धरान । मादक पदार्थ सेवन (मापसे) गरी आफ्नै साथीलाई एक युवाले बियरको बोतलले आक्रमण गरी घाइते बनाएका छन् ।
आइतबार बिहानको राति करिब २ बजेतिर सुनसरीको इटहरी उपमहानगरपालिका–५ हलगडामा मापसे गरी एक–अर्काबीच विवाद हुँदा मोरङ पथरीशनिश्चरे नगरपालिका–६ का २० वर्षीय बिराज खत्रीले आफ्नै साथीलाई आक्रमण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार वादविवादको कारण नखुले पनि आफ्नै साथी २० वर्षीय अर्पण पाण्डेलाई बियरको बोतल प्रहार गरेका थिए ।
आक्रमणबाट उनी घाइते भई तत्कालै हलगडास्थित सामुदायिक अस्पतालमा सामान्य उपचारपश्चात् धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । उनको अवस्था सामान्य रहे पनि हाल उपचाररत छन् । कुटपिटमा संलग्न विराजलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै सुनसरीको इनरुवा नगरपालिका–५ मा एकाघरका बुबाछोराहरूबीच विवाद हुँदा दुईजना घाइते भएको प्रहरीले जनाएको छ । बुबा ५५ वर्षीय मिश्रीलाल मण्डल, ३० वर्षीय छोरा दिपेन्द्र मण्डल र २५ वर्षीय अर्का छोरा लालचन मण्डलबीच विवाद भई कुटपिट भएको थियो । मिश्रीलाल र लालचन मिलेर दिपेन्द्रमाथि हातपात गरेका थिए ।
उक्त घटना छुट्याउन पुगेकी दिपेन्द्रको श्रीमती २६ वर्षीया उषादेवी मण्डल र छिमेकी ४८ वर्षीय सकललाल मण्डल घाइते भएका छन् । उषादेवीको पेटमा चोट लागेको छ भने छिमेकी सकललालको टाउको तथा बायाँ आँखाको डिलमा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको छ । कुटपिटमा संलग्न मिश्रीलाल र लालचनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरायसी विवादका कारण झगडा हुन पुगेको बताउँदै नियन्त्रणमा लिएका दुवैमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।