विराटनगर । मिटरब्याजको नाममा सर्वसाधारणलाई ठगी गरी करोडौँ असुली गरेको आरोपमा १६ महिना जेल बसेर सफाइ पाएका विराटनगरका सञ्जयप्रसाद रौनियार उर्फ ‘मन्टु’ विरुद्ध एक दर्जन सर्वसाधारणले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् ।
१२ जना सर्वसाधारणले मन्टुबाट अनुचित लेनदेन (मिटरब्याज) बाट पीडित भएको भन्दै कारबाही गर्न माग राख्दै प्रशासनमा उजुरी दिएका हुन् । मन्टु जेलबाट छुटेपछि फेरि त्यही पुरानै शैलीमा सर्वसाधारणलाई धम्की दिने, पैसा माग्ने र कानूनी कारबाहीको डर देखाएर त्रास फैलाउने गरेपछि मन्टुबाट पीडित भएका १२ जनाले प्रशासनमा उजुरी दिएको मोरङको सुनवर्षी नगरपालिका–४ का अमितकुमार यादवले बताए । “जेलबाट छुटेपछि पनि मन्टुको आङ्तक पहिलेको जस्तै छ । अहिले आएर जग्गा बिक्री गरेको पैसा माग्दै हुलाकमार्फत् पत्र पठाउने गरेको छ । भनेजति पैसा नदिए प्रहरी प्रशासन लगाएर कारबाही गर्छु भन्दै धम्की दिएर आतङ्कित बनाएपछि हामी बाध्य भएर पीडित भएका १२ जना न्यायको लागि प्रशासनमा उजुरी दिएका हौँ”–उनले भने ।
१२ जना सर्वसाधारणले संयुक्तरूपमा उजुरी दिएपछि बुधबार जिल्ला प्रशासन कार्यालय मोरङले मन्टुलाई उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार गरेको छ । “सञ्जयप्रसाद रौनियारलाई अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरीमा विपक्षी बनाई पेश गरेको उजुरी उपर छलफल गर्नुपर्ने भएकोले निज विपक्षीलाई यस कार्यालयमा उपस्थित गराइदिनुहुन आदेशानुसार अनुरोध छ” जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार जिल्ला प्रहरी कार्यालय मोरङलाई काटेको पत्रमा उल्लेख छ ।
सर्वसाधारणले निवेदन दिएपछि दुवै पक्षलाई छलफलमा बोलाएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । “दुवै पक्ष आएपछि छलफल हुनेछ । घटनाको सत्यतथ्य बुझ्नेछौँ । त्यसपछि कानूनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिनेछु”–उनले भने । २०७९ जेठ ९ गते मोरङ जिल्ला अदालतका तत्कालीन न्यायाधीश कपिलमणि गौतमको इजलासले मन्टुविरुद्ध दायर भएको ठगी र आपराधिक लाभ मुद्दाबाट सफाइ पाएपछि चिठी पठाएर पैसा माग्ने गरेको १२ जना सर्वसाधारणको भनाइ छ । पीडितहरूका अनुसार उनीहरूले पहिल्यै मन्टुलाई साँवा र ब्याज गरी बढी पैसा तिरेर जग्गा फिर्ता लिएका थिए । तर अब फेरि मन्टुले “अझै पैसा तिर्नु बाँकी छ” भन्दै पत्र पठाएर त्रास फैलाइरहेको उनीहरूको गुनासो छ ।
मन्टुबाट मिटरब्याज पीडित भएका १७ जनाले मोरङ प्रहरमा ठगी र आपराधिक लाभ मुद्दामा जाहेरी दिएपछि २०७७ मङ्सिर २९ गते पक्राउ परेका थिए । १३ माघ २०७७ मा मन्टु मोरङ अदालतमा मुद्दा दायर भएको थियो । मन्टुले १७ जना सर्वसाधारणलाई विभिन्न मितिमा ‘ठगी’ र आपराधिक लाभ लिएको मोरङ प्रहरीको अनुसन्धानबाट पुष्टि भएपछि एक करोड ९२ लाख ८५ हजार दुई सय ३६ रुपैयाँ बिगो, दुवै मुद्दामा ७ वर्ष कैदको मागदाबी लिएर मुद्दा दायर भयो । २०७७ माघ २० गते मोरङ अदालतका तत्कालीन न्यायाधीश ईश्वर पराजुलीको इजल ासले मन्टुलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिए । त्यसपछि उनी मोरङ कारागार चलान भए । कारागार गएपछि फैसला हुनुभन्दा अगाडि बकपत्र भयो । त्यसबेला मन्टुविरुद्ध उजुरी दिने १७ जना सर्वसाधारणको जग्गा फिर्ता गरिदिने कबुल गरे ।
त्यसबेला निवेदन दिने र मन्टुबीच जग्गा फिर्ता गरिदिने छलफल भयो । मन्टुले सहमतिपत्रमा हस्ताक्षरको लागि श्रीमती ज्योति रौनियारलाई अख्तियारी दिएका थिए । सोही सहमतिअनुसार १७ जना पीडितको जग्गा फिर्ता भयो । २०७९ जेठ ९ सफाइ पाएर मन्टु जेलमुक्त भए । जेलबाट सफाइ पाएर छुटेको दुई वर्षपछि फिर्ता गरेको जग्गाको पैसा दिनुपर्ने भन्दै १७ जनामध्ये ११ जनालाई पत्र पठाउँदै पैसा माग्ने गरेका हुन् । मन्टुले भने आफूले बिक्री गरेको जग्गाको पैसा मागेको बताउने गरेका छन् । प्रशासनमा उजुरी परेको आफूले पनि जानकारी पाएकाले सोमबार उपस्थित हुने बताए ।