nabaraj-dhakalधरान / घटना नम्बर एक : साउन १५ मा पुरानो रिसिइवीको कारण धरान(१४ का चुचु दिपक भनिने दिवाकर राईलाई फिल्मीशैलीमा युवाहरु आएर कुखुरी प्रहार गरी हत्या ।

घटना नम्बर दुईः कात्तिक १२ गते हाउजी खेलेर फर्किने क्रममा निरजिन साही, रामप्यारी गजुरेल र अमित तामाङमाथि खुकुरी प्रहार गरी घाइते ।

घटना नम्बर तीन : कात्तिक १८ गते धरान १३ का रोजन ताम्राकारलाई छुरा प्रहार गरी हत्या ।

घटना नम्बर चार: मंसिर ५ गते सनम ढकालमाथि छुरा प्रहार गरी घाइते ।

चालु आर्थिक वर्षमा भएका चार प्रतिनिधि घटनाले धरानमा श्रृङ्खलाबद्ध कट्टी आतङ्क भएको पुष्टी गर्न काफी हुन्छ । कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको परिभाषामा पर्ने यस्ता घटना पछिल्लो समय बढेको कुरालाई प्रहरीसमेत नर्कादैनन् ।

‘घटना बेसलाई नियाल्ने हो भने कात्तिकयता श्रृङ्खलाबद्ध खुकुरी, चुप्पी प्रहारका घटना बढेका छन् ।’ इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडा भन्छन् । इप्रकाकै तथ्याङ्कमा कर्तव्य ज्यान २ वटा पुगेका छन् भने १० वटा ज्यान मार्ने उद्योगका घटनाका मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा कर्तव्य ज्यान एउटा थियो भने ज्यान मार्ने उद्योग पनि एउटै दर्ता भएको छ ।

भदौंमा ज्यान मार्ने उद्योग ६ वटा भएको देखिन्छ भने असोजमा कुनै त्यस्ता अप्रिय घटना भएका देखिदैनन् । यता कात्तिकमा कर्तव्य ज्यान एउटा र ज्यान मार्ने उद्योग एउटा देखिन्छ । एवम् रितले अहिले मंसिर लागेपछि २ वटा घटना भइसकेका छन् । यसमा १६ देखि २५ वर्षका युवाहरु संलग्न छन् । लागूऔषधमा फसेका र बेरोजगारीका कारण यस्ता श्रृङ्खला हुने गरेको प्रहरी अधिकृतहरु बताउँछन् ।

धरान(१३ का रोजन ताम्राकारको हत्याको कारण लागूऔषध नै थियो । जसमा उनलाई ‘भाइ’ र त शब्दको कारणले हत्या गरिएको थियो । हत्यामा चारजना संलग्न थिए । चुचु दिपकको हत्याको कारण सानैदेखि हेपेको भन्दै रिस साधिएको थियो । कट्टी आतंकको श्रृङ्खला धरानमा निक्कै पुरानो हो । त्यसो त आर्थिक वर्ष २०७०÷०७१ मा कर्तव्य ज्यान ९ वटा भएको देखिन्छ भने ज्यान मार्ने उद्योग ११ वटा दर्ता भएको देखिन्छ ।

०७१÷०७२ मा ३ वटा कर्तव्य ज्यान र १४ वटा ज्यान मार्ने उद्योग दर्ता भएका थिए । त्यस्तै ०७२÷७३ मा ३ वटा कर्तव्य ज्यान र २२ वटा ज्यान मार्ने उद्योग दर्ता भएका थिए । ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानमा धारिलो हातहतियार नै प्रयोग हुने गरेको प्रहरीको निश्कर्ष छ । चालु आर्थिक वर्षका सुरुका महिना छाडेर अध्ययन गर्ने हो भने गएको कात्तिक महिना र मंसिर महिना खुकुरी र चुप्पी आतङ्क बढेको देखाउँछ । ‘अन्य महिनाको तुलनामा बढेको छ ।’ डिएसपी खतिवडा भन्छन् ।

