धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि १३ जनाले आवेदन दिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पद रिक्त रहेको थियो । उक्त पदका लागि मन्त्रालयले गठन गरेको उपकुलपतिका लागि नाम सिफारिस समितिले आवेदकको माग गरेको थियो । जसअन्तर्गत बीपी प्रतिष्ठान धरानमा हालका निवर्तमान उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित १३ जनाले आवेदन दिएका हुन् ।
मन्त्रालयले हालै आवेदकको नाम सार्वजनिक गरेको छ । बीपीको हकमा डा. ज्ञानेन्द्र गिरीसहित डा. रमेशराज कोइराला, डा. रोशन पोखरेल, डा. लक्ष्मीनारायण सिंह, प्रा.डा. विष्णुप्रसाद शर्मा, प्रा.डा. गौरीशङ्कर साह, प्रा.डा. पशुपति चौधरी, प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, प्रा.डा. रोहितप्रसाद यादव, प्रा.डा. सङ्गीता सिंह भण्डारी, प्रा.डा. सञ्जीवकुमार शर्मा र प्रा.डा. कृष्णकुमार राई छन् ।
उपकुलपतिका लागि नाम सिफारिस समितिले मङ्गलबार सूची सार्वजनिक गरेको छ । गत बुधबार समितिले इच्छुक उम्मेदवारहरूलाई सात दिनभित्र आवेदन दिनका लागि माग गरेको थियो । समितिले बीपीसहित पाटन, पोखरा, कर्णालीको लागि माग गरेको थियो । जसमा कुल ५५ जनाले आवेदन दिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १७ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १५ जना र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १० जनाले आवेदन दिएका छन् ।
पोखराका लागि प्राडा अर्जुन आचार्य, डा प्रदीप घिमिरे, प्राडा. माया लामा, प्राडा. चण्डिका पण्डित, प्राडा. भरतबहादुर खत्री, प्राडा. राकेशकुमार वर्मा, प्राडा. राजेश अधिकारी, प्राडा. नारायणसिंह गुरुङ, प्राडा. प्रेमराज ज्ञवाली, प्राडा. विधाननिधि पौडेल, प्राडा इश्वर शर्मा कँडेल, प्राडा दिपकराज पौडेल, डा श्रीकृष्ण श्रेष्ठ, डा कालु शर्मा सुवेदी, प्राडा विष्णु प्रसाद शर्मा, डा रामेशराज कोइराला, र डा लक्ष्मी नारायण सिंह रहेका छन् ।
यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा श्रीजना श्रेष्ठ, प्राडा प्रहलाद कार्की, प्राडा संगीता भण्डारी, प्राडा गेहनाथ बराल, प्राडा बुद्धिप्रसाद पौडेल, प्राडा विष्णु प्रसाद शर्मा, प्राडा पन कुमार शर्मा, डा दीपक थापा मगर, डा दिपेन्द्ररमण सिंह र डा लक्ष्मी नारायण सिंह रहेका छन् ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा विजय अर्याल, प्राडा सेशनन्द सञ्जेल, डा उत्सव चापागाईं, प्राडा प्रमोदकुमार सर्राफ, डा पवजजंग रायमाझी, डा पुजन रोकाया, प्राडा सूर्यमान मेन्याङ्बो, डा एलिजा श्रेष्ठ, डा डबलबहादुर धामी, डा कालु शर्मा सुवेदी, डा विष्णु प्रसाद शर्मा, डा प्रमोद यादव, प्राडा श्रीकृष्ण गिरी, डा लक्ष्मीनारायण सिंह र डा अरुणकुमार सिंह रहेका छन् ।
डा. अरुणकुमार सिंह धरानस्थित बीपी प्रतिष्ठानका चिकित्सक हुन् । उनी बालरोग विशेषज्ञ हुन् । उनले भने, “मैले कर्णाली स्वास्थ्य विज्ञानका लागि उपकुलपतिमा आवेदन दिएको थिएँ । समितिले हिजो नाम सार्वजनिक गरेको रहेछ ।” धरानमा लामो समयदेखि कार्यरत सिंहले बालबालिकाको डाक्टर साथी नामक पुस्तक पनि लेखेका छन् ।