धरान/स्थानीय विकास मन्त्रालयले सदरमुकाममा बसिरहेका गाविस सचिवहरुलाई तत्काल आफ्नो कार्यक्षेत्र जानको लागि निर्देशन जारी गरेको छ ।

गाविस सचिवहरु गाविसमा बसिदिँदा सेवाग्राहीहरु गाविसमा गएर काम गराउनु पर्ने बाध्यताबाट गुज्रिएका छन् । जसका कारण सरकारले तत्कालै गाविस कार्यालयमा जानको लागि निर्देशन दिएको हो । जसका लागि जिल्ला विकास समितिलाई तोकिएको गाविसहरुमा गाविस सचिवहरुलाई पठाउनको लागि उर्दी गरेको छ ।
मन्त्रालयले गत आर्थिक वर्ष अनुगमन गर्दा पनि गाविस सचिवहरु सदरमुकाममा बसेर काम गरेको पाइएको थियो । यस्ता कमजोरी नगर्न मन्त्रालयले तत्काल सचेत समेत गराएको थियो ।
यसैगरी मन्त्रालयले गुनासो व्यवस्थापनका लागि सुशासन इकाई गठन गरी त्यसलाई क्रियाशील बनाउन पनि हरेक जिल्ला विकास समितिका कार्यालयहरुलाई निर्देशन दिएको छ ।
यसैगरी मन्त्रालयले हरेक आयोजनाको जाँचपास गर्नुअघि सार्वजनिक परीक्षण गर्न समेत निर्देशन दिएको छ । यसअघि भएको अनुगमनमा सबै आयोजनाको सार्वजनिक परीक्षण गरेको नभेटिएको र त्यसको कार्यान्वयनमा गम्भिरता नदेखाइएको पनि भेटिएको थियो ।
त्यही अनुगमनका आधारमा आयोजनाहरुको जाँचपास अघि अनिवार्य रुपमा सार्वजनिक परीक्षण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।