विराटनगर । म्याद सकिएका न्युट्रास्युटिकल (खाद्य पूरक) सामग्रीमा नयाँ उत्पादन मिति राखेर बेची राजस्व छली गरेको आरोपमा न्युट्रास्युटिकल एसोसिएसन मोरङका अध्यक्ष विपिन झा पक्राउ परेका छन् ।
भारततिर गएका ५१ वर्षीय झालाई विराटनगर आएलगत्तै राजस्व अनुसन्धान कार्यालय इटहरीले पक्राउ गरेको हो । राजस्व अनुसन्धान कार्यालयले झा पक्राउ परेको विषयलाई गोप्य राखेको छ । उच्च अदालत विराटनगरमा आइतबार म्याद थप गरेर अनुसन्धान सुरु भएको जनाइएको छ । राजस्व कार्यालयले १३ दिनको म्याद थप माग गरेको भए पनि अदालतले पाँच दिनको मात्र अनुमति दिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिए । घटनाको सुरुवात २०८१ पुस २८ गतेदेखि भएको जनाइएको छ ।
विराटनगर–६ स्थित बीएफएम पूर्व भूमिमार्गमा रहेको झाको तीन तले घरमा प्रदेश प्रहरी कार्यालय विराटनगर, मोरङ प्रहरी र राजस्व अनुसन्धान कार्यालयले संयुक्तरूपमा छापा मारेको थियो । झाले आफ्नो घरको भूइँ र दोस्रो तला गरी तीनवटा कोठालाई गोदाम बनाएर ठूलो परिमाणमा तस्करी भएर आएका खाद्यपूरक सामग्रीहरू भण्डारण गरेका थिए । छापाका क्रममा उक्त गोदामबाट १४ भन्दा बढी प्रकारका न्युट्रास्युटिकल र विभिन्न कम्पनीका मल्टी भिटामिनहरू बरामद गरिएको थियो । बरामद भएका खाद्यपूरक सामग्रीहरूको म्याद सकिए पनि नयाँ उत्पादन मिति राखेर बजारमा बिक्री गरिँदै आएको खुलेको थियो ।
यसरी चुकेको थियो पहिलो अनुसन्धानमा
ठूलो मात्रामा राजस्व छली गरेको पत्ता लागे पनि अनुसन्धानको जिम्मा पाएको राजस्व कार्यालयले मुख्य अभियुक्त झालाई छोडेर उनका कार चालकलाई मात्र पक्राउ गरेको थियो । यसको फाइदा उठाउँदै झा बिरामी परेको बहाना गरेर भारत भागेका थिए । उनी तीन–चार महिनासम्म उतै बसेका थिए । लामो समयपश्चात् मात्रै उनी विराटनगर फर्किएका थिए । राजस्व अनुसन्धान कार्यालयले निरन्तर अनुसन्धान गर्दै जाँदा झाले राजस्व छली गरेर खाद्यपूरक सामग्री र मल्टी भिटामिनहरू ल्याएको पत्ता लागेपछि उनलाई बिहीबार पक्राउ गरिएको हो ।
भरिया प्रयोग गरेर तस्करी
झाले एक दशकदेखि न्युट्रास्युटिकल आयात गर्ने सप्लायर्सको व्यवसाय चलाउँदै आएका थिए । उनले साक्षी मेडिलिङ्कमार्फत् भारतबाट न्युट्रास्युटिकल सस्तोमा ल्याएर दशगुणा बढी मूल्य तोकेर बजारमा पठाउने गरेको अनुसन्धानबाट खुलेको छ । वैधरूपमा आएको देखाउन थोरै परिमाणमा भन्सार तिरेर ल्याउने र धेरै न्युट्रास्युटिकल भरिया प्रयोग गरेर ल्याउने गरेको अनुसन्धानकर्ताहरूले बताए । एक अनुसन्धान अधिकृतका अनुसार २८ पुसमा झाको घरबाट ठूलो परिमाणमा म्याद सकिएको न्युट्रास्युटिकल बरामद गर्नुको पछाडि एक भरिया पक्राउ परेपछि यस्तो तथ्य पत्ता लागेको बताए ।
झाले म्याद सकिएको न्युट्रास्युटिकलको उत्पादन मिति र म्याद सकिएको मिति मेटाउन केमिकल प्रयोग गर्ने गरेको प्रहरीले पत्ता लगाएको छ । केमिकल प्रयोग गरेर पुराना मितिहरू मेटाएपछि नयाँ उत्पादन मिति र मूल्य तोक्ने स्टिकर टाँसेर बजारमा पठाउने गरेको पाइएको छ । ‘झाको गोदामबाट मूल्य तोक्ने स्टिकर पनि बरामद भएको छ । यसले उनको व्यवस्थित र योजनाबद्धरूपमा कार्य भइरहेको देखाउँछ’–एक अनुसन्धान अधिकृतले भने ।
यस घटनामा केही चिकित्सकहरू पनि संलग्न रहेको पाइएको छ । स्वास्थ्य क्षेत्रका जानकारका अनुसार झाले भारतमा ५० रुपैयाँमा खरिद गर्ने न्युट्रास्युटिकल यहाँ ल्याएर आफैले मूल्य तोकेर पाँच सयसम्म बिक्री गर्दछन् । बिक्री गरेको पनि भ्याट बिल प्रयोग नगरेर प्यान बिल दिने गरेका थिए ।
एक फार्मेसी सञ्चालकका अनुसार, ‘चिकित्सकलाई धेरै प्रकारका मल्टी भिटामिन लेख्न लगाउने र एउटै पर्चीमा पाँच हजारसम्मका न्युट्रास्युटिकल लेख्ने गरेको पाइएको छ ।’ सस्तोमा खरिद गरेको न्युट्रास्युटिकल यहाँ ल्याएपछि महँगोमा बिक्री गरेको पैसाबाट चिकित्सकलाई पनि थोरै भाग दिने गरेको जनाइएको छ । म्याद सकिएका खाद्यपूरक सामग्रीले स्वास्थ्यमा असर पुर्याउने चिकित्सक बताउँछन् । झाले विराटनगरसहित पूर्वका विभिन्न सहरहरूमा न्युट्रास्युटिकल बिक्री गर्दै आएका थिए ।
राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीका प्रमुख उत्तमकुमार घिमिरेका अनुसार राजस्व छली गरेको विषयमा अनुसन्धान भइरहेको बताए । ‘अहिले अनुसन्धान भइरहेको छ । अनुसन्धान पूरा भएपछि मात्र भन्न मिल्छ । झाले कति राजस्व छली गरे त्यो भने अझै खुलिसकेको छैन’ उनले भने, ‘पछि अनुसन्धान सकिएपछि मात्रै भन्न मिल्छ ।’