विराटनगर । विराटनगरस्थित सेन्ट जोसेफ स्कुलले होटल म्यानेजमेन्टमा गुणस्तरीय तथा व्यावसायिक शिक्षा प्रदान गर्दै आएको छ। केवल किताबी ज्ञानमा सीमित नभई व्यवहारिक शिप, उद्यमशीलता र समग्र व्यक्तित्व विकासलाई प्राथमिकता दिने शिक्षण प्रणालीका कारण यो स्कुल विद्यार्थी तथा अभिभावकहरूको रोजाइमा पर्न सफल भएको हो।

समयानुकूल शिक्षा प्रणालीमा व्यापक परिवर्तन भइरहेको वर्तमान अवस्थामा ‘शिक्षा, शिप र संस्कार’ भन्ने अवधारणाले गहिरो प्रभाव पारेको छ। परम्परागत किताबी पढाइ मात्र होइन, व्यवहारमा आधारित शिक्षा आवश्यक भएको सन्देश आजको शैक्षिक प्रवृत्तिले दिएको छ। यसै सन्दर्भमा सेन्ट जोसेफ स्कुलले सञ्चालन गरिरहेको होटल म्यानेजमेन्ट कार्यक्रमले विद्यार्थीहरूलाई व्यावसायिक भविष्य निर्माणतर्फ अग्रसर गराइरहेको छ।

स्कुलका होटल म्यानेजमेन्ट विभाग प्रमुख सुरेन्द्र मण्डलका अनुसार यो पाठ्यक्रम विद्यार्थीहरूबीच एक सम्भावनायुक्त, व्यावसायिक र लोकप्रिय विकल्पको रूपमा स्थापित हुँदै गएको छ। मण्डल स्वयंले विराटनगरबाट स्नातक तहको अध्ययन पूरा गरेका छन् भने, लन्डन र युकेका प्रतिष्ठित विश्वविद्यालयहरूबाट मास्टर डिग्री प्राप्त गरेका छन्।

अन्तर्राष्ट्रिय स्तरमा होटल व्यवस्थापन क्षेत्रमा ६ वर्षभन्दा बढी समय कामको अनुभव हासिल गरेका मण्डलले नेपालमा नै यो क्षेत्रमा उच्च सम्भावना रहेको बताए। ‘होटल म्यानेजमेन्ट केवल अध्ययन गर्ने विषय मात्र होइन, जीवनमा आवश्यक पर्ने विभिन्न सीप सिकाउने बहुआयामिक प्लेटफर्म हो,’ मण्डल भन्छन्, ‘विदेशमा रोजगारीका प्रशस्त अवसर छन् भने नेपालमै पनि आफ्नै व्यवसाय सञ्चालन गर्न सकिने सम्भावना प्रचुर छ।’

उनका अनुसार, यो कोर्सले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता, व्यवहारिकता, संयमता र रचनात्मक सोचको विकास गराउँछ, जसको प्रभाव केवल पेशागत जीवनमा होइन, व्यक्तिगत जीवनमा पनि देखिन्छ। होटल म्यानेजमेन्टसँग यात्रा, पर्यटन, आतिथ्य सेवा, खाना व्यवस्थापन र ग्राहक सेवा जस्ता विषयहरू प्रत्यक्ष रूपमा जोडिएका हुन्छन्, जसले गर्दा विद्यार्थी बहुआयामिक दक्षता हासिल गर्न सक्षम हुन्छन्।

यसरी हेर्दा, शिक्षाको आधुनिक प्रवृत्ति अब केवल किताबी ज्ञानमा सीमित नरही व्यवहारिक सीपमा आधारित हुँदै गएको स्पष्ट देखिन्छ। होटल म्यानेजमेन्ट जस्ता व्यावसायिक कोर्सहरूले विद्यार्थीहरूलाई समयानुकूल, प्रतिस्पर्धात्मक र सशक्त नागरिक बनाउने दिशामा महत्वपूर्ण भूमिका खेलिरहेका छन्। सेन्ट जोसेफ स्कुलले अपनाएको यो नवीन र समावेशी शिक्षण प्रणालीले विद्यार्थीहरूका लागि देश तथा विदेशमा सम्भावनाका ढोका खुला गरिदिएको छ।