इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारस्थित अरिहन्त अटो कोरुगेसन प्रा.लि.बाट निस्कने दुर्गन्धका कारण आसपासका स्थानीयहरू समस्यामा परेका छन् । 

आइतबार करिब २ सयजना भेला भएर उद्योग प्रशासनलाई दुर्गन्ध व्यवस्थित नगरे आन्दोलन गर्ने चेतावनी दिए । उद्योगबाट निस्कने धुँवा, धुलो र गन्हाउने लेदोका कारण गाउँमा बस्नै नसक्ने अवस्था भएको स्थानीयहरू बताउँछन् । उद्योगको धुँवा र धुलोले आँखामा समस्या आएपछि शल्यक्रिया गर्नुपरेको इटहरी–१३ निवासी २१ वर्षीय समिर चौधरीले बताए । उनले उद्योगबाट निस्किएको धुँवा र धुलो सोझै घरभित्र पस्ने गरेको बताए । उद्योगको कारण इटहरी–१३ को थान टोलसहित ज्योति मार्ग, राज टोल र उत्तर दिशामा रहेको मुस्लिम बस्ती प्रत्यक्ष प्रभावित बनेको वडासदस्य दुर्गाप्रसाद कट्टेलले बताए । 

उद्योगबाट निस्कने धुँवाका कारण राज टोल र ज्योति मार्गका स्थानीयहरू पनि बिरामी पर्न थालेको वडासदस्य कट्टेलको भनाइ छ । विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई समस्या परेको ज्योति मार्गकी ३८ वर्षीया गुञ्जन चौधरीले बताइन् । उनका अनुसार घरमा भएका ६८ वर्षीय ससुरा विन्द्रलाल खवास उद्योगका कारण बिरामी परेका हुन् । उद्योगबाट निस्कने दुर्गन्धित हावाले खवासलाई श्वास–प्रश्वासको समस्या देखिएको गुञ्जन बताउँछिन् । त्यस्तै थान टोलकै किशोर चौधरी, गुलाम चौधरी, मञ्जु चौधरी, सतनलाल, दुखी सरदार, अन्त्रा माझी, निकिता माझीलगायतले भने छालामा समस्या देखिएको बताए ।

दिनभरि चल्ने तातो हावा र उद्योगको प्रदूषणसँगै मिसिएर बस्ती छिर्दा छालामा खटिरा निस्कनुका साथै जिउ चिलाउने, आँखा पोल्नेजस्ता समस्या देखिएको उनीहरूले बताए । उद्योगले तत्काल समस्या सामधान नगरे चरणबद्ध आन्दोलनमा उत्रने स्थानीयहरूले चेतावनी दिए ।

उद्योगबाट स्थानीयहरू प्रत्यक्ष प्रभावित भई बिरामीसमेत परेको जनगुनासो आएपछि उपमहानगरले आइतबार आकस्मिक अनुगमन गरेको इटहरी उपमहानगरका प्रवक्ता दिवस पोख्रेलले बताए । स्थानीयको गुनासोको आधारमा अनुगमन गर्दा उद्योगभित्र सफा देखिए पनि बाहिर दुर्गन्ध फैलने गरेको पाइएको प्रवक्ता पोख्रेल बताउँछन् । उद्योगबाट निस्कने दुर्गन्धित लेदो, वातावरणलाई प्रत्यक्ष असर पार्ने धुँवा र धुलो व्यवस्थापन गर्न उद्योग प्रशासनलाई एक हप्ताको समय दिएको प्रवक्ता पोख्रेलले बताए । साथै दर्ता, नवीकरणसम्बन्धी सम्पूर्ण कागजात माग गरेको पनि उनले बताए ।

यता इटहरी–१३ स्थित अरिहन्त अटो कोरुगेसन प्रा.लि.का प्रशासन प्रमुख कपिल रेग्मीले स्थानीयले भनेजस्तो उद्योगबाट दुर्गन्ध फैलाउने धुँवा, धुलो ननिस्किने दाबी गरे । क्राफ्ट पेपर उत्पादन गर्ने हुँदा कहिलेकाहीँ विद्युत् आपूर्तिमा समस्या भएपछि कुहिएर दुर्गन्ध फैलने बताए । त्यस्तै उद्योगको पछाडिबाट निस्कने तरल पदार्थलाई १५ दिनभित्र व्यवस्थापन गर्न प्रशासन सहमत भएको रेग्मीले बताए । २०७४ सालमा स्थापित उक्त उद्योगले विभिन्न रङ्गीबिरङ्गी पेपरहरू उत्पादन गर्दै आएको छ ।