भद्रपुर । अमेरिकाबाट भुटान डिपोर्ट भएर भारत हुँदै नेपाल प्रवेश गर्दा तीन महिनाअघि झापामा पक्राउ परेका चार व्यक्तिलाई जरिबाना गराउने निर्णय भएको छ ।
अध्यागमन कानून उल्लङ्घन गरेको आरोपमा जरिबानासँगै कागजात पेश गरे भुटान निष्कासन गर्ने निर्णय भएको अध्यागमन विभागका प्रमुख गोविन्द रिजालले बताए । यद्यपि, भुटानको राहदानी वा यात्रा कागजात पेश नगरेसम्म तोकिएको स्थान हदभित्र रहनेगरी नेपालमै बस्न दिनेसमेत निर्णय भएको उनले जानकारी दिए । भारत हुँदै झापा आइपुगेका आशिष सुवेदी, सन्तोष दर्जी, रोशन तामाङ र अशोक गुरुङलाई २०८१ चैत १५ गते जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको थियो । प्रहरीले विनाकागजात आएको आरोपमा पक्राउ गरेर उनीहरूलाई अध्यागमन कार्यालय काँकडभिट्टा मेचीनगरमा बुझाएको थियो ।
आशिषका बुबा नारायणकुमार सुवेदीका अनुसार उनीहरूलाई अमेरिकाबाट डिपोर्ट गरेर नयाँ दिल्ली हुँदै भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलसम्म पु¥याइएको थियो । विमानस्थलमा उनीहरूको सबै कागजात जफत गरेका भुटानी अधिकारीहरूले २४ घण्टाभित्रै उनीहरूलाई भारतसँगको सीमा फुन्सोलिङमा छाडिदिएको थियो । त्यसपछि ३० हजार रुपैयाँसहित उनीहरूलाई भारत हुँदै नेपाल जान भन्दै ट्याक्सी चढाइएको थियो । त्यसपछि काँकडभिट्टा नाका हुँदै उनीहरू नेपाल प्रवेश गरेका थिए । झापामा पक्राउ परेपछि आशिषका बुबा नारायणले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदनसमेत दिएका थिए ।
निवेदनमाथि सुनुवाइ गर्दै अदालतले वैशाख १२ गते चारैजनालाई थुनामुक्त गर्ने आदेश दिएको थियो भने उनीहरूलाई स्थान हद तोकेर प्रहरी कार्यालयबाट स्थानान्तरण गर्न र ६० दिनभित्र अनुसन्धान गर्न आदेश दिएको थियो । अध्यागमन ऐन २०४९ मा भएको व्यवस्थाअनुसार यो निर्णय गरिएको रिजालले बताए । जरिबानासमेत अधिकतम् ५० हजार गर्ने व्यवस्था रहेको उनले जनाए । सन् १९९० देखि भुटानबाट लखेटिएर आएका व्यक्तिहरू भारत हुँदै नेपाल प्रवेश गरेर झापा र मोरङमा बसेका थिए । सरकारी तथ्याङ्कअनुसार तेस्रो मुलुक पुनर्वासअघि यसरी आउनेको सङ्ख्या करिब एक लाख २० हजार पुगेको थियो ।
तीमध्ये सन् २०१८ सम्ममा एक लाख १३ हजार तीन सय ७ जना तेस्रो मुलुक पुनस्र्थापना भएका थिए । त्यही कार्यक्रमअन्तर्गत यी चारजनासमेत अमेरिका पुगेका थिए । तर, त्यहाँ उनीहरू प्रहरीको संलग्नता हुने विवादमा मुछिएपछि केही समय हिरासतमा राखेर डिपोर्ट गरिएको हो । विगतमा भुटानी शरणार्थीका रूपमा दर्ता भएका छ हजार पाँच सय ७७ जना अझै झापाको शरणार्थी शिविरमा छन् ।