hatiyधरान/पैसाको लागि आफूभन्दा २६ वर्ष जेठी महिलासँग प्रेमसम्बन्ध राखी हत्या गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।विदुर नगरपालिका–११ त्रिशूली बजारकी ४५ वर्षीया प्रतिमा अमात्यको हत्या आरोपमा प्रहरीले रसुवाको ठूलोगाउ– ६ घर भई रसुवाकै सरमथली–२ बस्ने १९ वर्षीय रमेश लामालाई पक्राउ गरेको हो ।

प्रतिमाको फिकुरी–८ गोगनेको जंगलमा गत जेठ २० गते हत्या भएको थियो । काठमाडौं बस्दै आएका रमेशलाई प्रहरीले बिहीबार पक्राउ गरी नुवाकोट ल्याएको हो । प्रहरीले नै आरोपीको बयानको आधारमा घटनास्थल पत्ता लगाई शवको उत्खनन् गरेको छ । नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहोराका अनुसार मृतक प्रतिमाले घर बेचेको १० लाख रमेशले लिएको स्वीकारेका छन् । जग्गा बेचेको पैसा पनि मृतकसँग भएकाले उक्त पैसा के गरेको हो अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

‘पैसा नपाउन्जेल सँगै बसेको र पैसा फुत्काएपछि हत्याको योजना बनाएको देखिन्छ । गाउँ जाने विवाह दर्ता गर्ने र नागरिकता पनि बनाइदिने भन्दै जङ्गलमा लगेर हत्या गरेको देखिन्छ’ उनले भने ।मृतककी बहिनी चितवनको भरतपुर उपमहानगरपालिका–२ बस्दै आएकी निरा श्रेष्ठले गत जेठदेखि दिदी प्रतिमा बेपत्ता भएकाले खोजी गरिदिन भन्दै मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय नुवाकोटमा निवेदन दिएकी थिइन् ।प्रहरीले घटनास्थलमा हत्यामा प्रयोग भएको एक थान पिक, हातेआरो एक थान, मृतकले लगाएको घडी एक थान फेला पारेको छ । जङ्गलमा गाडेको अवस्थामा उत्खनन् गरेको शवको टाउको भने फेला परेको छैन ।रासस