Hatkadi-Pakrauधरान /  जन्मको आधारमा नागरिकता लिएका भारतीय नागरिक सहिद अनवर अन्सारीलाई कारबाही गर्ने निकायहरु नै मौन देखिएका छन् । २०६३ सालको नागरिकता टोलीमा नेपाली नागरिकता लिएका साहिद अनवर नेपालमै जन्मिएको प्रमाण पेश गर्नमा उनका ठूलाबा यार मोहम्मदले भूमिका खेलेका थिए । धरान –३ का मोहम्मदले भतिज साहिदलाई नागरिकता दिलाउनको लागि सिफारिस गर्ने मध्येका एक हुन् । उनी नेपालमै जन्मिएको भनी सिफारिस गर्नेमा धरान–३ कै रामराज श्रेष्ठ र उमेश साह पनि छन् । तत्कालीन समयमा उनीहरुको सिफारिसको आधारमा टोलीले नागरिकता दिएको देखिन्छ । तर, ब्लाष्टसँग भएको प्रयाप्त प्रमाणमा भने उनी नेपालमा नभई भारतमा जन्मिएको र त्यहीको नागरिकता लिइसकेको देखिन्छ । त्यो कुरा स्वयम् साहिदले स्वीकारिसकेका छन् । कुनै पनि देशको नागरिकता लिइसके पछि अर्को देशको नागरिकता लिनै नपाउने कानुनी प्रावधान छ । तर, झुटा कागजात पेश गरेर नेपालमै जन्मिएको बनाएर उनले नागरिकता लिएका थिए । जसका लागि हालसम्म सम्बन्धित निकायहरुले चासो देखाएका छैनन् । उनको यहाँको नागरिकतामा जन्म मिति २०३९ साल ४ महिना ६ गते उल्लेख गरेका छन् । अचम्म त के भने भारतमा पारिवारिक संख्या प्रमाणित कागजातमा उनको उमेर सन् २००६ मा २१ वर्ष पुगेको भनी उल्लेख गरिएको छ । त्यो आधारमा उनी सन् १९८५ मा जन्मिएको प्रमाणित हुन्छ । ‘भारतको नागरिकता भएको हकमा नेपालको नागरिकता लिनै पाउँदैनथ्यो ।’ इलाका प्रशासन कार्यालय धरानका प्रमुख सीताराम कार्कीले भने, ‘उताको नागरिकता छ भने यहाँको नागरिकता त्याग्नुपर्छ ।’ यस्तो जटिल मुद्दाको हकमा भारतीय नागरिकता भएको प्रमाणित भएमा गृह मन्त्रालयले यो मुद्दालाई हेर्ने प्रमुख कार्कीले बताए । ‘दुई देशको नागरिकता हुनेबित्तिकै कठिन हुन्छ ।’ कार्कीले थपे, ‘अनुसन्धान गर्दा यताको फर्जी हो कि उताको फर्जी हो त्यो खुल्छ ।’ २०६३ साल फागुन ८ गते नागरिकता टोलीले दिएको ढड्डा अनुसार उनको नागरिकता नम्बर ४१० हो । यस विषयमा हाल प्रहरीले निवेदन उपर छानविनको लागि सरकारी वकिलसँगको परामर्शमार्फत अघि बढ्ने बताउँदै आइरहेको छ । नागरिकताको विषयमा जिल्ला प्रशासन कार्यालयलाई हेर्ने अधिकार भए पनि उक्त अधिकारलाई उल्लघङ्न गर्ने गरी प्रहरीले काम अघि बढाइरहेको छ । ‘सरकारी वकिलसँग परामर्श गर्ने काम भइरहेको छ । वकिलबाट जे आउँछ त्यही अनुसार गर्छौ ।’ इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले भने । प्रावधानमा निवेदन आएलगत्तै जिल्ला प्रशासनमा पठाएर जिल्ला प्रशासनले अनुसन्धान गरेर निर्देशन दिने अधिकार हुन्छ । तर, प्रहरीको ढिलासुस्तीका कारण आरोपित अनुसन्धानको दायरा भन्दा बाहिर रहेको छ । भारतीय नागरिकले नेपाली नागरिकता लिएको तथ्य प्रमाणित भएमा नेपालको प्रचलित कानुन अनुसार कारबाही गर्ने सुनसरी जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले बताएका छन् । ‘भारतीय नागरिकले नेपाली नागरिकता लिएको तथ्य प्रमाणित भएमा कारबाही गर्छौ ।’ उनले फोनसम्पर्कमा भने, ‘प्रशासनले मुखले भनेको आधार भन्दा पनि प्रमाणको आधारमा अनुसन्धान गर्दा ठहर भयो भने नागरिकता पनि खोसिन्छ । र, प्रचलित नेपालको कानुन अनुसार कानुनी कारबाही पनि हुन्छ ।’ उनले विदेशीले ढाटेर, छलेर नागरिकता लिनु कानुनतः अपराध हुने बताए ।