विराटनगर । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी गाउँपालिकाको नयाँ बजारदेखि हाटखोला खण्डको निर्माण कार्य ६ वर्षसम्ममा पनि सम्पन्न नभएपछि चौतर्फी आक्रोश बढेको छ । 

दुई वर्षमा सक्नुपर्ने ६ किलोमिटर सडकको निर्माण ६ वर्षमा २७ प्रतिशत मात्रै सम्पन्न भएपछि यसले सरकारी संयन्त्र, ठेकेदारीप्रथा र राजनीतिक शक्तिको चरम् लापरबाहीलाई उदाङ्गो पारेको छ । निर्माण कम्पनीको अक्षमता र सरकारी निकायको मौनताका कारण आजित भएका स्थानीय बासिन्दाको पीडा अब प्रदेश सभामा समेत गुञ्जिएको छ । नेपाली काङ्ग्रेस कोशी प्रदेशका सांसद् भीम पराजुलीले यो सडक–खण्डको निर्माण तत्काल अघि नबढाए प्रदेश सभामुनि आमरण अनशन बस्ने चेतावनी दिए । आइतबार कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसद् पराजुलीले सरकार र ठेकेदारको मिलेमतोप्रति उनले सन्तुष्टि व्यक्त गरे ।

“सरकारभन्दा बलिया ठेकेदार हुन् कि के कति कारणले बाटो बनिरहेको छैन ?” उनले प्रश्न गरे, “यदि ठेकेदारले बनाउन सक्दैन भने उसलाई कालो सूचीमा राखेर नयाँ प्रक्रियाबाट जानुपर्छ भन्दा पनि सुनुवाइ भएको छैन । किन यस्तो भइरहेको छ ?” उनले सडक निर्माणका लागि प्रदेश सरकारले सङ्घीय सरकारको काम भनेर पन्छिन नमिल्ने बताउँदै ठोस कदम चाल्न आग्रह गरे । पराजुलीले भने, “यो द्रुत गतिमा बन्नुपर्छ, बनेन भने हामीले हिजो रिले अनसन ग¥यौँ; अब म प्रदेशसभा अगाडि आमरण अनशन बस्ने जानकारी गराउँछु ।” राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत मोरङ खण्डमा पर्ने ४४ किलोमिटर सडकमध्ये अन्य क्षेत्रको काम लगभग पूरा भए पनि विराटनगरको हाटखोलादेखि रामचोकसम्मको करिब ६ किलोमिटर खण्डको काम कछुवा गतिमा छ । यो खण्ड निर्माणको ठेक्का २०७६ सालमा श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. काठमाडौँले ७७ करोड रुपैयाँमा लिएको थियो । मुख्य ठेकेदार श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीका मानिसहरू फिल्डमा नदेखिए पनि पेटी ठेकेदार भूपाल श्रेष्ठ देखिँदै आएका छन् । 

स्थानीयका अनुसार उनले पनि काम अलपत्र पारेर भागेपछि उनको ठाउँमा अभिषेक गिरी आएका छन् । मुख्य ठेकेदारको अनुपस्थिति र पेटी ठेकेदारको बारम्बारको परिवर्तनले आयोजनाको भविष्यलाई नै अन्धकार बनाएको स्थानीय बताउँछन् । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका अनुसार पटक–पटक म्याद थप भए पनि कामले गति लिन सकेको छैन र फेरि म्याद थप गर्ने तयारी भइरहेको छ । यस ढिलासुस्तीका कारण जिल्ला प्रशासन मोरङमा हालै एक सर्वदलीय बैठक बसेको थियो । मोरङ क्षेत्र नं. ४ का सङ्घीय सांसद् अमनलाल मोदी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरूको उपस्थितिमा बसेको बैठकले श्रेष्ठ कन्स्ट्रक्सनको ठेक्का रद्द गर्न र कम्पनीलाई कालो सूचीमा राख्न सङ्घीय सडक विभागलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

सडक निर्माण अलपत्र पर्दा सबैभन्दा ठूलो मार स्थानीय बासिन्दाले खेप्नुपरेको छ । वर्षायाममा सडक हिलाम्मे भएर पोखरीमा परिणत हुन्छ भने घाम लाग्दा धुलोले सिङ्गो बस्ती नै ढाकिन्छ । पैदल हिँड्नसमेत नसकिने यो सडकमा सवारी साधन चलाउनु जोखिमपूर्ण बनेको छ । सडक विस्तारका लागि भत्काइएको कालोपत्रे र बीच सडकमा गाडिएका बिजुलीका पोलहरूले दुर्घटनाको जोखिम बढाएको छ । सरकारी निकाय र ठेकेदारको उपेक्षाबाट आजित भएपछि केही दिनअघि कटहरी गाउँपालिकाका स्थानीय महिलाहरूले सडकमै धान रोपेर साङ्केतिक विरोध प्रदर्शन गरेका थिए । वर्षौंदेखिको सास्ती सहन नसकेपछि उनीहरूले हिलाम्मे सडकलाई खेतको रूपमा प्रयोग गर्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । “भइरहेको कालोपत्रे सडक भत्काएर नयाँ नबनाउने ठेकेदारलाई कडा कारबाही हुनुपर्छ”–कटहरीका स्थानीय महिला लक्ष्मीदेवी साहले आक्रोश पोखिन् । यसअघि पनि स्थानीयले धर्ना र चरणबद्ध आन्दोलन गरेका थिए तर त्यसको कुनै सुनुवाइ भएन ।