भद्रपुर । सीमावर्ती भद्रपुरमा प्रतिबन्धित भारतीय चिठ्ठा खुलेआम बिक्री गरिरहेको अवस्थामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का ४२ वर्षीय रणजितकुमार यादव रहेका छन् । उनले भारतबाट चिठ्ठा खरिद गरी नेपालमा ल्याई बिक्री गर्दै आएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान १० बजे भारतीय चिठ्ठा खुलेआम बिक्री गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चिठ्ठा खरिद गर्नेहरूको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । उनलाई पक्राउ परेकै दिन अदालतबाट पाँच दिन म्याद थप गरी अभद्र व्यवहारमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । चिठ्ठाको विषयलाई लिएर विवाद बढेपछि हाल अभद्रमा मुद्दा दर्ता गरेको र अनुसन्धानबाट खुलेपछि अर्को मुद्दा दर्ता हुने उनले जनाए ।

दैनिक भारतबाट चिठ्ठा ल्याएर झापाका सीमावर्ती क्षेत्रमा चिठ्ठाको बिगबिगी बढ्दा पनि यसको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीले सक्रियता नदेखाएपछि जिल्ला प्रहरी र जिल्ला प्रशासनले केही हप्ताअघि आयोजना गरेको सार्वजनिक सुनुवाइमा सो बारे व्यापक गुनासो आएको थियो । प्रहरीकै अगाडि कारोबारीले खुलेआम सर्वसाधारणलाई चिठ्ठा बिक्री गर्दा पनि प्रहरीले नदेखेको जस्तो गरेको सहभागीले बताएका थिए । चिठ्ठाको लतमा लागेर भद्रपुर, चन्द्रगढीलगायतका उद्योगी, व्यापारी, सुन तथा भाँडाकुँडा व्यवसायी डुबेको सार्वजनिक भएको थियो । 

सीमावर्ती नाका भद्रपुरको मुख्य बजार, पुरानो नगरपालिका कार्यालय नजिक, भन्सारछेउ सिटी सफारी स्टेण्ड, पुरानो हुलाक कार्यालय, हिमालय बैङ्कछेउ, चन्द्रगढी, बिर्तामोडस्थित भद्रपुर रोडको बस स्टेण्ड, धुलाबारीको पुरानो हङ्कङ बजार, काँकडभिट्टाको बसपार्क, सुपाडी लाइन, भट्टराई चोक, बाहुनडाँगी रोड, भन्सार कार्यालय र इप्रका पछाडि, ट्याक्सी पार्क छेउछाउ, सतिघट्टा रोडलगायतका ठाउँहरूमा चिठ्ठा बिक्री हुने गरेकोे कुरा उठेपछि प्रहरी प्रशासनले चासो देखाएको थियो । चिठ्ठामा १ करोड भारतीय रुपैयाँ पर्ने भन्दै गिरोहले बिहान, दिउँसो र बेलुकाको समयको चिठ्ठा बेच्ने गरेका छन् । 

भारतीय बजारमा छ्यापछ्याप्ती पाउने चिठ्ठा नेपालका कारोबारीले गोजीमा झोलामा र पसल–पसलमा राखेर बेच्ने गर्छन् । चिठ्ठा (लोट्री) पर्ने भन्दै सुन व्यवसायी, भाँडा व्यापारीलगायत सीमावर्ती क्षेत्रका स्थानीयवासीलाई चिठ्ठा खरिद गर्न लगाई दैनिक भारतीय पाँचलाख रुपैयाँ सङ्कलन हुने गरेको खरिदकर्ताको भनाइ छ । यो उनीहरूको दैनिकी नै बनेको छ । भारतको बङ्गाल राज्यको उत्तरी क्षेत्रमा सञ्चालित मिजोराम स्टेट लट्रिज र नागाल्यान्ड स्टेट लट्रिज  भारतमा सो चिठ्ठा दिनमा ३ समय खेलाउने गरिएको छ । बिहान ११ बजे दिउँसो ३ बजे र साँझ ७ः३० बजे  खोलिने चिठ्ठामा लत बसेका सयौँ व्यक्तिलाई नसा लगाइसकेको छ । दैनिक सञ्चालित एक करोड लेखिएको चिठ्ठामा ‘ए, बी, सी, डी’ लगायतको अक्षर लेखिएको हुन्छ कम्पनीले चिठ्ठा खरिदकर्ताको मोबाइलमा कुन अक्षर रोज्ने हो सोको जानकारी पठाइदिने गरेको हुन्छ । चिठ्ठाको नतिजाको जानकारी वेबसाइटमा दिने गरेको छ  । 

भारतको पश्चिम बङ्गाल, सिक्किम, नागाल्यान्डका प्रतिबन्धित चिठ्ठाहरू झापाको सीमावर्ती नाकामा बिक्री भइरहेको छ । नेपाल–भारतको सीमा नाका सिलीगुडी, नक्सलबारी र पानीट्याङ्कीबाट दिनहुँ आउने चिठ्ठा भारतीय तथा नेपाली कारोबारीको सेटिङमा बिक्री वितरण हुँदै आइरहेको छ । भारतबाट दैनिक ज्याला मजदुरीमा नेपाल आउनेदेखि कवाडीका सामान खोज्न आउने, लागूऔषध बिक्री गर्न आउने, पोके तस्करीमा संलग्न हुने लगायतले भारतीय चिठ्ठा नेपाल भिœयाउने र यहाँका केही दलालहरूले खरिद गरी समूह बनाएर वा एक्लै दैनिक तीन समयकै चिठ्ठा खेल्ने गरेको प्रहरीले जनाएको छ । 

पहिला ५ लाख पर्ने चिठ्ठा १०, २५, ५० हुँदै अहिले एक करोड पुगेको चिठ्ठामा लत बसेकाहरू बताउँछन् । चिठ्ठा ऐन, २०२५ को दफा २ मा नेपाल सरकारको अनुमति दिएकोमा बाहेक कसैले चिठ्ठाको खरिद बिक्री गर्ने काम गर्न वा गराउन पाउँदैनन् । कुनै चिठ्ठा खोल्न, छाप्न वा प्रकाशित गर्न, कुनै चिठ्ठा बिक्री वितरण गर्ने वा बिक्री वितरण वा विज्ञापनको लागि दिने, कुनै चिठ्ठासम्बन्धी विज्ञापन छाप्ने, प्रकाशित वा बिक्री वितरण गर्ने वा सो कामको लागि आपूm साथ राख्ने, नेपाल सरकारले तोकी दिएकोमा बाहेक विदेशी मुलुकबाट कुनै चिठ्ठा वा त्यस्तो विज्ञापन नेपाल अधिराज्यभित्र बिक्री वितरणको लागि ल्याउने वा झिकाउने वा बिक्री वितरण गर्ने वा त्यसरी ल्याई बिक्री वितरण भएको चिठ्ठाबाट प्राप्त भएको आम्दानी वा त्यस्तो चिठ्ठाको बिक्री वितरणसम्बन्धी कुनै लगत नेपाल अधिराज्य बाहिर पठाउने वा चिठ्ठासम्बन्धी काम गर्नको लागि कुनै घरजग्गा प्रयोग गर्ने वा प्रयोगमा दिनेलाई निजको बिगो जफत भई बिगो बमोजिम जरिबाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुनेछ भन्ने चिठ्ठा ऐनमा प्रष्ट व्यवस्था छ ।