शनिश्चरे, मोरङ / राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका पूर्वकेन्द्रीय उपाध्यक्ष आनन्द आचार्यले भ्रष्टाचारयुक्त मानसिकता भएका राजनीतिक नेतृत्व तहलाई जनताले अस्वीकार नगरेसम्म मानव अधिकार उल्लङ्घन भइरहने बताएका छन् । ६८ औँ मानवअधिकार दिवस तथा भ्रष्टाचारविरुद्धको दिवसको अवसरमा प्रतिष्ठानको झापा शाखाले दमकमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले भने, ‘मान्छेका आम अधिकारका विषयमा बेइमानी गरिरहने नेतृत्वलाई जिताइरहने जनतासमेत बेइमान हुन् । मानवअधिकार उल्लङ्घनका लागि जनतासमेत दोषी छन् ।’ कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पूर्वाञ्चल निर्देशक झङ्कर रावलले पनि सरकारले आपूmलाई सधैँ शक्तिकेन्द्रका रुपमा स्थापित गराइरहने प्रवृत्ति नै मानवअधिकार उल्लङ्घनको पक्ष रहेको चर्चा गरेका छन् । मानवअधिकारका आधारभूत विषयमा प्रशिक्षण प्रदान गर्दै अरुको मानवअधिकार उल्लङ्घन नगर्न सबै सचेत बन्न उनले अनुरोध गरे । महिला हिंसाको १६ दिने अभियानसमेत सञ्चालन भइरहेको सन्दर्भमा महिला अधिकारका पक्षमा समेत सजग रहन अनुरोध गर्दै प्रतिष्ठानका झापा अध्यक्ष डाक्टर नवीन चापागाईंले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरे ।