विराटनगर । प्रहरी हिरासतमा रहेका एक थुनुवाको उपचारको क्रममा निधन भएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेका झापाको दमक नगरपालिका–१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको मङ्गलबार उपचारको क्रममा निधन भएको हो । 

उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । प्रहरीले श्रेष्ठविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन जेठ १५ गते म्याद थप गरेर अनुसन्धानको दायरामा ल्याएको थियो । त्यसयता उनी हिरासतमा थिए । एक्कासि ज्वरो आउने, पेट दुख्ने र श्वास–प्रश्वासमा समस्या देखिएपछि बिहान ९ः२० बजेतिर उपचारका लागि अस्पताल लगिएको डिएसपी जोशीले बताए । उनका अनुसार श्रेष्ठको उपचारकै क्रममा ११ः३० बजेतिर निधन भएको हो । हिरासतमै रहेका बेला बारम्बार बिरामी पर्ने गरेपछि यसअघि पनि प्रहरीले उनलाई उपचारका लागि अस्पताल भर्ना गरेको थियो ।

प्रहरीका अनुसार लागूऔषध सेवनकर्तासमेत रहेका श्रेष्ठ लामो समयदेखि परिवारको सम्पर्कमा नरहेको पत्ता लागेको छ । उनी आपराधिक पृष्ठभूमिका व्यक्ति रहेको डिएसपी जोशीले बताए । यसअघि श्रेष्ठविरुद्ध विभिन्न प्रहरी कार्यालयबाट ४ पटक मुद्दा चलिसकेको रेकर्ड रहेको जनाइएको छ । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरी, झापाको इलाका प्रहरी कार्यालय दमक, मोरङको इलाका प्रहरी कार्यालय पथरी र जिल्ला प्रहरी कार्यालय मोरङबाट उनीविरुद्ध यसअघि मुद्दा चलिसकेको डिएसपी जोशीले जानकारी दिए ।

उनका अनुसार यसअघि ३ पटक लागूऔषध ऐन र एक पटक अभद्र व्यवहारअन्तर्गतको मुद्दा चलेको रेकर्ड छ । ‘यसअघि ४ पटक मुद्दा चलिरहेको रहेछ । अहिले पाँचौँ पटक मुद्दा चलाउन अनुसन्धान जारी रहेका बेला बिरामी परेर श्रेष्ठको मृत्यु भयो’–डिएसपी जोशीले भने । पछिल्लो पटक विराटनगरमै साइकल चोरी गर्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको थियो । साइकल चोरी गर्न खोजेको देखेर साइकलका धनी पुग्दा हातपात र दुव्र्यवहार गरेको भनेर किटानी जाहेरी परेपछि पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको प्रहरीको भनाइ छ ।