अपराधिक घटनालाई तत्कालै नियन्त्रणमा ल्याउन नसक्नुका पछाडी जनशक्तिको अभावलाई प्रहरी अधिकृतले लिने गरेका छन् । अन्य इप्रकाको तुलनामा धरानमा जनशक्ति कम छन् । ‘अपराधलाई तत्कालै निराकरण गर्नको लागि जनशक्तिको अभाव छ ।’ डिएसपी खतिवडा भन्छन्, ‘कम्तीमा यो इप्रकाको लागि २८ जना जनशक्ति थप्नु पर्छ ।’ अहिले अपराधको अनुपात हेर्दा सबैभन्दा बढी धरान(८ मा भएको देखिन्छ । तर, जहाँ अस्थायी विटको नाममा ३ जना जनशक्तिले काम गरिरहनु परेको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा धरान ८ मा २४ वटा विभिन्न घटना भएका छन् । त्यसपछि धरान १५ मा १९ वटा, धरान १३ र १६ मा १४(१४ वटा, धरान १८ मा १२ वटा, धरान १७ र २१ मा ११(११ वटा घटना भएका छन् । जसमा धरान ५, २४, २५ मा हालसम्म एउटा पनि घटना भएको देखिदैन् ।

प्रहरीको काम गर्ने शैलीले पनि अपराध न्युनिकरण हुन्छः पूर्व एआइजिपी नवराज ढकाल

nabarajअपराध बढ्नुमा सामाजिक र ल एण्ड अर्डरको मूख्य भूमिका हुन्छ । सामाजिक अन्तर्गत ड्रग एडिक्सन बढेर अपराधिक कृयाकलाप बढिरहेको छ कि वेरोजगारीको कारणले भइरहेको छ । त्यस्ता कुराहरु गम्भिर रुपमा ध्यान दिनुपर्छ । अर्को बसाईसराईलेसमेत प्रभाव पार्छ । जसको लागि प्रहरी र प्रशासनले नै काम गर्नुपर्छ । यस्ता अपराधमा प्रहरीको नै पहिलो भूमिका रहन्छ । प्रहरीको काम गर्ने शैलीले पनि अपराधलाई बढाइरहेको हुन्छ ।

शैली परिवर्तन गर्नुपर्छ । जस्तो कुनै घटना भयो र त्यसमा संलग्न आरोपित वा अपराधीहरुलाई चाडो भन्दा चाडो पक्राउ गरेर अपराधिक गतिविधिमा संलग्न हुनेहरुलाई हतोत्साही बनाउन सकिन्छ । घटना घटाएपछि प्रहरी पक्रिहाल्छ भन्ने सन्देश जानुपर्छ । र, प्रहरीले समूदायसँगै काम गर्नुपर्छ । जनचेतना जगाउनको लागि स्कुलहरुसँग, गैरसरकारी संस्थाहरुसँग, नागरिक समाज, राजनीति पार्टीहरुसँग समन्वय गर्नुपर्छ । अपराधलाई नियन्त्रण गर्नको लागि समाज र समाजमा रहेका तप्काहरुसँग समन्वय गर्नुपर्छ । जसले गर्दा तत्काल घटना हुनुु अघि र वा पछि पनि प्रहरीलाई सूचना हुन्छ र घटना घट्नबाट रोकिन्छ । ल एण्ड अर्डरमा कानुनले तोके बमोजिमको कारबाही गर्ने तर्फ प्रहरी उद्दत हुनु पर्छ । त्यसले पनि अपराधिक मनोवृतिमाथि अंकुस लगाउँछ । त्यो तर्फ प्रहरी सधै सचेत हुनुपर्छ ।

(हालै अवकासप्राप्त एआइजिपी ढकालसँगको फोनवार्तामा आधारितं)