विराटनगर । विराटनगरबाट यती एयरलाइन्समार्फत् काठमाडौं पठाएको कार्गो चोरी भएको भन्दै सेवाग्राहीले गुनासो गरेका छन् ।
नेपाल सरकारको उपसचिव पदबाट अवकासप्राप्त प्रेमप्रसाद सञ्जेलले १० जेठमा यती एयरमार्फत् पठाएको ५० हजार रुपैयाँ मूल्य बराबरको औषधि, लत्ताकपडा र अन्य उपभोग्य वस्तुहरूको कार्गो चोरी गर्ने उद्देश्यले कार्टुन फुटाइएको अवस्थामा काठमाडौं पुगेको उनले आरोप लगाएका छन् ।
सञ्जेलले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार बिजुलीको तारले कसेर बाँधेको दुईवटा कार्टुन तार काटेर च्यातिएको अवस्थामा काठमाडौं पुगेको छ । साधारण कुरियरभन्दा जहाजमा छिटो र सुरक्षित पुग्ने विश्वासमा महँगो ढुवानी शुल्क तिरेर कार्गो पठाए पनि ढिलो पुगेको र कार्टुन च्यातिएको अवस्थामा आफन्तलाई बुझाइएको उनले बताए ।
यती एयरका कर्मचारीहरूले चोरी गर्ने नियतले तारले बाँधेको कार्टुनसमेत फोडेको तर पछि आफ्नो नाम देखेर डरले फेरि मालसामान च्यातिएकै कार्टुनमा राखेर काठमाडौं पठाएको उनले आरोप लगाए । यती एयर विराटनगरका स्टेशन म्यानेजर प्रेम कुँवरले सुरुमा आफूहरूबाट गल्ती भएको भन्दै माफी मागेर सामान बुझाइदिन र घटना बाहिर नल्याउन अनुरोध गरेको सञ्जेलले दाबी गरे । तर पछि कुँवरले कार्गो लोड–अनलोड गर्ने क्रममा कार्टुन च्यातिएको हुनसक्ने बताएको उनले जनाए ।
पूर्व निजामती कर्मचारी सञ्जेलले सुरक्षित एयरपोर्टबाट जहाजमार्फत् पठाएको सामानको सुरक्षाबारे प्रश्न उठेकोले नियमनकारी निकायलाई थप सचेत र जिम्मेवार बनाउन घटना सार्वजनिक गरेको बताए । उनले भने, ‘हामी सचेतहरूले पठाएको कार्गोको अवस्था यस्तो हुन्छ भने सर्वसाधारणले पठाएको सामानको के होला ?’
यती एयर विराटनगरका स्टेशन म्यानेजर प्रेम कुँवरले सञ्जेलले पठाएको कार्गो जहाजमा लोड–अनलोड गर्ने क्रममा कार्टुन च्यातिएको हुनसक्ने बताए ।