गर्न सक्छौं । तर, यस घटनामा त्यस्तो अवस्था देखिएन’–एसपी चिमोरियाले भने ।