इजरायल र इरानबीचको बढ्दो तनाव र युद्धको स्थितिले अहिले विश्वभर चिन्ता र त्रास फैलाएको छ । विशेषगरी इजरायलमा कार्यरत विदेशी श्रमिकहरु, जसमा उल्लेख्य सङ्ख्या नेपालीहरुको पनि छ, उनीहरुको सुरक्षा र उद्धारका लागि नेपाल सरकारको पहलकदमी तत्काल हुन जरूरी छ । करिब १२ हजारभन्दा बढीको सङ्ख्यामा नेपाली श्रमिकहरु विभिन्न क्षेत्रहरुमा इजरायलमा कार्यरत छन् —जसमध्ये धेरैजसो वृद्ध तथा दीर्घरोगीहरुको हेरचाह गर्ने ‘केयरगिभर’ का रुपमा कार्यरत छन् ।
युद्धको सम्भाव्यताले ती श्रमिकहरु गम्भीर जोखिममा पर्न सक्ने सम्भावना बढेर गएको छ । इजरायल विगत केही महिनादेखि हमास र अब इरानस“गको द्वन्द्वमा सक्रियरुपमा संलग्न छ । पछिल्लो समय इरानले मिसाइल आक्रमण गर्न थालेपछिको युद्धको अवस्था झन् चर्केर गएको मात्रै छैन, इरानमाथि अमेरिकी आक्रमण थपिनुले विश्व युद्धको त्रासदीसमेत बढेर गएको छ । यस्तो अवस्थामा आफ्ना नागरिकलाई यथासम्भव चा“डो नेपाल फर्काउन जरूरी छ, अन्यथा समय ढिलो भइसकेको हुनेछ । यस्तो स्थितिमा नेपाली श्रमिकको जीवन रक्षाका लागि नेपाल सरकारले तत्काल कदम चाल्नका लागि कूटनीतिक पहल सुरू गरिहालोस् ।
सन् २०२३ मा इजरायलमा रकेट आक्रमण हु“दा एक नेपाली विद्यार्थीको मृत्यु भएको थियो । त्यो घटनाले सरकारको ढिलासुस्ती र अग्रसरताको अभावलाई उजागर गरेको थियो । आज पुनः त्यही त्रुटि दोहोरिनु हुँदैन । सरकारले इजरायलस्थित नेपाली दूतावासमार्फत् नेपाली श्रमिकहरुको यथास्थिति बुझेर सुरक्षित उद्धारका लागि ठोस कार्ययोजना बनाउनु पर्छ ।
इजरायलले नेपालसँग द्विपक्षीय श्रम सम्झौता गरेको भए पनि युद्धका बेला त्यो सम्झौताभन्दा मानवीय सुरक्षा महत्वपूर्ण हुन्छ । अन्तर्राष्ट्रिय कानूनअनुसार आपतकालीन स्थितिमा श्रमिकको उद्धार गरिनु उनीहरुको मानवअधिकारको सम्मान पनि हो । श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपाली दूतावासबीच तत्काल समन्वय गरेर, इजरायलमा रहेका नेपालीहरुको नाम, स्थान र अवस्था सङ्कलन गरेर, सुरक्षा खतरा भएका क्षेत्रबाट उनीहरुलाई प्राथमिकतामा उद्धार गर्नुपर्छ । इरान–इजरायल युद्ध झन् त्रासदीपूर्ण हुने सम्भावना बढिरहेको छ, यसैले सरकार गम्भीर होस्, चाँडो निर्णय गरोस् र आफ्ना नागरिकलाई सुरक्षित ल्याउने राष्ट्रको जिम्मेवारी पूरा गरोस् ।
इरान र इजरायलबीचको चर्किएको तनावले केवल मध्यपूर्व मात्र होइन, ४० वटा मुस्लिम देशले इरानलाई समर्थन गर्नु र अमेरिकाको युद्ध उन्मादले विश्वभर नै अस्थिरता ल्याइसकेको सन्दर्भमा अन्तर्राष्ट्रिय कूटनीति, रक्षा रणनीति र मानवीय सङ्कटले नेपालजस्तो विकासोन्मुख राष्ट्रका लागि यो अझ संवेदनशील बनाउ“दै लैजाने हुन्छ र त्यस युद्धक्षेत्रमा हजारौं नेपाली श्रमिकको ज्यान जोखिममा हुन्छ । जोखिमयुक्त क्षेत्रका नेपाली श्रमिकहरुलाई प्राथमिकतामा राखेर उद्धार गर्न विशेष उडानको व्यवस्था गरिनुपर्छ । इरान—इजरायल मात्र होइन, सम्पूर्ण मध्यपूर्व सङ्कटमा पर्न सक्ने भएकाले नेपालजस्ता श्रमिक आपूर्तिकर्ता मुलुकहरुलाई रेमिट्यान्समा असर पर्छ भनेर चुप लागेर बस्ने अवस्था ठीक हैन । इजरायलबाट आउने रेमिट्यान्स नेपालको अर्थतन्त्रको एउटा हिस्सा बनेको भए पनि श्रमिकको ज्यानभन्दा त्यो कुनै हालतमा महत्वपूर्ण हुन सक्दैन । देशले आफ्ना नागरिकलाई युद्ध मैदानमा छोडेर चुप लागेर बस्न मिल्दैन ।