धरान । पछिल्लो समय तराईका जिल्लामा ह्वात्तै गर्मी बढ्दा पूर्वको पर्यटकीय ग्राम भेडेटारमा भीड बढ्यो । गर्मी चर्किएसँगै पूर्वी पहाडको शीतल गन्तव्य भेडेटार फेरि आन्तरिक पर्यटकको रोजाइमा प¥यो । 

विशेष गरी जेठ महिनाको अन्तिम सातादेखि आन्तरिक पर्यटकको उल्लेखनीय चहलपहल देखिएको स्थानीय बताउँछन् । जेठको अन्तिम साता भेडेटार आन्तरिक पर्यटकहरूले भरिभराउ भएको सुनसरी उद्योग वाणिज्य सङ्घका सदस्य उपेन्द्र चाम्लिङले बताए । 

‘जेठ मसान्त र असार १–२ गतेको बीचमा भेडेटारमा आन्तरिक पर्यटकहरूको भीड बढेको थियो । निजी चारचक्के सवारी र मोटरसाइकलले ट्राफिकलाई सडक व्यवस्थापन गर्न नै हम्मे थियो’–शीतल ताप्न साथीहरूसँग भेडेटार पुगेका चाम्लिङले भने । 

सप्तरी, सुनसरी, मोरङ, झापालगायतका जिल्लाबाट सयौंको सङ्ख्यामा पर्यटकहरू भेडेटार पुग्न थालेका छन् । विराटनगरको जोगवनी नाका हुँदै भारतीय पर्यटकहरूको पनि भेडेटारमा उत्तिकै भीड हुने गरेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बताए । 

भेडेटार, जो धनकुटा र धरानको सङ्गमस्थल हो, केही वर्षयता गर्मी मौसममा ‘सिटी स्केप’ बाट ‘हिल स्टेसन ब्रेक’ लिने गन्तव्यको रूपमा विकास हुँदै आएको छ । यहाँको हरियाली, चिसो हावा, खुल्ला भ्यू–प्वाइन्ट र होटल–होम–स्टेहरूको सहजता यसमा थप आकर्षण हो । छिनछिनमा मौसम बदलिने र समुद्र सतहबाट थोरै उचाइमै उच्च हिमाली क्षेत्रजस्तै चिसो मौसम हुने यहाँको विशेषता हो । 

साँगुरीगढी गाउँपालिकाका अध्यक्ष राई भन्छन्, ‘भेडेटारमा हरेक वर्ष जस्तो गर्मीयाममा पर्यटकको चाप बढ्ने गर्छ, तर यो वर्ष पहिलेभन्दा उल्लेखनीयरूपमा बढेको छ । पर्यटकलाई लक्षित गर्दै सफाइ, पार्किङ व्यवस्थापन र सूचना केन्द्रलाई सशक्त बनाउँदै लगिएको छ ।’

भेडेटार बजार क्षेत्रमा करिब एक सयबढी होटल, रेष्टुरेन्ट तथा होम–स्टेहरू सञ्चालनमा छन् । भेडेटार, नाम्जे र नमस्ते झर्नासमेतमा गरी करिब अढाई सय सामान्यदेखि सुविधासम्पन्न होटलहरू रहेको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए । उनका अनुसार पछिल्लो समय भेडेटार र नाम्जे क्षेत्रमा बास बस्नेहरूको सङ्ख्या बढेको छ । झन् विराटनगर, इटहरी र धरानबाट बेलुका आएर बिहान जानेहरू पनि उत्तिकै भेटिन्छन् । चिसो ठाउँमा बास बसेर उनीहरू आफ्नो गन्तव्य र काममा लाग्ने गरेको होटल व्यवसायीहरू बताउँछन् । 

होटल व्यवसायीहरूले गर्मी लक्षित प्याकेज अफर, सांस्कृतिक कार्यक्रम र स्थानीय परिकार प्रवद्र्धनमा जोड दिइरहेका छन् । यहाँ आउने पर्यटकलाई साँगुरीगढी दरबार, नाम्जे होम–स्टे, स्काइ वाकलगायत विविध गन्तव्य जोडेर समग्र अनुभव दिने गरिएको छ । 

भेडेटार पुग्नेहरूका लागि सबभन्दा ठूलो आकर्षण यहाँको स्काइ वाक र यहाँको चिसो मौसमको अनुभव हो । झट्ट हेर्दा भेडेटार ‘बादलकै टापु’ जस्तो लाग्ने गरेको यहाँ आउने पर्यटकहरू अनुभव सुनाउँछन् ।  

भेडेटार नजिकैको साँगुरीगढी, ऐतिहासिक दरबार क्षेत्र पनि अहिले आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ । त्यहाँको विकास योजना अन्तर्गत पदमार्ग, दृश्यावलोकन टावर, र ऐतिहासिकस्थल संरक्षणको काम अगाडि बढिरहेको छ ।

तराईको चर्को गर्मीबाट आक्रान्त बनेकाहरूका लागि भेडेटार एक शीतल आश्रयस्थल बनेको छ । यहाँको मौसम, प्राकृतिक सौन्दर्य र विस्तारै व्यावसायिक बन्दै गएको पर्यटन पूर्वी नेपालका लागि एउटा सम्भावनाले भरिएको गन्तव्य बन्ने दिशामा अग्रसर देखिएको छ । यही वर्ष कोशी प्रदेश सरकारले पर्यटन वर्षसमेत घोषणा गरेको छ ।