विराटनगर ।  मोरङको पथरीशनिश्चरेमा अवस्थित रेडस्टार अंग्रेजी आवासीय माध्यमिक विद्यालयले शैक्षिक उत्कृष्टताको अनुपम उदाहरण प्रस्तुत गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने आफ्ना विद्यार्थीहरूलाई विद्यालयले शुक्रबार एक भव्य तथा उत्साहपूर्ण समारोहबीच पुरस्कृत र सम्मान गरेको हो।

विद्यालयले आफ्ना दुई विद्यार्थीले व्यवस्थापन समूहमा नेपाल प्रथम (बोर्ड फस्ट) स्थान हासिल गरेको दाबीसमेत गरेको छ, जसले गर्दा यो सफलता स्थानीय स्तरमा मात्र नभई राष्ट्रिय स्तरमै चर्चाको विषय बनेको छ।

समारोहमा दिइएको जानकारीअनुसार, २०८२ वैशाखमा सञ्चालित परीक्षामा व्यवस्थापन समूहमा अध्ययनरत विद्यार्थीहरू चन्दन साह र प्रविण कट्टेलले समान ३।९६ जीपीए प्राप्त गरेका छन्। यो नतिजा राष्ट्रिय स्तरमै सर्वोत्कृष्ट भएको विद्यालयको दाबी छ। उनीहरूको यो ऐतिहासिक सफलताको कदर गर्दै विद्यालयले दुवै जनालाई जनही ५० हजार रुपैयाँ नगद राशिसहित सम्मान गरेको हो।

त्यसैगरी, सोही परीक्षामा समान ३।९२ जीपीए ल्याएर उत्तीर्ण हुने अर्का दुई प्रतिभाशाली विद्यार्थी मनिषा पोखरेल र प्रमिस रिजाललाई पनि विद्यालयले जनही २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ। विद्यालयका प्रिन्सिपल टीएन तिम्सिनाका अनुसार, मनिषा र प्रमिसले ल्याएको जीपीए पनि पथरीशनिश्चरे नगरकै उच्च हो।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्वापोले रेडस्टारको सफलताले नगरको शैक्षिक प्रतिष्ठा र गौरव बढाएको बताए ।  उनले भने , “विद्यालयको निरन्तरको लगनशीलता, शिक्षकहरूको मेहनत र विद्यार्थीहरूको कडा परिश्रमले आज पथरीशनिश्चरेको नाम राष्ट्रिय शैक्षिक मञ्चमा चम्किएको छ। यो हामी सबैका लागि गर्वको कुरा हो।” उनले विद्यार्थीहरूलाई हौसला प्रदान गर्दै भविष्यमा पनि यस्तै सफलताको यात्रा नरोक्न शुभकामना दिए । 

पुरस्कृत विद्यार्थी चन्दन साहले आफ्नो सफलतालाई एकपक्षीय नभई विद्यालय, अभिभावक र आफ्नो संयुक्त प्रयासको त्रिपक्षीय प्रतिफलको रूपमा व्याख्या गरे। उनले भने, “रेडस्टारले प्रदान गरेको गुणस्तरीय शैक्षिक वातावरण र शिक्षकहरूको निरन्तर मार्गदर्शन बिना यो सम्भव थिएन।”

त्यसैगरी, ३।९६ जीपीए ल्याएर अर्का नेपाल टपर बनेका प्रविण कट्टेलले रेडस्टार शैक्षिक हबको रूपमा स्थापित भइसकेको र त्यसको ज्वलन्त उदाहरण आफूहरू नै भएको बताए।

प्रिन्सिपल तिम्सिनाका अनुसार, यस वर्ष कक्षा १२ को परीक्षामा रेडस्टारबाट कुल २७० जना विद्यार्थी सहभागी भएका थिए, जसमा विद्यालयले ९७।०४ प्रतिशतको उत्कृष्ट उत्तीर्ण दर हासिल गरेको छ। यो नतिजा पथरीशनिश्चरे नगरका विद्यालयहरूमध्ये सबैभन्दा बढी हो। उत्तीर्ण विद्यार्थीमध्ये ३।६० भन्दा माथि जीपीए ल्याउनेको संख्या २९ जना छ भने ३।२० भन्दा बढी जीपीए ल्याउने विद्यार्थीको संख्या १२७ जना रहेको छ।

रेडस्टारले विगतमा पनि शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा दिँदै आएको छ। गत वर्षको एसईई परीक्षामा यसै विद्यालयका अजय लिम्बू र सतिष आचार्यले जीपीए–४ ल्याएर विद्यालयको गरिमा बढाएका थिए। रेडस्टारसँगै रहेको ऋतम्भरा बहुमुखी क्याम्पसबाट बीबीएस परीक्षा दिएकी कृतिका भट्टराईले पनि ७६।८० प्रतिशत अंक ल्याएर उत्कृष्ट नतिजा हासिल गरेकी थिइन्। हाल विद्यालयमा करिब एक हजार छ सय विद्यार्थी अध्ययनरत छन्, जसले यसलाई पूर्वी नेपालकै एक प्रमुख शैक्षिक गन्तव्यको रूपमा स्थापित गरेको छ।