विराटनगर । विराटनगर–३ स्थित मानगढ खानेपानी आयोजनाको व्यवस्थापन गर्ने विराट खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा नेकपा (एमाले) को विद्रोही समूहका उम्मेदवार लालमणि भट्टराई निर्वाचित भएका छन् ।

भट्टराई १ हजार ८ सय ८९ मत प्राप्त गर्दै फराकिलो मतले विजयी भएका छन् । एमाले संस्थापन पक्षका उम्मेदवार रामबहादुर घिमिरे १ हजार १ सय ५४ मत र काङ्ग्रेस उम्मेदवार दुर्गा चापागाईंले ६ सय ३५ मत मात्र पाए । 

पराजित घिमिरे वर्तमान अध्यक्षसमेत हुन् । उपभोक्ता समितिको महिला उपाध्यक्षमा सावित्रा पोखरेल निर्वाचित भइन् । खुला उपाध्यक्षमा भोलानाथ घिमिरे निर्वाचित भए । सचिवमा प्रदीपकुमार नेपाल निर्वाचित भए । कोषाध्यक्षमा सरोज घिमिरे निर्वाचित भए । कोशी प्रदेशमा नेकपा (एमाले) भित्र विद्रोही समूहको नेतृत्व विनोद ढकालले गरिरहेका छन् । कुनै समय प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय ढकाल अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् । सङ्गठन बनाउन अब्बल ढकाल आफ्नो पकड विस्तार गर्न सफल भएका छन् । 

गतवर्ष मानगढ खानेपानीकै निर्वाचनको विषयले एमाले मोरङमा विवाद भएको थियो । संस्थापन पक्षले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध लागेको भन्दै ढकाल समूहका तत्कालीन नगर अध्यक्ष सागर थापा, नवराज नेपाल र लालमणि भट्टराईलाई कारबाही गरेको थियो । एमालेको आन्तरिक कलहका कारण २०८१ जेठ १९ गते भएको मतदान विवादित बन्यो । उच्च अदालत विराटनगरले पुनः मतदान गर्नुपर्ने फैसला गरेको थियो । यसअघि दिव्यराज कट्टेलसहित तीन जनाले मतपेटिकाको मत गणना गर्न र टङ्कप्रसाद खतिवडासहित अन्य तीन जनाले पुनः मतदानको माग गर्दै छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

मानगढ खानेपानीको विवादको असर १० औं मोरङ जिल्ला अधिवेशन र विराटनगर महानगरको अधिवेशनमा देखिएको थियो । त्यहाँ पनि ढकाल निकटका व्यक्तिहरू नेतृत्वमा पुगेका छन् । 

एमाले मोरङका उपाध्यक्ष सागर थापाले एक वर्षअघि मानगढ खानेपानीबाट सुरु भएको विवाद मानगढमै आएर टुङ्गिएको भन्दै राम्रो सन्देश दिएको बताए । नेकपा (एमाले) नेता विनोद ढकालले सार्वजनिक संस्थानमा पार्टीले हस्तक्षेप गर्न नहुने सन्देश दिएको बताए ।

मानगढ खानेपानी आयोजनामा ५ हजार ९ सय ८८ उपभोक्ता मतदाता रहेका थिए । शनिबारको निर्वाचनमा ३ हजार ९ सय ६४ मत खसेको थियो भने २ हजार २४ जना मतदानमा सहभागी भएनन् ।