धरान /सुडानस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगको कार्यालयमा कार्यरत दुई नेपाली विद्रोही समूहको अपहरणमा परेका छन् । पश्चिम डार्फर राज्यको राजधानी जेनेइनाबाट आइतबार दुई नेपाली र एक स्थानीयलाई विद्रोही समूहले अपहरण गरेको हो । सुडान र नेपाल सरकारले अपहरणको पुष्टि गरेका छन् । ‘हतियारधारीको समूहले आइतबार तीनजना युएनएचसिआरका स्टाफ (दुईजना विदेशीसमेत) लाई अपहरण गरेका छन् आजको पत्रपत्रिकामा खबर छापिएको छ ।
प्रहरीले अपहरणकारीको खोजी जारी राखेको छ,’ पश्चिम डार्फर राज्य सरकारका प्रवक्ता अब्देल्लाह मुस्ताफाले एएफपीसँग भने । नेपाली मिसनहरू सक्रिय परराष्ट्रसचिव शंकरदास वैरागीले अपहरित नेपालीहरूको खोजीका लागि न्युयोर्क तथा जेनेभास्थित नेपाली मिसनबाट राष्ट्रसंघ मुख्यालयसँग समन्वय भइरहेको जानकारी दिए । ‘हाम्रा सम्बन्धित मिसनहरूले आफ्नातर्फबाट प्रयास जारी राखेका छन्, घटना थाहा भएलगत्तै हाम्रा मिसन सक्रिय छन्,’ परराष्ट्रसचिव वैरागीले भने, ‘हामी राष्ट्रसंघ मुख्यालयसँग प्रत्यक्ष सम्पर्कमा छौँ, खोजीकार्य जारी छ ।’ युएनको क्राइसिस म्यानेजमेन्ट टिम नेपालीहरूलाई अपहरणमुक्त गराउन सक्रिय रहेको वैरागीले बताए । हरसम्भव सबै प्रयास भएको उनको भनाइ थियो ।
मुख्य मस्जिदबाट अपहरण युएनएचसिआरका कर्मचारीलाई अपहरणकारीले जबर्जस्ती गाडीमा हालेर अज्ञात स्थलतर्फ लगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । जेनेइनाको मुख्य मस्जिदनजिकैबाट उनीहरू अपहरणमा परेको स्थानीयले जानकारी दिएका छन् । सन् २००३ देखि डार्फरमा विद्रोही समूहले हिंसात्मक संघर्ष जारी राखेको छ । नेपालीहरूसहितको अपहरण पहिलो नभएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २००३ यता डार्फर क्षेत्रमा मात्रै कम्तीमा तीन लाख मानिस मारिएका तथा २५ लाख विस्थापित भएका छन् ।