काठमाडौँ/काठमाडौँको बौद्ध फूलबारीस्थित सेतो गुम्बामा १९औँ शताब्दीका महत्वपूर्ण बौद्ध उपदेश श्रवणका लागि धर्मावलम्बीको विशेष भीड लागेको छ । बौद्ध धर्म, तथा साहित्यका महत्वपूर्ण उपदेशको वाचन भइरहेको छ । महायानी सम्प्रदायका बौद्ध धर्मावलम्बीको विशेष भीडमा विभिन्न उमेर समूहका स्वदेशी तथा विदेशी अनुयायीलाई गुम्बामा प्रवचन लिँदै अभ्यास गरेको देख्न सकिन्छ । यही मङ्सिर ८ देखि १८ गतेसम्म जारी रहने उक्त धार्मिक कार्यक्रममा धर्मगुरु छोग्लिङ रिन्पोछेले महत्वपूर्ण कृतिबाट उपदेश प्रदान गरे । महायानी सम्प्रदायका अनुयायीले यस्तो पूजामा सहभागी हुन पाउँदा ठूलो धर्मलाभ भएको विश्वास गर्छन् । तिब्बती अभ्यासका गुरु छोग्युर लिङ्पाले १९औँ शताब्दीमा विकास गरेका बौद्ध साहित्यका आधारमा विभिन्न ४० कृति छन् । यस अवधिमा तीमध्ये १३ कृतिको प्रवचन गरिनेछ । कार्यक्रममा सहभागी बौद्ध विद्वान्ले ती कृतिमा भएका विषय वस्तुले सहअस्तित्व र शान्तिपूर्ण समाज निर्माण गर्न उपयोगी हुने विश्वास व्यक्त गरे । गुरु लिङ्पाको चौथो निर्माणकाय (टुल्कु)को जन्म सन् १९५२ मा भोटमा भएको विश्वास छ । उनी विचित्र लक्षणसहित जन्मेकाे सम्बन्धित अनुयायीले विश्वास राखेका छन् । प्रत्येक वर्ष तिब्बती पात्रोको नौ महिनाको सेरोफेरोमा यस किसिमको प्रवचन हुने गर्छ । गुरुले भोटमा प्रचलित पुराना तथा नयाँ अनुवादसँग सम्बन्धित अभिषेक, आगम र निर्देशन त्यहाँ सहभागी अनुयायीलाई दिने बौद्ध विद्वान् पुण्य पराजुलीले जानकारी दिए । उनका अनुसार अन्तिम दिन स्वदेशी तथा विदेशी अनुयायीलाई दीक्षा प्रदान गरिनेछ । उक्त पूजामा अन्तिम दिन सो दीक्षा लिएपछि सम्पूर्ण प्राणीजगत्को रक्षा र मानवकल्याणका लागि क्रियाशील रहन प्रेरणा मिल्ने बताइएको छ । सोही दिन विश्वशान्तिको कामना गरी विभिन्न स्तोत्र तथा मन्त्र पनि पाठ गरिनेछ । यस्तो पूजामा सहभागी भएमा सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास छ । उक्त गुम्बाले काठमाडौँ विश्वविद्यालयसँग समन्वय गरी अन्तर्राष्ट्रिय तहको बौद्ध दर्शनका शैक्षिक कक्षा सञ्चालन गरेको छ । त्यसको अध्ययनका लागि अहिले ४५ विदेशी छन् । त्यसैगरी विभिन्न समयमा धार्मिक गतिविधि सञ्चालन गरी सामाजिक सेवाका कार्यमा समेत गुम्बा संलग्न हुँदै आएको गुम्बाका प्रतिनिधि दावा शेर्पाले बताए। उक्त गुम्बामा समयसमयमा गुरु पद्म सम्भव तथा विश्वका प्राणीजगत्का रक्षाका लागि पूजा गर्ने गरिन्छ । रासस