धरान । विगत वर्षहरूभन्दा यो वर्ष बोलबम हिँड्ने प्रवृत्तिमा केही परिवर्तन भएको छ । 

धरानस्थित पिण्डेश्वर मन्दिर परिसरमा जल चढाउने आउनेहरूको प्रवृत्तिमा परिवर्तन भएको पाइएको पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ । “यो वर्ष बोलबम आउनेहरूको ट्रेन्ड चेन्ज भएको देखिन्छ” बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले भने, “अरू बेला शनिबार र सोमबार भीड लाग्ने गरेको थियो । यसपटकदेखि अन्य बेला पनि आइरहेका छन् ।” उनका अनुसार सोमबार विशेषगरी तराईमूलका भक्तालुहरू आउने गरेका छन् भने अन्य बेलामा पहाडी मूलका भक्तालुहरू जल चढाउने गरेका छन् । 

“सोमबार नै भनेर आउनेहरू तराई मूलका धेरै हुने गरेका छन्” उनले भने, “अन्य क्षेत्रका जुनसुकै बेला आउँछन् ।” अहिले आउने भक्तालुहरू हिँडेरभन्दा पनि गाडी, मोटरसाइकल तथा अन्य सवारी साधनमा आउने गरेको उनले सुनाए । “सवारीमा आउने भएकाले पनि ट्रेन्ड चेन्ज भएको होला”–उनले भने । झापाबाट धरानको पिण्डेश्वर मन्दिरमा जल चढाउनका लागि आइपुगेकी ५३ वर्षीया देवीमाया थापाले भनिन्, “सोमबार भीड हुन्छ । जल चढाउन धेरै समय कुर्नु पर्छ । आखिर भगवान्लाई साउन महिनामा जुन दिन चढाए पनि त भैगो नि !”

साउन महिना शिवको विशेष महिनाको रूपमा लिइन्छ । सोमबारका दिन जल चढाएमा भगवान् शिव खुसी हुने र इच्छाएको कुरा पूरा हुने भएकाले जल चढाउने परम्परा बसेको छ । पिण्डेश्वरमा २०३९ सालदेखि बोलबममा जल चढाउन थालिएको हो । यसको सुरुवात मारवाडी समुदायबाट हुँदै आएको थियो । तर, पछिल्लो समय पिण्डेश्वरमा जल चढाउनका लागि नेपालका तराई क्षेत्रदेखि पूर्वोत्तर भारतदेखि भारतका अन्य क्षेत्रबाट पनि आउने गरेका छन् । रुद्राक्षरण्य क्षेत्रको रूपमा चिनिने पिण्डेश्वर मन्दिरमा साउनभरि करिब ३ लाख भक्तजनहरूले जल चढाउने गरेका छन् । 

यस वर्षदेखि पिण्डेश्वर बाबाधाम समितिले जल चढाउन आउनेको बहुमूल्य सामग्रीहरू सुरक्षितसाथ राखिदिने व्यवस्था गरिएको छ । समितिका अध्यक्ष बनेपालीले भने, “हामीले यो वर्षबाट लकरको सुविधा दिएका छौँ । भक्तालुहरूको सुविधालाई मध्यनजर गर्दै यो व्यवस्था गरेका हौँ ।” विगत वर्षहरू झैँ यो वर्ष पनि ज्येष्ठ नागरिक, अपाङ, असहाय, बालबालिकासहित आएका अभिभावकहरूलाई छुट्टै लाइन राखेर जल चढाउने सुविधा दिइएको छ । जल चढाउनका लागि जुनसुकै समयमा पनि मन्दिर खुला गरिदिने गरिएको छ ।