ललितपुर/कृषि मन्त्रालय, गैरसरकारी संस्थाका प्रतिनिधि र किसान समूहले विषादीको विकल्प खोज्नुपर्नेमा जोड दिएका छन् । bisadi बाली संरक्षण निर्देशनालयले ‘विषादी प्रयोग मुक्त सप्ताह’ का अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा सरोकारवालाले विषादीको प्रयोग कम गर्नका लागि तल्लो तहसम्म जनचेतनाका कार्यक्रम गर्नुपर्नेमा जोड दिएका हुन । कृषिमन्त्री गौरीशङ्कर चौधरीले विषादी विष हो औषधि होइन भनेर जनचेतना फैलाउनुपर्नेमा जोड दिए । उत्पादन बढाउनका लागि विषादी प्रयोग हुँदै आएको छ । उनले भने, ‘उत्पादन बढाउनेसँगै अब हामीले वातावरण जोगाउने विषयमा पनि सोच्नु पर्ने आवश्यकता छ ।’ जीवनाशक विषादी ऐनको सस्यौदा अहिले मन्त्रालयमा रहेको र त्यसलाई संसद्मा लैजाने उनले प्रतिबद्धता व्यक्त गरे । मन्त्रालयका सचिव अन्नपूर्णनन्द दासले समाजका सबैलाई विषादीले पु¥याउने असरका विषयमा बुझाउनुपर्ने आैँलाए ।  उनले भने, ‘विद्यालय तहबाट नै बालबालिकालाई बुझाउन खाँचो छ ।’ बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले विषादीको सबैभन्दा बढी प्रयोग तरकारीखेतीमा भइरहेको बताए । बिहान कृषि विभाग अघिबाट सुरु भएको प्रभात फेरिमा कृषि विकास मन्त्रालय, विभागका प्रतिनिधि, नागरिक समाज, कृषक समूह, किसान, पत्रकारलगायतको उपस्थिति थियो । आजबाट सुरु भएको विषादी प्रयोग मुक्त सप्ताह २५ गते मनाइन्छ । रासस