फलेवास (पर्वत)/सदरमुकाम कुश्माबजारका एक समाजसेवीले आफ्नी आमाको मृत्युपछि हुने किरियाकर्मको संस्कारमा लाग्ने खर्च कटाएर वृद्धाश्रमलाई सहयोग गरेका छन् । bridaasram जाडो बढ्दै जान थालेपछि वृद्धवृद्धाको जनजीवन झनै कष्टकर बन्दै जाने अवस्थालाई मध्यनजर गर्दै कुश्मा नगरपालिका–९ स्थित ओमशान्ति टोलमा बस्ने मैना गुरुङले आफ्नी आमाको स्मृतिमा १५ जना वृद्धवृद्धालाई न्यानो ओछ्यान सहयोग गरेकाे हो । प्रसिद्ध मोदीवेणी दिव्यधाममा रहेको वृद्धाश्रममा आश्रय लिएर बसेका वृद्धवृद्धालाई उनले न्यानो ओछ्यान सहयोग गरेका हुन् । वृद्ध अवस्थामा आफ्नी आमाले मोदीवेणीस्थित वृद्धाश्रममा बस्ने इच्छा व्यक्त गरेपनि स्वास्थ्यका कारण जान नपाएको भन्दै उनको स्मृतिमा रु ४० हजारभन्दा बढीका सिरक, डसना, सिरानी, कुसन, तन्ना जस्ता आरामदायी विस्ताराका लागि चाहिने सबै सामग्री सहयोग गरेको गुरुङले बताए । गुरुङ सामाजिक क्षेत्रमा क्रियाशील एकता युवा क्लबको उपाध्यक्षसमेत रहेका छन् । बुधबार क्लबले नै आयोजना गरेको कार्यक्रममा उनले सहयोग हस्तान्तरण गरेका थिए ।  लामो समयदेखि बिरामी आमाको मोदीवेणी जाने इच्छा पूरा नभएता पनि उनको चाहना र आत्माशान्तिको कामना गर्दै सहयोग हस्तान्तरण गरेको उनले बताए । उनकी आमाको केही दिनअघि निधन भएको थियो । उक्त कार्यक्रममा क्लबका संस्थापक सल्लाहकार एवम् शिक्षाविद् वसन्तबहादुर सिकेले जाडोमा वृद्धवृद्धाको समस्यालाई मध्यनजर गरी न्यानो ओछ्यान सहयोग गरेकामा धन्यबाद दिँदै क्लबका हरेक रचनात्मक कार्यमा संलग्न हुने बताए । त्यस्तै, मोदीवेणी दिव्यधामका अध्यक्ष गोपालदास वैरागीले वृद्धवृद्धालाई विभिन्न दाताले गरेको सहयोगले वृद्धाश्रम सञ्चालनमा टेवा पुगेको बताए । उनले वृद्धाश्रम सञ्चालनका लागि आर्थिक समस्या सिर्जना भएपनि अहिलेसम्म राज्यबाट कुनै सहयोग नपाएको गुनासो गरे । वृद्धाश्रममा कुनै समय ४० जनासम्म वृद्धावृद्धा आउने गरेको पनि उनको भनाइ छ । परिवारले उचित पालनपोषण नगर्ने र छोराबुहारी वा श्रीमान्बाट पीडित बनेका वृद्धाश्रममा आश्रय लिन आउने गरेको वैरागीले बताए । रासस