धरान । यौनजन्य हिंसामा परेका सङ्क्रमित तथा प्रभावित यौनकर्मीको पक्षमा वकालत गर्दै आएको गैरसरकारी संस्था फेथ (आस्था) ले धरानमा बिहीबार प्रहरीलक्षित कार्यक्रम आयोजना गरेको छ । 

समुदाय प्रहरी साझेदारीअन्तर्गत ‘महिला हिंसासम्बन्धी कार्यक्रम’ आयोजना गरेको हो । कार्यक्रममा इलाका प्रहरी कार्यालय मातहतका कार्यालयबाट ५० जना प्रहरी उपस्थित रहेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर जीवन कुँवरले त्यस विषयमा सहजीकरण गरे । यौनकर्मीहरूलाई होच्याउने भाषाशैलीहरू प्रयोग नगर्नका लागि फेथले आग्रह गरेको छ । 

“यौनकर्मीलाई होच्याउने गरी वेश्या शब्दको प्रयोग गर्दै आएकाले यस्ता शब्दको प्रयोगलाई हटाउनुपर्छ भनेर सरकारलाई सुझाव दिँदै आएका छौँ” फेथकी कार्यक्रम अधिकृत रेणु लामाले सहजीकरणको क्रममा भनिन् । उनले यौनकर्मीलाई अपराधका हिसाबमा पनि फरक दृष्टिकोण राखेर कारबाही गर्दै आएकाले सबैलाई समान व्यवहार गर्नुपर्ने बताइन् । 

कार्यक्रममा इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी प्रकाश जवेगूले सबैलाई कानूनसम्मत हिसाबमा कारबाही गरिरहेको बताए । उनले यो वा त्यो भनेर छुट्याउने काम नभएको बताए । यौनजन्य गतिविधिमा मानवअधिकारको गम्भीर उल्लङ्घन हुने गरी कुनै पनि कार्य हालसम्म नगरेको र आगामी दिनमा पनि नगरिने प्रतिबद्धता गरे । 

कार्यक्रममा धरान उपमहानगरपालिकाकी सामाजिक विकास महाशाखा अधिकृत भूवन राई, धरान–१३ का वडाध्यक्ष नेत्र काफ्ले, लुमन्तीका जितबहादुर श्रेष्ठ, महिला सहयोगी समूह इटहरी सल्लाहकार ज्ञाना खड्का (कमला), सोही संस्थाकी कार्यक्रम अधिकृत आस्ना वर्मा क्षेत्रीको उपस्थिति रहेको थियो । फेथको यो कार्यक्रम कोशी प्रदेशका चार स्थानमा सञ्चालनमा आइरहेको छ । जसमा मोरङको विराटनगर र सुन्दरहरैँचा तथा सुनसरीको धरान र इटहरी रहेका छन् ।