धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले खानेपानीमा बजेट विनियोजन गर्नुपर्ने माग राख्दै सिंहदरबारसम्म ‘रित्तो गाग्री’ को अभियान चलाए पनि निरर्थक देखिएको छ । नगर प्रमुख साम्पाङ गत माघ ७ गते काठमाडौँस्थित सिंहदरबारमा रित्तो गाग्री बोकेर पुगेका थिए ।

उनले साङ्केतिक रूपमा धरानमा खानेपानीको समस्या रहेको उल्लेख गरेका थिए । तत्कालीन समयमा खानेपानी मन्त्री प्रदीप यादवलाई समेत भेटेका थिए । मन्त्री यादवले धरानको खानेपानीका लागि बजेटमा रकम विनियोजन गर्ने आश्वासन दिएका थिए । तर, उक्त आश्वासन बजेट भाषणमा सम्बोधन गरेको देखिएन । खानेपानी मन्त्रालयमा ३३ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको भए पनि धरानको खानेपानीका लागि भनेर बजेट विनियोजन गरिएको छैन ।

धरानका अर्थविद् कृष्णकुमार अग्रवालले भने, ‘धरानका लागि कुनै पनि योजना आएको छैन । खानेपानीका लागि ३३ अर्ब बजेट छुट्टिएको छ तर धरानलाई खासै बेनिफिट हुन्छ जस्तो मलाई लाग्दैन ।’ उनका अनुसार सङ्घीय बजेटबाट नभएपछि अब प्रदेश सरकारमा आएको वित्तीय हस्तान्तरणमार्फत् पहल गर्नुपर्छ । ‘धरानको खानेपानीको लागि सङ्घबाट बजेट नभएपछि प्रदेशबाट आशा गर्नुपर्छ । प्रदेशका सांसद्हरूलाई यस विषयमा ध्यानाकर्षण गराउनुपर्छ’–उनले भने ।

तत्कालीन समयमा नगर प्रमुख हर्क साम्पाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आश्वासन दिएका थिए । प्रधानमन्त्री ओलीले भनेका थिए, ‘धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला ।’ तर, सङ्घीय बजेटमा धरानको खानेपानीको विषयमा कहीँकतै उल्लेख छैन ।