राजविराज / योगगुरु रामदेवले मुलुककै प्रशिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा वलि प्रथा रोक्नुपर्ने सुझाव दिएका छन् । शक्तिपीठको दर्शन, योग र आगामी चैतमा हुने लक्षचण्डी महायज्ञको महत्वबारे सम्बोधन गर्न शनिवार सप्तरीको छिन्नमस्तामा आएका रामदेवले हिन्साद्वारा भगवान खुसी नहुने भन्दै वलिप्रथा रोक्न सुझाव दिएका हुन् ।
हिन्दु धर्मका कुनै पनि सास्त्रले भगवान खुसी पार्न पशुपंक्षिको वलि दिनुपर्छ भनेर नभनेको भन्दै उनले फुल, धुप, मिठाई लगायतको वस्तु चढाएर पनि भगवतीलाई खुसी पार्न सकिने वताए । ‘भगवान हिंसाद्वारा र रगत वगाएर खुसी हुँदैनन्, पवित्रता, प्रेम र स्वच्छ मनले उनलाई (भगवान) खुसी पार्न सकिन्छ’–उनले भने ।
धार्मिक हिसावले मात्र नभई स्वास्थ्य र पर्यावरणका हिसावले पनि पशुवली उचित नभएको भन्दै उनले केहि वर्षअघिसम्म वलि प्रदान गर्ने भारतका कतिपय ठाउँमा अहिले पशुवली पुर्ण रुपमा वन्द भएको उदाहरणसमेत प्रश्तुत गरे । ‘पशु भनेको मनभित्र रहेको अहंकार र घमण्ड हो, मानिसले त्यसलाई चै मार्नुपर्छ’ रामदेवले भने–‘तर, त्यसका नाममा जीव हत्या गर्नु धर्म होईन, हाम्रो हिन्दु मान्यता विपरीत हो ।’
उनले स्वस्थ रहन र आफुलाई सन्तुलित राख्न योग गर्नुपर्ने वताउँदै योगका केहि आसनको वारेमा चर्चा गरेका थिए । यसअघि आचार्य वालकृष्णले समेत आफुहरु वलि प्रथा रोक्न लागि परेको जानकारी दिदै सोहि क्रममा नेपालमै पनि कतिपय स्थानमा वलिप्रथा रोकिदै गएको वताएका थिए ।
सो क्रममा मन्दिरका पीठाधिस महाकान्त ठाकुरले समेत अवदेखि मासु नखाने प्रतिवद्धता जनाउँदै मन्दिरमा वलि प्रदान नहुने वातावरण वनाउन प्रयास गर्ने वताएका थिए । पीठाधिस ठाकुरले मासु नखाने प्रतिज्ञा गरेपछि एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले १ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेका थिए भने पतञ्जली योग पीठले रुद्रचण्डी महायज्ञका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने जनाइएको छ ।
स्मरणीय छ( छिन्नमस्ता भगवती मन्दिरको विकी पीडिया अनुसार यस मन्दिरमा प्रतिवर्ष ३० हजार भन्दा बढि बलि प्रदान हुने गरेको छ । भक्तहरुले मनोकामना पूरा भएपछि बोका, भेंडा, परेवा, हाँस र माछा आदि बलिदान गर्ने वताउँदै मन्दिरका पीठाधिस महानन्द ठाकुरले प्रत्येक दिन ५० वटाभन्दा बढी वलि प्रदान हुदै आएको जानकारी दिए । छिन्नमस्ता मन्दिर संरक्षण संवर्धन समितिका अनुसार गत वर्षको वडा दशैंमा मात्रै मन्दिरमा ५ हजार १ सय ४७ वटा पशुपंक्षिको बलि प्रदान गरिएको थियो भने समितिले यस मार्फत ३ लाख ३२ हजार ४ सय ८० रुपैयाँ आम्दानी समेत गरेको थियो ।
मन्दिरका पीठाधिस महाकान्त ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा पतञ्जली योग समितिका केन्द्रिय प्रभारी सालिग्राम सिंह, एनआरएनका संस्थापक अध्यक्ष महतो, सप्तरीका सिडिओ वलदेव गौतम लगायत सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिती थियो ।
भारतीय पत्रकारलाई प्रवेश सहज, नेपालीलाई रोक
यसैविच, योगगुरु रामदेवको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती दर्शनको कार्यक्रममा नेपाली पत्रकारलाई सुरक्षाकर्मीले रोक लगाइएका छन् । प्रहरीले नेपाली पत्रकारलाई बाहिरै रोकेर भारतीय पत्रकारलाई भने मन्दिरभित्र निर्वाध प्रवेश दिएको थियो । सप्तरीका एसपी दिवेश लोहनीले नै नेतृत्व गरेको प्रहरी टोलीले नेपाली पत्रकारलाई दुब्र्यवहार समेत गरेको पत्रकारहरुले जनाएका छन् ।