बराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाको वडा नं.२ मा एउटै लक्षण भएका ५० जना बालबालिकाहरू अस्पताल भर्ना भएका छन् ।
चतराका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन अधिकारीका अनुसार शनिबारदेखि भर्ना भएका बालबालिकाको सङ्ख्या ५० पुगेको छ । सबै बालकालिकाहरूमा एकै प्रकारको पखाला लाग्ने, बान्ता हुने, वाक्वाकी लाग्ने र ज्वरो आउने लक्षण देखिएको डा. अधिकारीले जानकारी दिएका छन् ।
‘बालबालिकाहरूमा वाक्वाकी लाग्ने, ज्वरो आउने, पखाला लाग्ने र बान्ता हुने समस्या छ । खानेपानी दूषित हुनाले यस्तो समस्या भएको हुनसक्छ’–डा. अधिकारीले भने ।
७ देखि १२ वर्ष उमेर समूहका बालबालिकाहरू वराहक्षेत्र–२ स्थित राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी भएको बताइएको छ । अस्पतालका अनुसार उनीहरू लगातार आठदेखि १० घण्टाको उपचारपछि १७ जना घर फर्केका छन् । दुई बालकलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र १० जनाको चतरा अस्पतालमै उपचार भइरहेको डा. अधिकारीले जानकारी दिए । उनीहरूको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ ।
विद्यालयको खानेपानी टेष्ट गर्न ल्याव पठाइयो
सोमबार राइजिङ स्टार स्कुलका विभिन्न ६ स्थानबाट पानीको सेम्पल लिएर जाँच गर्न इटहरीस्थित ल्यावमा पठाइएको छ । स्थानीय तोरीबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष डम्बरप्रसाद सिग्देल, जनस्वास्थ्य कार्यालय इनरुवाका महामारीविद् कन्हैया साह र वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीलगायतले बिरामी बालबालिकाबारे जानकारी लिनुका साथै विद्यालय पुगेर खानेपानी, क्यान्टिनलगायत निरीक्षणसमेत गरेका थिए ।
१० जना बिरामीबाट स्टुल टेष्ट सेम्पल लिइएको छ । पानी र स्टुल टेष्टको रिपोर्ट आज (मङ्गलबार) सम्ममा आउने डा.अधिकारीले बताए । विद्यालयको खानासमेत परीक्षण गरिने भएको छ । बिरामी विद्यार्थीहरूमा २७ बालिका र ३३ बालक रहेको अस्पतालले जानकारी दिएको छ ।
दुई दिन विद्यालय बिदा
धेरै विद्यार्थीहरू बिरामी भएपछि दुई दिन विद्यालय बन्द गरिएको छ । सोमबार र आज (मङ्गलबार) बिदा दिइएको स्कुलका संस्थापक प्रिन्सिपल विजय राईले जानकारी दिए ।
विद्यालयका शिक्षक, शिक्षिकालगायत केही विद्यार्थीमा टाउको दुख्ने, आँखा रातो भई पाक्ने, ज्वरो आउने र बान्ता गनेृ लक्षणहरू देखिएकोले थप सङ्क्रमण फैलन नपाओस् भनेर बिदा दिइएको प्रिन्सिपल राईले जानकारी दिए । खानेपानी र खाना परीक्षणका लागि पठाइएको उनले जानकारी दिए ।
बिरामी हुने ६ सम्भावित कारणहरूः
डा. नवीन अधिकारी (निमित्त मेडिकल अधिकृत, चतरा अस्पताल)
० खानेपानीको फिल्टर नफेरेको हुनसक्छ ।
० स्कुलको खानेपानीको पाइप फुटेर दूषित भएको हुन सक्छ । कालो पिभिसी पाइप प्रयोग नगरेको हुनसक्छ ।
० खानेपानीको फिल्टर नियमित सफा नगरेको हुनसक्छ ।
० फिल्टर नगरेको पानी पिएर बिरामी भएको हुन पनि सक्छन् ।
० खानेपानीको ट्याङ्की नै दूषित हुन पनि सक्छ ।
० बजारमा बेचिने प्लास्टिकमा राखिएको रङ्गीन पानी (फेन्टा) पिउनाले पनि बिरामी भएका हुन सक्छन् ।