विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) विराटनगर महानगर कार्यसमितिको आयोजनामा दुईदिने ‘प्रश्नपत्र निर्माण तथा मूल्याङ्कन कार्यशाला’ शनिबार सम्पन्न भएको छ ।

कक्षा ४ देखि १० सम्मका गणित शिक्षकहरू लक्षित गरी आयोजित कार्यशालामा ४६ भन्दा बढी विद्यालयका ६५ जनाभन्दा बढी शिक्षकहरू सहभागी थिए । गणितविज्ञ श्यामदत्त अधिकारीले सहजीकरण गरे । उनले गुणस्तरीय प्रश्नपत्र निर्माणका विधि, ब्लुम्स टेक्सोनोमीको प्रयोग, मूल्याङ्कन प्रक्रिया तथा उत्तरपुस्तिकाको मापन विधिबारे प्रशिक्षण प्रदान गरे । कार्यशालामा सहभागी शिक्षक सम्झना पौडेलले यो कार्यक्रममा आफूलाई नयाँ दृष्टिकोण मिलेको बताइन् ।

अर्का शिक्षक सुरेन्द्र दाहालले कार्यशालाले शिक्षकको कार्यकुशलता बढाउने मात्र नभई विद्यार्थीको सिकाइ स्तरमा पनि सुधार ल्याउने बताए । प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले भने, “शिक्षकमा दक्षता वृद्धि नभई शिक्षण प्रभावकारी हुँदैन । त्यसैले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ ।”

कार्यक्रम संयोजक तथा प्याब्सन विराटनगरका उपाध्यक्ष अशोक लामाले असार महिनाभरि अनिवार्य तथा ऐच्छिक विषयका शिक्षकहरूका लागि क्रमशः यस्ता कार्यशालाहरू सञ्चालन गरिने जानकारी गराए ।