इटहरी । राजनीतिक असमझदारीसँगै लामो समयदेखि कार्यपालिका बैठक नबस्दा इटहरी उपमहानगरपालिकाका ठूला आयोजनाहरू अलपत्र परेका छन् ।
उपमहानगरले इटहरीमा आकाशे पुल निर्माण, स्मार्ट पार्किङ र रात्रीकालीन बजार सञ्चालन जस्ता ठूला लगानीका महŒवकाङ्क्षी योजनाहरू अघि सारेको थियो । चालु आर्थिक वर्षभित्र इटहरीको मुख्य चौकमा आकाशे पुल निर्माण गरी सञ्चालनमा ल्याउने घोषणा गरेको उपमहानगरले काम सुरु गर्न सकेन । गत ०८१ फागुनमा पुल निर्माणको ठेक्का सम्झौताको म्याद नै सकिएको उपमहानगर योजना शाखाले जनाएको छ । रिजेन्सी बिल्डर्स प्रा.लि.ले इटहरीको मुख्य चौकमा नौ महिनाभित्र काम सक्ने गरी गत २०८० फागुनमा दुईवटा आकाशे पुल निर्माणको ठेक्का लिएको थियो । इटहरीमा आकाशे पुल निर्माणका लागि ४ करोड ५१ लाख ६३ हजारमा ठेक्का सम्झौता भएको उपमहानगरका प्रवक्ता दिवस पोख्रेलले बताए । ठेक्का म्याद सकिए पनि थपेर काम अघि बढाउने तयारी भइरहेको प्रवक्ता पोख्रेलले बताए ।
त्यस्तै इटहरीको अर्काे ठूलो योजना स्मार्ट पार्किङको पनि काम बजेट अभावकै कारण काम अगाडि बढ्न सकेन । अघिल्लो नेतृत्वले २०७६ मै स्मार्ट पार्किङ बनाइसक्ने भन्दै व्यापक प्रचार गरे पनि अहिलेसम्म सुरुसमेत भएको छैन । इटहरीको टेङ्ग्रा पुल उत्तर–पूर्व अधिकारी मेडिकल हलछेउमा २ कठ्ठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ निर्माण गर्ने भनी तत्कालीन नगर प्रमुख द्वारिकलाल चौधरीले योजना ल्याएका थिए । ६ महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालन गरिसक्ने उद्घोष गरेका तत्कालीन प्रमुख चौधरी त्यतिबेला पर्याप्त बजेट अभावका कारण काम गर्न नसकेको बताउँछन् । योजनाअनुसार काम अघि बढिसकेको थियो बीचमा बजेट अभाव भएपछि विषय सेलाएको तत्कालीन नगर प्रमुख चौधरी बताउँछन् । २०७९ को निर्वाचनमा नगर प्रमुखका दावेदारहरू धेरैले स्मार्ट पार्किङलाई चुनावी मुद्दा बनाएर स्थानीय निर्वाचनमा होमिएका थिए । निर्वाचन जितेर स्थानीय सरकार प्रमुख भएका हेमकर्ण पौडेलले सुरुमा प्रचार–प्रसार गरे पनि अहिले यो सेलाएको छ ।
तत्कालीन नगर प्रमुख रामचरित्र मेहताको पालामै उठेको विषय भए पनि तत्काललाई बजेट अभावले कुनै योजनामा हात हाल्ने स्थिति नरहेको प्रवक्ता पोख्रेल बताउँछन् । स्मार्ट पार्किङका लागि १० करोड खर्च अनुमान गरिएको प्रवक्ता पोख्रेल बताउँछन् । सहरमा कुनै व्यवस्थित पार्किङ नहुँदा सडककै आगन्तुकहरूले पार्किङ गर्दै आएका छन् ।
त्यस्तै २०८० सालमै रात्रीकालीन बजारसँगै मेला पनि लगाउने भनिए पनि त्यो योजना पनि अहिले प्रचारमै सीमित बनेको छ । इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर भट्टराईले तत्काल यी विषयमा काम गर्न नसकिने बताए । रात्रीकालीन बजारका लागि छलफल बसे पनि सञ्चालनमा समस्या र चुनौती देखिएको उनको भनाइ छ । तत्काललाई बजार सञ्चालन गर्न ५० लाखको हाराहारीमा बजेट चाहिने देखिन्छ, जुन उपमहानगरसँग शीर्षक अन्तर्गतको बजेट नरहेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए । यता उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले कागजमा लेखेअनुसार व्यवहारमा उतार्न निकै चुनौती खेप्नुपर्ने बताए । आन्तरिक पर्यटकहरूलाई लोभ्याउन र इटहरीलाई २४ घण्टा खुल्ला राख्न रात्रीकालीन बजारको योजना ल्याइएको थियो ।